माझी बस्तीमा निःशुल्क स्वास्थ्य शिविर

चापाकोट ।
“सेवा नै धर्म हो “ भन्ने उदेश्यका साथ नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजना तथा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको प्राविधिक सहयोग र इलाका प्रहरी कार्यालय चापाकोट स्याङ्जाको समन्वयमा चापाकोट नगरपालिका वडा न .८ खोरियाघाट स्थितमा रहेको माझी समुदायमा निःशुल्क स्वास्थ्य शिविर एवं कम्मल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
अस्पताल सम्म पहुँच नपुगेका ग्रामिण बस्तिका नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराई स्वास्थ्य परामर्श समेत प्रदान गर्ने उद्धेश्यले उक्त बस्तीमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको हो ।

उक्त शिविर स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नं. ८ खोरियाघाट स्थितमा रहेको राधाकृष्ण मन्दिर परिसरमा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराका बिशेषज्ञ चिकित्सकहरुद्वारा नाक, कान, घाँटी, आँखा, मुटु, दम, दाँत, स्त्री रोग र हार्डजोर्नी सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण गरि सम्पन्न गरीएको थियो ।

चापाकोट नगरपालिकाकी उप–मेयर इशा रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराकी अध्यक्ष कमला खनालले मन्दिर परिसरमा बृक्षारोपण गर्दै शिविरको उद्घाटन गरेकी थिइन् भने विपन्न परिवारहरुलाई कम्मल वितरण समेत गरेकी थिइन् ।

कम्मल वितरण पश्चात कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराकी अध्यक्ष खनालले संघद्वारा गरेको उक्त कार्यक्रमबाट लाभान्वित हुने नागरिकका सबै समस्याहरु समाधान गर्न नसकिएता पनि यसबाट केहि हदसम्म उहाँहरुको जनजीवनमा सहजता प्रदान गर्न संघले प्रयास गरेको बताउँदै शान्त र समुन्नत समाजको अभिलाषा राख्ने सबै सरोकारवाला संघ संस्थाहरुलाई उक्त गाउँमा सहयोगका कार्यक्रमहरु ल्याई उहाँहरुको जनजीवनमा केहि मात्रामा भएपनी सहजता प्रदान गर्न उनले कार्यक्रमबाटै अनुरोध समेत गरीन् ।
कार्यक्रममा बोल्दै चापाकोट नगरपालिकाकी उप–मेयर इशा रानाले नेपाल प्रहरी श्रीमती संघ पोखराको उक्त परोपकारी कार्यप्रति धन्यवाद प्रकट गर्नुको साथै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुको अपेक्षा गरीन् ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय चापाकोटका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक जेसी शाह, चापाकोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राजु न्यौपाने, नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराका पदाधिकारीहरु लगायत स्थानिय व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया