स्याङ्जाका ४ पालिकामा मुख्यमन्त्री साझेदारी कार्यक्रम

अमृत अर्याल
स्याङ्जा ।

गण्डकी प्रदेशले संचालन गर्न लागेको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि जिल्लाका ४ वटा पालिकाहरु छनोट भएका छन् । उक्त कार्यक्रमका लागि भीरकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र आँधीखोला गाउँपालिका छनोट भएका हुन् । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले अवधारणा माग गरेको थियो । कार्यक्रम सञ्चालनका लागि पालिकाहरुले अवधारणापत्र पेश गरेपछि दुवै पक्षबीच सम्झौता भएको छ ।
साझेदारी कार्यक्रम अन्तर्गत भीरकोटमा प्लाष्टिक झोलामुक्त नगरपालिका र सूचना प्रविधिमैत्री सामुदायिक विद्यालय कार्यक्रम संचालन हुनेछ । गण्डकी प्रदेश सरकारको नवप्रवर्तन कार्यक्रम अन्तर्गत प्लाष्टिक झोलामुक्त बनाउनका लागि भीरकोट छनोट भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले जानकारी दिए । सामुदायीक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन पनि यसै कार्यक्रममार्फत लागिएको छ ।
यसैगरी कालीगण्डकी गाउँपालिकाले यो कार्यक्रम अन्तर्गत बाँझो जमिनको दिगो सदुपयोगलाई प्रोत्साहन गर्दै खाद्यसुरक्षा र जीवनस्तरमा सुधार ल्याउने परियोजना अगाडी सारेको छ । अर्जुनचौपारी गाउँपालिकाले गड्यौली खोलामा वोटानिकल पार्क सहित माछापालन गर्दैछ । आँधीखोला गाउँपालिकाले सेवा प्रवाह, कृषि तथा पर्यटन प्रवर्धनमा प्रविधिमैत्री आँधीखोला कार्यक्रम संचालन गर्दैछ ।
स्थानीय तहले नवप्रवर्तनका माध्यमबाट स्थानीय सेवा प्रवाह, सुशासन र स्थानीय आर्थिक विकासमा योगदान दिने परियोजना प्रस्ताव पेश गरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपयुक्त प्रस्ताव छनोट गरेको हो । यो कार्यक्रम सञ्चालन हुने पालिकाहरुले वार्षिक रु २५ लाखभन्दा कम आन्तरिक आम्दानी भएकाले २५ प्रतिशत र रु २५ लाखमाथि वार्षिक आम्दानी भएका पालिकाहरुले ३० प्रतिशत लागत साझेदारी गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया