व्यावसायिक खेतीका लागि भीरकोटमा माटो परीक्षण

अमृत अर्याल
भीरकोट ।
माटोको उर्वराशक्तिअनुसार व्यावसायिक खेती लगाउने उद्देश्यले भीरकोट नगरपालिकामा माटो परीक्षण हुदैंछ । नगरपालिकाभित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्तिबारे जानकारी लिएर सोहीअनुसारको खेती गर्ने उद्देश्यले माटो परीक्षण गर्न लागिएको हो । नगरपालिकाभित्रका ९ वटै वडाका माटोको प्रकृति पत्ता लगाएर सो स्थानमा उत्पादन हुने उपयुक्त कृषि बाली सिफारिशका लागि यही फागुन ९ गतेदेखि किटबक्स विधि प्रयोग गरेर माटो परीक्षण शुरु गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले बताए । “नगरपालिकाले कृषिलाई व्यवसायीकरण र यन्त्रीकरण गराउन खोजीरहेको छ”, उनले भने, “ यो कार्यलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन सबै वडाको माटो परीक्षण गरिने भएको हो ।”

कृषि ज्ञान केन्द्र स्याङ्जाको प्राविधिक टोलीको सहयोगमा हरेक वडामा माटोमा भएको नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ एवं माटोको पिएच मापनको काम गरिने जनाइएको छ । माटो परीक्षणसँगै किसानलाई माटोको प्रकृतिअनुसार उपयुक्त बालीनाली लगाउन सुझाव दिइनेछ । माटोमा भएका उर्वराशक्तिलाई थप बिग्रन नदिनुका साथै सुधारका काम गर्न पनि परीक्षण उपयोगी हुने प्राविधिक टोलीले जनाएको छ । प्राविधिक टोलीले बालीनालीका लागि आवश्यक पर्ने खाद्य तत्वका बारेमा पहिचान गरेर सुहाउँदो मल, बीउ एवं विषादी प्रयोगका बारेमा समेत कृषकलाई सिफारिश गरिने ढुंगानाले बताए । नगरपालिकाले कृषि क्षेत्रको व्यवसायीकरण गर्ने उद्देश्यकासाथ प्राथमिकताका आधारमा काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया