बोलीले होइन कामबाट नतिजा खोजौं—मन्त्री गुरुङ

कला राना,
चापाकोट ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिकाले मोहमीस्थित साँखर स्वास्थ्य चौकीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री गुरुङ्ले बोलीबाट नभई नागरिकलाई कामबाट नतिजा दिनुपर्ने बताएका हुन् । नेतृत्वको परीक्षण कामको मूल्याङ्कनबाट गर्ने भएकाले परिणाम आउने गरी काममा ध्यान दिनु जरुरी रहेको उनले बताए ।

शिविरको उदघाटन सत्रमा छोटो सम्बोधन गरेका मन्त्री गुरुङले स्थानीय सरकारका रुपमा चापाकोट नगरपालिकाले गाउँ–गाउँका नागरिकलाई लक्षित गरी वडा–वडामा विशेषज्ञसहितको स्वास्थ्य सेवाको पहुँच प¥याएर नागरिकको स्वास्थ्यप्रति सचेत रहेको जिकिर गरे । स्याङ्जाको चापाकोट नगरपालिकाले प्रत्येक वडामा पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको छ । गतबर्ष प्रत्येक वडामा शिविर संचालन गरेर नागरिकको स्वास्थ्य परिक्षण गरेको नगरपालिकाले यो बर्ष पनि निरन्तरता दिदै शिविर संचालन गरेको हो ।

नगरवासीलाई आफ्नै ठाउँमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पु¥याउने मुख्य उद्देश्यसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको नगरप्रमुख देवबहादुर खाँणले बताए । वडा नं ६ को साँखर स्वास्थ्य चौकीबाट सुरु भएको स्वास्थ्य शिविर पुस २७ गते वडा नं ९ को चापाकोट अस्पतालमा आएर सकिने छ । वडामा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य सेवा केन्द्रबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले सेवा दिने नगरपालिकाले जनाएको छ ।

शिविरमा विशेषगरी निःशुल्क स्वास्थ्य जाँच, भिडियो एक्सरे, इसिजी, परिवार नियोजन, आँखा परीक्षण, दन्त परीक्षण, प्रयोगशाला र पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया