कमजोर सुरक्षाको नतिजा— श्रृंखलावद्ध चोरीले वालिङ आक्रान्त

श्रीकृष्ण सिग्देल,
वालिङ ।
स्याङ्जाका विभिन्न भागमा चोरीका घट्ना बढ्न थालेका छन् । पछिल्लो समय ग्रामिण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा चोरीका घट्ना बढ्न थालेको तथ्याङकले देखाएको छ । झण्डै एकबर्ष अगाडी आँधीखोला गाउँपालिका १ सिरुवारीमा एक दर्जन घर, पसल, सहकारी, विद्यालय, मन्दिर गुम्बा लगायतमा एकैरात चोरी भएको थियो । त्यसको ठ्याक्कै एकबर्षपछि वालिङ नगरपालिका १३ झोलुङ्गे बजारमा एकै रात एक दर्जन स्थानमा चोरी भएको छ । एकै रातमा धेरै स्थानमा चोरी भएको एकबर्षको दौरानमा आँधीखोला पछिको वालिङको झोलुङ्गे बजारमा हो ।
यसबाहेक बेला—बेलामा विभिन्न भागमा चोरीका घट्ना भने दिनहुजसो भइनै रहेका छन् । चोरी हुन्छ, प्रहरीले अनुसन्धान भइरहेको छ भन्दै गर्दा पनि अहिले सम्म चोरीका घट्ना न निरुत्साहित हुन सकेको छ, न चोरीमा संलग्नहरु पक्राउ नै पर्न सकेका छन् । जसले गर्दा नागरिकले शान्तिसुरक्षाको महशुस गर्न पाएका छैनन् बरु आक्रान्त बनेका छन् । नेपाल प्रहरीले समुदायमा प्रहरी साझेदारी कार्यक्रम मार्फत गाउँगाउँमा सचेतना फैलाउदै गएपनि स्याङ्जामा चोरीका घट्ना भने बढ्न थालेका छन् । बढ्दो बेरोजगार, कुलत तथा दुव्र्यसनी, भड्किलो खर्च, महङ्गी र खराब संगतका कारण चोरी हुनेक्रम बढ्ने विज्ञहरु बताउछन् । कमजोर सुरक्षाको फाइदा उठाउदै त्यस्ता व्यक्तिहरु चोरीमा संलग्न हुनसक्ने विज्ञहरुको भनाई छ ।

एक महिनाको अन्तरलालमा स्याङ्जाको वालिङमा दैनिक चोरीका घट्नाहरु बढ्न थालेका छन् । गरगहना देखी स्कुटर, मोटरसाइकल, पसल, घर, विद्यालय र मन्दिरहरुमा चोरी हुने क्रम दैनिक बढीरहेको छ । माघ १५ गते राती वालिङ ८ डुम्रीकोटबाट ग ९ प ४४२४ नम्बरको रातो रङ्गको होण्डा कम्पनीको स्कुटर घरबाटै चोरी भयो । सिसि टिभी फुटेज सहित उनले वडा प्रहरी कार्यालय वालिङमा खोजतलासका लागि अनुरोध गर्दै निवेदन दिए । तर अहिले सम्म न स्कुटर पत्ता लागेको छ न चोर नै । त्यसपछि फाट्टफुट्ट चोरीका घट्ना नियमित भइरहेका छन् । तर पनि प्रहरीले कुनै चोर समात्न सकेको छैन । वडा प्रहरी कार्यालयबाट झण्डै ५ सय मिटर नजिकैबाट स्कुटर चोरी हुँदा पनि प्रहरी बेखबर जस्तै बन्नुले कमजोर सुरक्षा भएको महशुस वालिङबासीको छ ।

माघ २८ गते आइतवार एकैरात झोलुङ्गे बजारको एक दर्जन स्थानमा चोरी भयो । लगत्तै वालिङ १३ पाठेखोलामा रहेको मन्दिरमा चोरी भयो । बुधवार राती वालिङ ६ पित्लेकमा मोटरसाइकल चोरी भयो । यसरी श्रृंखलावद्ध चोरीका घट्नाले वालिङवासी आक्रान्त बनेका छन् । वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी नायव उपरिक्षक इकवाल हवारीको फितलो सुरक्षा कमाण्डका कारण वालिङवासी चोरीको शिकार हुन परेको स्थानीयहरुको गुनासो छ । पटक—पटक चोरी हुने तर प्रहरीले अनुसन्धानलाई फराकिलो दायरा नवनाएको भन्दै वालिङ १३ का स्थानीयहरु वडा प्रहरी कार्यालय वालिङमा पुगेर शान्तिसुरक्षाको माग गरेका छन् ।

