चापाकोटमा अभिभावकको स्वास्थ्य बीमा निःशुल्क
चापाकोट ।
चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो कार्यक्रमलाई अगाडी ल्याइएको चापाकोट नगर प्रमुख देब बहादुर खाणले जानकारी दिए । खाणका अनुसार यो कार्यक्रम नगरपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा लागू हुनेछ । खाणले भने, “सामुदायिक विद्यालयमा छोराछोरी पढाएका अभिभावक तथा विद्यार्थीका लागि स्वास्थ्य बीमा लागू हुनेछ । यसले सामुदायिक विद्यालयप्रति आकर्षण बढाउने अपेक्षा गरेका छौँ ।” नगरपालिकाले विशेषगरी विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्राथमिकतामा राख्ने जनाएको छ ।
विद्यालयमा आकर्षणसँगै पढाईको गुणस्तरमा ध्यान दिन सुरु गरेको भन्दै नगरप्रमुख खाँणले सरकारी लगानी भएका सामुदायिक विद्यालयलाई प्रभावकारी बनाउने बताए । आगामी बैठकबाट यस्तो नीति लागु गर्नका लागि कर्मचारी र जनप्रतिनिधिहरुसँगको छलफल सम्पन्न गरेको पालिकाले जनाएको छ । कसरी अगाडि जाने भन्नेमा स्पष्ट खाका तयार हुनेछ र यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने उनले जानकारी दिए । नगर पालिकाले आगामी शैक्षिक सत्रदेखि यस्तो नीति कार्यान्वयनमा ल्याउने उनले जानकारी दिए ।
सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धि लगायतका कार्यक्रमलाई पालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको प्रमुख खाँणको भनाइ छ । नगरपालिकामा ५६ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा चार हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।
स्वास्थ्य बिमा गरेपछि योग, पोषण शिक्षा, बानी व्यहोरा सुधार, मनो–सामाजिक परामर्श जस्ता प्रवद्र्धनात्मक सेवा पाईन्छ । यसका अतिरिक्त खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता प्रतिकारात्मक सेवा तथा बहिरंग, भर्ना उपचार, आकस्मिक, शल्यक्रिया, औषधि, स्वास्थ्य सहायता उपकरण जस्ता उपचारात्मक सेवा समेत पाईने भएको छ । बिमा गरेपछी निदानात्मक वा पुनस्र्थापना सम्बन्धी सेवा, एम्बुलेन्स सेवा र तोकिए बमोजिमका अन्य सेवा पाईने भएको छ ।
यता गण्डकी प्रदेशको निति तथा कार्यक्रममा पनि स्वास्थ्य बीमा कार्यक्रममा सबैको सहज पहुँच सुनिश्चितता गरी स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउने र गण्डकी प्रदेशभित्रका शहीद र बेपत्ताका परिवार, जनआन्दोलन, जनयुद्ध, द्वन्द्वपीडित, मधेस आन्दोलन, थरुहट आन्दोलनका घाइते तथा ख वर्गको अपांगता भएका व्यक्ति र अस्पतालमा नियमित डायलायसिस सेवा लिने मिर्गौला पीडितलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिने उल्लेख छ ।
प्रतिक्रिया