चोरीका घट्ना बढ्न थालेपछि स्थानीय प्रहरी कार्यालयमा

वालिङ ।
स्याङ्जाको वालिङमा एकैरातमा पसल, घर र विद्यालय गरी झण्डै एक दर्जन ठाउँमा चोरी भएपछि स्थानीयहरुले वडा प्रहरी कार्यालय वालिङमा शान्तिसुरक्षाको माग गरेका छन् । वालिङ १३ झोलुङ्गे बजारमा एकैरातमा एकदर्जन स्थानमा चोरी भएपछि स्थानीयहरु वडा प्रहरी कार्यालय डेलिगेसनमा आएका हुन् । शान्ति सुरक्षामा प्रहरीको कार्य सम्पादन कमजोर हुँदा चोरीका घट्ना बढ्न थालेको स्थानीयहरुले आरोप लगाएका छन् ।

माघ २८ आइतबार राती झोलुङ्गे बजारमा ५ पसल, ४ घर र एक विद्यालयमा चोरी भएको थियो । स्थानीय घडी गुरुङ्का घरबाट सुन पाँच तोला, पुरन गुरुङ्को घरबाट गियरवाला साइकल, जग्गनाथ पाठकको पसलबाट ३० हजार नगद र विभिन्न ब्राण्डका मदिराहरु, विट्टु गैह्रेको पसलबाट नगद र समान, डिलुराम गैह्रेको पसलबाट ८५ हजार नगद सहित विभिन्न सामानहरु चोरी गरी लगेको प्रहरीले जनाएको छ ।
झोलुङ्गे बजारमा रहेको जीवन ज्योती बोडिङ स्कुल, ब्युटिसियन, किराना पसल र घरहरुमा चोरले ताला फुटाएको प्रहरीले जनाएको छ । चोरी भएको स्थानमा विवरण संकलन गरी उक्त कार्यमा संलग्नको खोजी भएको प्रहरीले जनाएको छ । चोरी भएको ३ दिन वितिसक्दा पनि प्रहरीले अनुसन्धान प्रक्रिया नथालेको भन्दै वालिङ १३ का स्थानीयहरु वडा प्रहरी कार्यालय पुगेर छिटो अनुसन्धान गरी चोरी गर्ने व्याक्ति नियन्त्रणमा लिन आग्रह गरेका थिए ।

वडा प्रहरी कार्यालय वालिङको शान्तिसुरक्षामा फितलो कार्य सम्पादन हुँदा एक हप्तामा धेरै ठाउमा चोरीका घट्नाहरु बढेका छन् । एक हप्ता अगाडी वालिङ ८ डुम्रीकोटमा घरबाटै रातो कलरको स्कुटर चोरी भएको थियो । अहिले सम्म न स्कुटर फेला परेको छ न चोरीमा संलग्नको पक्राउ भएको छ । वडा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक इकवाल हवारीको कार्यशैली माथी नगरवासीले प्रश्न उठाउन थालेका छन् । डिएसपी हवारीले हामीले सुस्म अनुसन्धान गरिरहेको जानकारी दिए ।

यता जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरिक्षक संजय बहादुर राउतले चोरीका घट्नामा प्रहरी सचेत रहेको जिकिर गरेका छन् । आफ्ना मातहतका सबै इकाईहरुमा दिनभरी सुत्ने र रातभरी डियुटी गर्न निर्देशन दिएको बताए । जिल्लाका विभिन्न ठाउँमा भएका चोरीका घट्नाहरु फरक—फरक शैलीका देखिएका छन् प्रहरी प्रमुख राउतले भने,‘प्रहरीले पनि फरक—फरक शैलीबाट अनुसन्धान र प्रहरी खटाउने कार्य गरेको छ ।’ यस्ता घट्नामा जनताले पनि प्रहरीलाई सघाउनु पर्छ र साथ दिनुपर्छ उनले भने । जनताको शान्तिसुरक्षामा प्रहरीले कुनै कसुर बाँकी नराखी सेवामा खटिने उनले दावी गरे ।

प्रतिक्रिया