स्याङ्जामा ९ गते विश्व सम्मेलन

स्याङ्जा ।
स्याङ्जा सदरमुकाम पुतलीबजारमा मंसिर ९ गते शनिवार विश्व सम्मेलन हुने भएको छ । स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिको पाचौ विश्व सम्मेलन तथा आठौं अधिवेशन जिल्ला सदरमुकाम पुतलीबजारमा हुने भएको हो । जिल्ला समन्वय समितिमा विश्व सम्मेलन र अधिवेशन गर्नेगरी तयारी भैरहेको समितिले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । पत्रकार सम्मेलनमा स्याङ्जा सहयोग समाजका अध्यक्ष टुकराज अर्यालले अधिवेशनको उदघाटन कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले गर्नेगरी तयारी गरिएको जानकारी दिए । उक्त सम्मेलनमा ४३ देशका प्रतिनिधि र पर्यवेक्षकगरी ३ सय ४२ जना सहभागी हुने समाजका अध्यक्ष अर्यालले पत्रकार सम्मेलनमा बताए ।

स्थापनापछि जिल्लामा ८ करोड मूल्य बराबरको बिभिन्न सामाजिक सेवामा खर्चिएको जानकारी दिदै अध्यक्ष अर्यालले समाजले झण्डै १ करोडको अक्षय कोष स्थापना गरेको बताए । बैदेशिक रोजगारमा गएका स्याङ्जावासीहरु विभिन्न समस्यामा परेका बेला सहयोग गर्दै आएको बताउदै अध्यक्ष अर्यालले समग्र स्याङ्जाको विकासका लागि यो समाज गठन गरिएको बताए ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले विश्वका बिभिन्न देशमा रहेर आफना जन्मभूभिप्रति समाजले पु¥याउदै आएको सहयोग प्रशंसा गर्दै आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गरे । स्याङ्जाको विकासका लागि विभिन्न आधारहरु रहदारहदै पनि सोचेजस्तो विकास हुन नसकेको बताउदै महासंघका अध्यक्ष सिग्देलले जिल्लाको विकासका लागि सबै एकजुट हुन अनुरोध गरे । कार्यक्रममा निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, कोषाध्यक्ष रमेश गोदार, प्रेस सेन्टरका गण्डकी प्रदेशका अध्यक्ष अर्जुन काफ्ले, प्रेस यूनियनका पूर्व अध्यक्ष प्रदीप कोइराला लगायतले सुझाव एवं जिज्ञासा राखेका थिए ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक खेम काफले, सदस्य एकेन्द्र थापाले निर्वाचन सम्बन्धी जानकारी गराएका थिए । निर्वाचन प्रक्रियामा अनलाईन मार्फत पनि उम्मेदवारी दर्ता गर्न पाउने गरी व्यवस्था मिलाएको समितिले जनाएको छ । स्याङ्जा सहयोग समाजका अध्यक्ष टुकराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव मुक्ति सुवेदीले संचालन गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व सहित ३१ सदस्यीय कार्यसमिति चयन गर्दे सम्पन्न गर्ने जनाईएको छ । यो सम्मेलन सम्पन्न गर्न ४ लाख रकम खर्च हुने बताइएको छ ।

प्रतिक्रिया