शान्तिसुरक्षाको माग राख्दै प्रहरी कार्यालय आएका स्थानीयलाई उल्टै डिएसपी हवारीले धम्काइदिएपछि पिडीतहरु आक्रोशित बनेका छन् । डिएसपी हवारीको कार्यशैलीकै कारण वालिङमा शान्तिसुरक्षा कमजोर भएको आरोप उनीहरुले लगाएका छन् । पहिले १ जना इन्सपेक्टरको कमाण्डमा समेत सुरक्षित रहेको वालिङ अहिले १ जना डिएसपि सहति २ जना इन्सपेक्टर हुँदा पनि सुरक्षा अवस्था कमजोर भएको स्थानीयको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरिक्षक संजय बहादुर राउतले चोरीका घट्नामा प्रहरी सचेत रहेको भन्दै बचाउ गरेका छन् । आफ्ना मातहतका सबै इकाईहरुमा दिनभरी सुत्ने र रातभरी डियुटी गर्न निर्देशन दिएको उनले बताए । जिल्लाका विभिन्न ठाउँमा भएका चोरीका घट्नाहरु फरक—फरक शैलीका देखिएका छन् प्रहरी प्रमुख राउतले भने, ‘प्रहरीले पनि फरक—फरक शैलीबाट अनुसन्धान र प्रहरी खटाउने कार्य गरेको छ ।’ यस्ता घट्नामा जनताले पनि प्रहरीलाई सघाउनुपर्छ र साथ दिनुपर्छ उनले भने । जनताको शान्तिसुरक्षामा प्रहरीले कुनै कसुर बाँकी नराखी सेवामा खटिने उनले दावी गरे । सिमित साधनश्रोतले जिल्लाको शान्तिसुरक्षा, विपद्, दुर्घट्ना जस्ता घट्नामा प्रहरीले काम गर्नुपरेको गुनासो उनको छ । प्रहरी एक्लैले मात्रै सबै सामाना गर्न नसक्ने भन्दै प्रहरी प्रमुख राउतले जनताको साथ सहयोगको पनि आवश्कता रहेको बताए ।

अहिले सम्म जिल्लाका विभिन्न भागमा गरी दुइ दर्जनभन्दा बढी ठाउमा चोरीका घट्ना भएको प्रहरीको तथ्याङ्क छ । पुतलीबजारमा ८, फेदिखोलामा १, आँधीखोलामा २, भीरकोट, बिरुवा र अर्जुनचौपारीमा १÷१ चोरीका घट्ना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार साधारण चोरी र नकवजनी चोरीमा गरी १२ वटा मुद्धा दर्ता गरिएको छ । जसमा २० जना पक्राउ परेका छन् । चोरीमा संलग्न मध्ये ५ जना पुर्पक्षका लागि थुनामा रहेका छन् भने १३ जना धरौटीमा रिहा भएका छन् । एकजनालाई जमानीमा छाडिएको प्रहरीको तथ्याङकले देखाएको छ । मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २० मा चोरी तथा डाँका सम्वन्धी कसुरमा दुई बर्षदेखी सात बर्षसम्म कैद र बीस हजार देखी सत्तरी हजार जरिवना हुने व्यवस्था छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका निमित्त प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जिल्लामा चोरीका घट्नाहरु बढ्न थालेकाले नागरिकहरु सचेत रहन आग्रह गरेका छन् । पछिल्लो समय वालिङ लगायत जिल्लाका विभिन्न भागमा चोरीका घट्ना बढेका छन् निमित्त प्रजिअ पौडेलले भने, ‘यस्ता घट्नामा नागरिक आफै सचेत रहनु र त्यस्तो परिस्थित आएमा प्रहरीलाई खबर गर्नुहोला ।’ बिशेषगरी वालिङमा चरणबद्ध चोरीका घट्ना बढ्न थालेपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर छुट्टै रणनीतिक कार्ययोजना तयार पारेका छौं उनले भने । प्रहरीलाई चौविसै घण्टा खटाउने र शसस्त्र प्रहरी समेत परिचालन हुने उनले बताए । वडा प्रहरी कार्यालय वालिङको कार्यसम्पादन माथी प्रश्न उठ्न थालेपछि प्रहरी प्रमुखलाई समेत सचेत गराएको उनले बताए । प्रहरीलाई पनि पब्लिकहरुको साथ सहयोग आवश्क छ । यस्तो समयमा बढी सामाजिक सञ्जालमा व्यस्त हुने, आफ्नो घरमा को आए, गए थाहा नपाउने, घरको झ्याल ढोका बलियो गरी नलगाउदा चोरले यसको फाईदा उठाउन सक्ने भन्दै प्रजिअ पौडेलले पब्लिकहरु पनि सचेत हुन आवश्यक रहेको बताए । आफ्नो घरको थैली बलियो बनाएर राख्न सुझाव दिदै यस्ता घट्नामा स्थानीय सरकार, उद्योगी व्यवसायी, नागरिक समाज, संचारकर्मी सबैको साथ सहयोग हुनु आवश्यक रहेको बताए । जनताको ज्युधनको सुरक्षाका लागि नेपाल प्रहरी जनताको साथमा रहेको पौडेलको भनाई छ ।

प्रतिक्रिया