राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदैं

वालिङ ।
स्याङ्जाको भीरकोट र वालिङ नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । भीरकोट नगरपालिकाले हरेक बर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दै आएको छ भने वालिङ नगरपालिकाको स्थापनाकालदेखि हालसम्म हुन नसकेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बल्ल हुने भएको नगरपालिकाले जनाएको छ । भीरकोटले मङ्सिर १६ गतेबाट र वालिङले पुस ४ गतेबाट प्रतियोगिताको आयोजना गर्ने भएका छन् ।
दुवै नगरपालिकाको नगर शिक्षा समितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । १६ गतेबाट सुरु हुन गैरहेको भीरकोटको प्रतियोगितामा ५ संस्थागत र १२ सामुदायिक गरि १७ विद्यालय सहभागी हुने शिक्षा शाखा प्रमुख विष्णु कोइरालाले जानाकारी दिए । प्रतियोगितामा नगरभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरुका १८ वर्ष उमेरका विद्यार्थीहरुले भाग लिन पाउनेछन् ।
विद्यालय तहका विद्यार्थीहरुमा खेलकुदको अभिरुची वृद्धि गर्दै खेलका माध्यमबाट भातृत्वको विकास गर्ने उद्धेश्यका साथ प्रतियोगितको आयोजना हुने भएको नगरपालिकाले जनाएका छन् । प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, फुटबल, मार्सल आर्ट र कबड्डी लगायतका खेलहरु समावेश गरिने भएको छ । मङिसर १६ गतेबाट हुने भीरकोटको प्रतियोगिता सिसौघारी खेलमैदानमा र पुस ४ गतेबाट सुरु हुने वालिङको प्रतियोगिता वालिङ १० मा रहेको औद्योगिक ग्राममा सञ्चालन हुने भएको छ ।
पालिकाको खेलकुद निर्देशक समितिको बैठकले खेलकुद प्रतियोगितालाई व्यवस्थापन गर्न विधागत तर्फ जिम्मेवारी तोकेको छ । भीरकोटले नगरप्रवक्ता दिपेन्द्र केसीको संयोजकत्वमा खेलकुद संचालन उपसमिति गठन गरि विभिन्न विधामा जिम्मेवारी तोकेको छ । त्यसैगरि वालिङले भलिबलतर्फ चित्रजंग गुरुङ, मार्शल आर्टतर्फ मनोज बुढाथोकी, एथ्लेटिक्सतर्फ दिपेन्द्र खाँण, कबड्डीतर्फ चतुर्भुज गैह«े र फुटबलतर्फ लाल बहादुर ज्वारचनलाई जिम्मेवारी तोकेको छ ।
यसै हप्ता खेल संचालन गर्न गैरहेको भीरकोटले सम्पूर्ण विद्यालयहरुलाई आवश्यक पूर्वतयारीका लागि अनुरोध गरेको छ । भीरकोटले मार्सल आर्ट र फुटबल खेल प्रतियोगितामा समावेश नगरिएको जनाएको छ भने वालिङले सबै खेल संचालन हुने बताएको छ । मङिसर १६ देखि ४ दिनसम्म संचालन हुने भीरकोटको प्रतियोगितामा भलिबल, कबड्डी, ऐथ्लेटिक्स ट्रयाक तर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर दौड, रिले दौड तथा फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिन थ्रो र सटपुट छात्र र छात्रा बिच कडा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया