सहकारीमा समस्या— संचालकहरुको लापरवाही र स्थानीय सरकारको मौनता
श्रीकृष्ण सिग्देल,
स्याङ्जा ।
सहकारी संस्थाहरु मार्फत गरिबी निवारण गर्न सकिन्छ भन्ने अवधारणा अनुरुप नेपालमा झण्डै ३ दशक अगाडीदेखी सहकारीहरु संचालनमा छन् । छरिएर रहेको पुँजीलाई एकिकृत गरी उत्पादनमुलक काममा लगाई प्रत्येक नागरिकलाई आत्मनिर्भर बनाउने अभियानमा सहकारीले सघाउ पु¥याउनेछ भन्ने अवधारणा अनुरुप नेपालमा सहकारी संचालनमा आएका हुन् । तर पछिल्लो समय सहकारीहरु समस्यामा पर्दै जान थालेका छन् । जसले गर्दा वित्तिय क्षेत्रमा ठुलो असर परेको देखिन्छ । अधिकांश सहकारीहरु उत्पादनमुलक काममा लाग्नुको सट्टा बचत कारोबारमा मात्र सिमित छन् ।
यसैक्रममा स्याङ्जामा पनि विभिन्न बस्तुगतका नाममा सहकारीहरु संचालनमा आउन थाले । सहकारीहरुले जुन मापदण्ड अनुरुप काम गर्नु पर्ने हो त्यो तर्फ नलाग्दा स्याङ्जामा सहकारीहरुमा समस्या आउन थालेको देखिएको छ । जिल्लाभर विभिन्न बस्तुगत सहकारी दर्ताको श्रेस्ता हेर्ने हो भने झण्डै—झण्डै ५ सयको हाराहारीमा रहेका छन् । दर्ता भएका सहकारीहरु मध्ये सबैभन्दा बढी कृषि सहकारीहरु नै रहेका छन् । तर बस्तुगतरुपमा दर्ता भएका सहकारीहरु मध्ये सबैभन्दा बढी बचत तथा ऋण र बहुउद्देश्यीय सहकारीहरु आर्थिकरुपले अप्ठ्यारोमा पर्न थालेका छन् । धेरैजसो बचत सहकारीको ऋण लगानी सुरक्षित छैन् ।
११ पालिका मध्ये सबैभन्दा धेरै सहकारीहरु वालिङ, गल्याङ र पुतलीबजारमा दर्ता भएको देखिन्छ । मुलुक संघियतामा गएपछि स्थानीयतहमा सहकारी दर्ता गर्ने अधिकार रहेपछि पछिल्लो समय सहकारीको संख्या हवात्तै बढेको छ । दर्ता गर्न सहज मान्ने स्थानीयतह यसको व्यवस्थापन र अनुगमनमा भने फितलो रहेको पालिकाहरुका कार्ययोजनाले देखाएको छ । सहकारीलाई नियमन गर्ने र दर्ता गर्ने अधिकार पाएको प्रदेश र स्थानीयतह मौन रहदा सहकारीहरु बिग्रनेक्रम बढ्दो देखिएको सहकारी विज्ञहरु बताउछन् । कोभिड १९ पछि नेपालमा देखिएको आर्थिकमन्दीले सहकारी सँगै वित्तिय कारोवार गर्ने बैंकहरुमा समेत असर परेको छ । बैंक भन्दा पनि दैनिक बचत गरेर स—सानो पुँजीलाई एकिकृत गरेर लगानी गर्दै आएका सहकारीहरु अझ बढी चपेटामा पर्न थालेका छन् । यसले गर्दा आफ्नो बचत रकम सुरक्षित नहुने हो कि भन्ने चिन्ता बचतकर्तालाई छ ।
सरकारी अनुदान ल्याउन प्रयोग गरिएका कृषि सहकारी र संचालक समिति बनेर रकम अपचलन गर्न पाईने बचत तथा ऋण सहकारीहरुका कारण वित्तिय अराजकता बढ्न थालेको सहकारी बिज्ञहरुको आरोप छ । जिल्लाका ११ ओटै स्थानीयतहका सहकारी शाखाहरुमा लिएको रिर्पोटमा सबैभन्दा खराब सहकारीको अवस्था वालिङमा देखिएको छ । गाउँपालिकामा झोलामा संचालन गर्ने र नगरपालिकामा संचालक समितिकै लापरवाहीले सहकारीहरु थप समस्यामा परेको तथ्याङ्क ति शाखाहरुले दिएका छन् । सहकारीहरुलाई मजबुद र पारदर्शी बनाउन स्थानीयतहले खेल्नुपर्ने भुमिकामा समेत खासै चासो नदिएको पालिका शाखाहरुको भनाई रहेको छ । स्थानीयतहमा सहकारी अनुगमनको पाटो फितलो देखिएको छ ।
पालिकामा दर्ताभई संचालनमा रहेका सहकारीहरुले बार्षिक रुपमा बुझाउनुपर्ने प्रतिवेदन समेत बुझाउन नसकेको बताइएको छ । सहकारी ऐन अनुसार लगातार दुईबर्षमा बार्षिक प्रतिवेदन बुझाउन नसक्ने सहकारीहरुलाई खारेजी गर्ने प्रावधान छ । तर त्यो प्रावधानमा समेत स्थानीयतहरु नलागेको देखिएको छ । जसले गर्दा पालिकाहरु सहकारीप्रति कति जिम्मेवार रहेछन् भन्ने प्रष्ट देखिएको छ । प्रतिवेदन बुझाउन सहकारीहरुलाई पत्राचार गरेको पालिकाहरुले जनाएपनि राजनीतिक आवरणमा जोडिएका व्यक्तिहरु संचालक र जनप्रतिनिधि हुँदा सहकारीहरुलाई नियमन गर्न कठिनाई हुने गरेको कालीगण्डकी गाउँपालिकाका सुचना अधिकारी हिरामणी पाण्डेले बताए । राजनीतिकदलको पहुँचका आधारमा पालिकाले नियमनमा समस्या भएकाले पनि सहकारीहरुमा समस्या हुनेगरेको उनले बताए ।
जिल्लाका ११ पालिकामध्ये सहकारी समस्या वालिङमा बढ्दो छ । सबैभन्दा बढी सहकारी दर्ता भएको वालिङमा हालसम्म १ सय १२ सहकारी छन् । ति मध्ये बचत तथा ऋण सहकारी संस्था २५ वटा रहेको तथ्याङ्क नगरको सहकारी शाखामा रहेको छ । गएको आर्थिक बर्षमा झण्डै ५२ सहकारीले बार्षिक प्रतिवेदन समेत नबुझाएको शाखाले जनाएको छ । वालिङका केही सहकारीले दैनिक बचत गरेका सेवाग्राहीको रकम फिर्ता गर्न नसकेर चरम संकटमा परेका खबरहरु आइरहेका छन् । तर शाखाका प्रमुख भुवानी तिवारीका अनुसार वालिङमा केही सहकारी समस्यामा छन् भन्ने सुनिएपनि अहिले सम्म कुनै सेवाग्राहीको गुनासो भने नआएको जानकारी दिए ।
वालिङमा रहेको मेलमिलाप बहुदेश्यीय सहकारी झण्डै ५ महिनादेखी बन्द छ । अहिलेसम्म उक्त सहकारीले लगानी गरेको रकम उठाउन पनि सकेको छैन भने दैनिक बचतकर्ताको रकम पनि फिर्ता दिन सकेको छैन । त्यस्तै गतिशिल महिला बहुद्देश्यीय सहकारी र नमस्ते सहकारीले पनि उस्तै पिडा भोगिरहेका छन् । गतिशिल र नमस्ते सहकारीका कार्यालय खुला रहेपनि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको बताइएको छ । सहकारीले बचत फिर्ता नदिएको गुनासो बचतकर्ताको रहेपनि उनीहरुले अहिले सम्म कुनै निकायमा उजुरी भने दिएका छैनन् । अर्को हरित ज्योति गौरव कृषि सहकारीले पनि बचत गरेको रकम फिर्ता गर्न नसकेको गुनासो आएको छ । उक्त सहकारीले राष्ट्रिय सहकारी बैंकबाट लिएको कर्जा तिर्न नसकेर धितो लिलाम सम्वन्धी सार्वजनिक सूचना समेत जारी गरिसकेको छ ।
वालिङमा केही सहकारीमा देखिएको समस्याका बारेमा वालिङ नगरपालिका समेत मौन रहेको छ । जनप्रतिनिधिहरु नै सहकारीमा संचालक रहेकाले पनि यस्ता समस्यामा चासो नदिएको बताइएको छ । वालिङ नगरपालिकाका प्रवक्ता एंव वडा नं. १ अध्यक्ष पदमराज गुरुङ्ले औपचारीक रुपले सहकारी पिडितहरुको गुनासो नआएको बताएका छन् । सहकारीहरुको बिषय गम्भिर बनेको थाहा पाएको छु उनले भने,‘तर गुनासो नआएकाले कार्यपालिकाको बैठकमा अहिलेसम्म कुनै छलफल भएको छैन ।’ केही सहकारीको बिषयमा अनौपचारीक गुनासो आएको छ, अव औपचारीक गुनासो आयो भने ध्यानाकर्षण हुने छ उनले भने ।
अब छिट्टै अनुभवी र सहकारी विज्ञहरुसगँको छलफल गराउने गरी अगाडी बढ्ने उनले बताए । अहिलेसम्म गुनासो नआएकाले नगरपालिकाले चासो राखेन भन्ने थियो होला उनले भने, ‘अब सामुहिक छलफल र समाधान प्रक्रिया तर्फ लाग्नेछौं ।’ सहकारीबाट सेवाग्राही नै चपेटामा परेको बिषयले अब गति लिने छ उनले विश्वास दिलाए । सहकारीले बचत फिर्ता नगरेपछि जिल्ला प्रशासनमा पनि उजुरी नपरेको बताइएको छ । यस बिषयमा सुस्म अध्ययन हुने स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए ।
प्रतिक्रिया