गल्याङ् नगरकी छोरीलाई ५ हजार

टिकाराम अधिकारी,
गल्याङ ।
स्याङ्जाको गल्याङ नगरपालिकाले नगरकी छोरी कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले महिला शसक्तिकरणका लागि छुट्याइएको बजेटबाट नगरकी छोरी कार्यक्रम सुरु गरेको हो । समाजमा अझै पनि लिङ्गका आधारमा ग्रामिण क्षेत्रहरुमा बिभेद रहेको अबस्थामा यस्तो कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको साउन यता जन्मिएका छोरीहरुका लागि नगरपालिकाले रु.पाँच हजार सहित खाता खोलिदिन सुरु गरेको गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले बताए । यस कार्यक्रमबाट व्यवहारिक रुपमा नै महिला पुरुषको विभेदको अन्त्य गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । नगरपालिकाले खाता खोलेर छोरीका नाममा राखिदिएको पाँच हजार रुपैंया छोरी १८ वर्षकी भएपछि मात्रै झिक्न मिल्ने व्यवस्था गरिएको छ ।

गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाको उपस्थितिमा वडा नम्बर तीनमा मिना दर्जीकी आठ दिनकी छोरीको नाममा गरिमा विकास बैंकमा खाता खोलेर कार्यक्रमको उद्घाटन गरिएको छ । सो अवसरमा नगरपालिका उपप्रमुख हेमा न्यौपानेले छोरी जन्माउनेहरुको प्रोत्साहनका लागि कार्यक्रम ल्याइएको जानकारी दिइन् । संविधानले महिला अधिकारका लागि सुनिश्चित गरेपनि व्यवहारिक रुपमा छोरीलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याउन यो कार्यक्रम अगाडी सारिएको उपप्रमुख न्यौपानेको छ । उपप्रमुख न्यौपानेले महिलाहरुका लागि नगरपालिकाले धेरै कार्यक्रमहरु ल्याइरहेको बताउदै गर्भावस्थामा अण्डा वितरण, सुत्केरी भेटघाट सहित कार्यक्रम ल्याइएको बताइन् ।

यो भन्दा अगाडि नै गर्भवतीलाई निःशुल्क अण्डा वितरण तथा सुत्केरी आमाहरुका लागि पोशिलो झोला वितरण गरिएको उपप्रमुख न्यौपानेले बताइन् । सो अवसरमा गल्याङ नगरपालिका स्वास्थ्य शाखाकी पब्लिक नर्सीङकी विसर्जना थापा र सविता खरालले बच्चा र आमाको स्वास्थ्य परिक्षण गरेका थिए । दर्जीकी छोरीको न्वारन भैसकेपछि नाम सहितका कागजी प्रक्रिया गरी खाता सञ्चालन हुने गरिमा बैंककी कर्मचारी कोपिला भट्टराईले जानकारी दिइन् । केही दिन अघि बसेको कार्यापालिका बैठकले महिला शसक्तिकरणको कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा जन्मेका छोरीहरुका लागि बैंक खाता खोलेर पाँच हजार रुपैयाँ दिने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया