उत्साह बिनाको महोत्सव— ओरालो अर्थतन्त्रका बिच महोत्सवको लहर
श्रीकृष्ण सिग्देल,
वालिङ ।
मुलुकमा अर्थतन्त्र चलायमान नहुँदा धेरै व्यावसायीहरु पलायन हुने अवस्था बढ्दो छ । कोभिड १९ पछि देखिएको आर्थिकमन्दी अहिले सबैक्षेत्रमा परेको छ । यसको सबैभन्दा बढी मारमा उद्योगी व्यवसायी परेका छन् । आर्थिकमन्दीका बिच देशका विभिन्न ठाउँमा मेला महोत्सवको लहर चलेको छ । आर्थिक चलायमान बनाउन मेला महोत्सव गरिएको दावी आयोजकहरुले गर्दै आएका छन् । तर जुनसुकै मेला महोत्सवहरुमा स्थानीय उत्पादनको खासै बजार भएको देखिदैन ।
स्याङ्जामा पनि एक महिनाको अन्तरालमा दुईओटा महोत्सव हुँदैछन् । चेम्बर अफ कमर्श पुतलीबजार स्याङ्जाले पौषमा र वालिङ उद्योग वाणिज्य संघले माघमा महोत्सव गर्नेगरी तयारी थालेका छन् । दुईवटै महोत्सवको आयोजनाप्रति उद्योगी व्यवसायीको मिश्रित प्रतिक्रियाहरु आएका छन् । आर्थिकमन्दीमा मेला महोत्सव आयोजना गरेर झनै जिल्लाबाट पैसा बाहिर पठाउन सघाउ पुग्ने आरोप चेम्बर र उद्योग वाणिज्य संघलाई लागेको छ । तर दुवै समितिका आयोजकहरु गम्भिर भएको देखिएको छैन ।
जिल्लाकै मुख्य व्यपारीक केन्द्र रहेको वालिङले माघ १८ गतेदेखी २८ गतेसम्म आठौ वालिङ महोत्सव गर्ने तयारीमा जुटेको छ । सार्वजनिकरुपले घोषणा नगरेपनि वालिङ उद्योग वाणिज्य संघले आठौ महोत्सवको तयारीका लागि छलफल, राय सुझावलाई तिब्र पारेको छ । सातौ महोत्सव सम्म आइपुग्दा सफल भएको दावी गर्दै आएको संघले आठौं महोत्सवले पनि सफलता पाउनेमा विश्वस्थ रहेको देखिन्छ । सातौ महोत्सवसम्म आफै आयोजक बनेको संघले आठौं महोत्सव भने ठेक्कामा दिने आन्तरिक तयारीमा रहेको बुझिएको छ । यो प्रकृयाले संघलाई मात्र फाइदा हुने व्यावसायीलाई खासै फाइदा नहुने स्थानीयको आरोप छ ।
तर महोत्सव संघले नै गर्नेगरी अगाडी बढेको आयोजकको दावी छ । विगतका महोत्सवमा फाइदा देखाएपनि संस्थामा भन्दा आयोजक नै मोटाउने बिषयले गर्दा वालिङ महोत्सवको प्रतिष्ठा घट्दै जान थालेको छ । यस बिषयमा वालिङ उद्योग वाणिज्य संघ अत्यन्तै जिम्मेवार र विश्वास दिलाउने गरी अगाडी बढेको संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउछन् । विगतका महोत्सवहरु मध्ये सबैभन्दा बढी प्रश्न सातौ महोत्सवमा उठेको सत्य हो अध्यक्ष श्रेष्ठले भने,‘आठौं महोत्सवलाई पारदर्शि र खर्चमा व्यापक कटौती गर्ने प्रयत्नमा छौं ।’ हामीमाथी उद्योगी व्यवसायी र नगरवासीले प्रश्न उठाउने गरी यो महोत्सवमा काम गर्ने छैनौं उनले भने । खर्चलाई शुन्यमा झार्ने र आर्थिक पारदर्शि बनाउने अभियानमा अहिलेको टिम लागेको श्रेष्ठले दावी गरे । प्रश्न आउनेगरी काम भयो भने अहिलेको कार्यसमितिले राजीनामा दिन समेत तयार हुने उनले बताए ।
अध्यक्ष श्रेष्ठले जति विश्वास दिलाएपनि यहाँका उद्योगी व्यवसायी भने विश्वस्थ बन्न सकेका छैनन् । वालिङ महोत्सवले अहिलेसम्म यहाँका व्यपारीको मुहार नफेरीएको र आयोजक मात्रै मोजमस्तीमा रमाउने अनि कमाउने धन्दामा लागेको आरोप उनीहरुको छ । पब्लिक आवाज पत्रिकाले सामाजिक संजाल मार्फत आर्थिक मन्दीका बेला वालिङ महोत्सवलाई कसरी हेर्नुभएको छ भनेर सोधिएको प्रश्नमा अधिकांशले महोत्सवको उदेश्य र समयानुकुल नभएको मिश्रित टिप्पणी गरेका छन् ।
महोत्सव उपलब्धि बिनाको झण्झट भएको भन्दै सामाजिक संजालमा कमल अर्यालले प्रतिक्रिया दिएका छन् । त्यस्तै स्थानीय डार्विन गिरीले बेमौसमी बाजा भन्दै महोत्सवका बिषयमा आलोचना गरेका छन् । अर्का व्यवसायी शालिकग्राम भट्टराईले गैह्र जिम्मेवार र अदुरदर्शि निर्णय भन्दै टिप्पणी गरेका छन् । यी प्रतिनिधी पात्र मात्रै हुन् । वालिङका अधिकांश व्यपारीहरु वालिङ महोत्सवप्रति सन्तुष्ट देखिएका छैनन् । यस्तो अवस्थामा किन महोत्सव आयोजना गर्नुभयो भनेर संघका अध्यक्ष श्रेष्ठलाई सोध्दा यो महोत्सव वालिङ्को पहिचान भएको बताए । देशका विभिन्न भागमा महोत्सव चलिरहेकै छन् उनले भने,‘समस्या देशभरी नै छ, समस्या समाधान गर्दै हाम्रो पहिचान जोगाउने उदेश्य हो ।’ विगतको भन्दा पृथक खालको महोत्सव हुने हुँदा सबै व्यवसायीहरुले साथ दिन आग्रह गर्छु उनले भने । वालिङमा रहेका सबै बस्तुगत व्यवसायका अध्यक्षहरुकै सल्लाह र सुझावमा महोत्सव गर्ने तयारीमा लागेको उनको भनाई छ ।
वालिङ उद्योग वाणिज्य संघले २०६३ सालदेखी महोत्सव शुरु गरेको हो । हरेक दुई—दुई बर्षमा आयोजना हुदै आएको महोत्सव २०७५ सालदेखी बन्द छ । कोभिड १९ पछि संघले महोत्सव आयोजना गर्न सकेको थिएन । अहिले सम्म वालिङ उद्योग वाणिज्य संघले सातओटा महोत्सवबाट १ करोड ३३ लाख ५९ हजार ४ सय ६७ रुपैया आम्दानी गरेको देखाएको छ । तर अहिले सम्म संघले झण्डै ३० लाख रुपैया तिर्न बाँकी रहेको रकम देखाएको छ । आम्दानी र खर्च हेर्दा महोत्सवले संघलाई फाइदा भएपनि संघमा रकम नहुँनु अरु नै धनी बनेको शंका उत्पन्न भएको छ ।
संघ दुब्लाउनु र आयोजक मोटाउने प्रवृत्तिले वालिङका व्यवसायीहरु महोत्सवप्रति असन्तुष्ट देखिएका छन् । आर्थिक पारदर्शिता र आयोजकमा अनुशासन नहुँदा वालिङको महोत्वको महत्व घट्दै जान थालेको छ । यसमा राजनीतिक दलहरु पनि खासै सन्तुष्ट देखिएका छैनन् । यसलाई जोगाइ राख्न र यहाँका व्यवसायीलाई विश्वास दिलाउन अहिलेको संघको कार्यसमिति निकै अनुशासित हुनुपर्ने देखिन्छ ।
प्रतिक्रिया