बालमैत्रीको व्यवहारिक अभ्यासमा जोड दिदैं भीरकोट
भीरकोट ।
बालमैत्री नगरपालिका भीरकोटले वडादेखि नगरसम्म बालमैत्री व्यवहार र अभ्यासमा जोड दिन थालेको छ । यसै अभियान अन्तर्गत नगरपालिकाले बालबिबाह न्यूनिकरणमा सफलता हात पारेको छ । भीरकोट स्याङ्जा जिल्लाको पहिलो र एकमात्र बालमैत्री नगरपालिका हो । हाल भीरकोटमा बालमैत्री गतिविधिमा बढोत्तरी हुँदै गएको छ। विगतमा नगर केन्द्रित अतिरिक्त क्रियाकलाप र बालमैत्री गतिविधि हुँदै आएकोमा आर्थिक वर्ष २०८०।८१ मा वडाहरूले पनि बालबालिकाका लागि बजेट विनियोजन गर्न थालेपछि वडावडामा बालबालिका लक्षित गतिविधि हुन थालेका हुन्। बालबालिकाका आवाज सुन्न नगरप्रमुखसँग बालबालिका कार्यक्रम लिएर मेयर गोविन्द कुमार कर्माचार्य गाँउ गाँउ पुग्न थालेका छन् ।
बालबालिकाको अधिकार पूर्णरूपमा सुनिश्चित गर्न स्थानीय सरकारको तर्फबाट कुनै पनि कसुर बाँकी नराख्ने भीरकोटले प्रतिबद्धता गरेको छ । वडा नं ८ को कार्यालयले बालबालिकाहरूको आवाज सुन्न र बालमैत्री गतिविधिलाई तिब्रता दिन यही पुस २० गते शुक्रबार “स्थानीय सरकार संचालनमा बालबालिकाको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो। वडाभित्र स्थायी बसोबास गर्ने बालबालिका र अभिभावकहरूको उल्लेख्य उपस्थिती रहेको कार्यक्रममा सहभागी बालबालिकाहरूलाई खेलकुद सामाग्री र डस्टविन समेत वितरण गरिएको थियो। यो सँगै वडाले सरोकारवाला सबैलाई बालमैत्री व्यवहार गर्न पनि अनुरोध गरेको छ ।
भीरकोटले नगर र वडा स्तरको बालक्लब गठन गरी बालअधिकार प्रवर्धनसहित बालबालिकाको हितमा काम गरिरहेको पाईन्छ । यसैगरी बालबालिकाको सक्षमता विकास गर्न र उनीहरूको आवाज सुन्न वडा नं ७ को वडा कार्यालयले २८ गते शनिबार “बालबालिकाप्रति नगरपालिकाको भूमिका ” विषयक वक्तृत्वकला प्रतियोगिता ७ नम्वरको वडा कार्यालयमा सम्पन्न गरेको छ। वडा बालसञ्जालको आयोजना र वडा कार्यालयको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा बालबालिकाको आवाज सुन्न नगर उपप्रमुख भगवती रेग्मी अर्याल पनि उपस्थित थिइन्। रेग्मीले बालहितमा नगरले काम गरिरहेको दावी गरेकी छन् । उनले बालबालिकाको क्षमता वृद्धि गर्न नियमित रुपमा यस्ताखाले कार्यक्रमहरु संचालन गरिने बताईन् ।
वडा नं. ७ मा सम्पन्न भएको कार्यक्रममा वडा बालसञ्जालकी अध्यक्ष नन्दनी अर्यालको अध्यक्षता थियो भने अश्वीना केसीले कार्यक्रमको संचालन गरेकी थिईन् । कार्यक्रममा वडाध्यक्ष ताराप्रसाद अर्याल, नगर बालमैत्री सहजकर्ता विष्णुमाया काफ्ले, वडा सदस्यहरू, अभिभावक, समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी र बालबालिकाको सहभागिता रहेको थियो। अहिले नगरपालिका बालमैत्री व्यवहार कार्यान्वयनमा जिम्मेवारपूर्वक प्रस्तुत भएको ७ नम्वरका वडाध्यक्ष ताराप्रसाद अर्यालको तर्क छ । आफ्नो वडामा रहेका बालबालिकाको लगत संकलन गरी बालबालिकाको उत्थान र विकासमा योजनासहित काम गर्न लागेको वडाध्यक्ष अर्यालको भनाई छ ।
१६ जना बालबालिकाको सहभागिता रहेको वक्तृत्वकला प्रतियोगितामा निकिता थापा प्रथम, प्रकृति रोका द्वितीय , स्वीकृति रेग्मी तृतीय भएका छन् भने सान्त्वना स्थान सक्षम रोकाले हासिल गरेका छन्। कार्यक्रममा विजेता विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी हरेक बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको थियो। प्रतियोगितामा निर्णायकको भूमिका शिक्षा शाखाका प्रतिनिधि विष्णु भट्टराई , शिक्षकहरु कृष्णप्रसाद पौडेल र मिलन समीरले निर्वाह गरेका थिए। बालबालिकाका सवालहरु स्थानीय तहको प्राथमिकतामा परेको बालमैत्री सहजकर्ता बिष्णुमाया काफ्लेको भनाई छ ।
भौतिक विकासमा मात्र केन्द्रित जिल्लाका अन्य स्थानीय तहहरूका लागि भने बालमैत्री विषय निकै परको कुरा हुँदैछ। वक्तृत्वकला प्रतियोगिताको समापनसँगै ७ नम्वर वडामै “वडा अध्यक्षसँग बालबालिका” कार्यक्रम पनि सम्पन्न गरिएको छ। बालबालिकाले बालमैत्री गतिविधि र वडाबाट सम्पादन हुने कामबारे गरेका प्रश्न र गुनासाहरुको जवाफ वडा अध्यक्ष अर्यालले दिएका थिए। बालबालिकाको आवाज सुन्नु बालमैत्री स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउँदै अध्यक्ष अर्यालले बालमैत्री गतिविधिलाई बालबालिकाले अनुभूति गर्ने गरि संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। आफ्नो वडाका बालबालिकाको साथमा वडाध्यक्ष सँगै रहेको अर्यालले बताए । वडामा रहेका बालबालिका कुनै हिंसा दुव्र्यवहारमा परेका भए खबर गर्न अर्याललले आग्रह गरेका छन् ।
प्रतिक्रिया