सडकको धुलोले सास्ती
विकासका लागि सडकलाई पहिलो पूर्वाधार मानिन्छ । यसले यातायातलाई मात्रै सहज बनाउँदैन, विकासका अन्य पूर्वाधार भित्राउन पनि उत्तिकै महत्वपूर्ण भूमिका खेल्दछ । त्यसैले विकासको प्राथमिक पूर्वाधार हो, सडक । र, विकास ओसार्ने माध्यम पनि । तर, त्यही सडक भरपर्दो नभइदिँदा सुविधाभन्दा सास्ती बढी हुने नै भयो । यस्तै समस्या झेल्दै छन्, ग्रामीण सडक खण्ड आसपासका बासिन्दाहरु । त्यो पनि दशकौंदेखि । सडक गतिलो नभएकाले अन्य विकास निर्माणमा बाधा पुगेको छ । स्याङ्जाका विभिन्न भित्री सडकमा धुलोका कारण सर्वसाधारण हैरान भएका छन् । जिल्लाको सिद्धार्थ राजमार्गसहित अन्य भित्री सडकहरुमा अहिले असाध्यै धुलो उड्ने गरेको छ । जसले गर्दा स्थानीयलाई आवतजावत गर्न निकै समस्या भइरहेको छ भने धुलोकै कारण उनीहरु बिरामी पर्न थालेका छन् । भीरकोटको बयरघारी सुन्दरबजार सडकखण्ड लामो समयदेखि मर्मत सम्भार नहुँदा अहिले यो क्षेत्र दयनीय अवस्थामा पुगेको छ । यसले त्यो सडकमा यात्रा गर्ने यात्रुलाई त कष्ट भएको छ नै साथै धुलोका कारण त्यस क्षेत्रका बासिन्दा अत्यासलाग्दो वातावरणमा बस्न बाध्य भएका छन् । यसरी सडकमा उडेको धुलोका कारण यहाँको वायु प्रदूषणसमेत बढ्दै गएको छ । वायु प्रदूषणका कारण दम, खोकीसँगै श्वासप्रश्वाससम्बन्धी, फोक्सोको क्यान्सर, मष्तिस्कघात जस्ता समस्या आउने विभिन्न अध्ययनले देखाएकै तथ्य हो । त्यसो त विश्व स्वास्थ्य संगठनको एक अध्ययनलाई आधार मान्ने हो भने नेपालमा बर्सेनि १० हजार भन्दा बढी नेपालीको वायु प्रदूषणका कारण ज्यानै जाने गरेको छ । वायु प्रदूषण हुनुमा प्रमुख कारणमध्येको एक हो, समयमै सडक मर्मत सम्भार नहुनु । यहाँका ग्रामीण सडक समयमै मर्मत सम्भार हुने हो भनेमात्र पनि वायु प्रदूषणमा धेरै कमी आउने थियो । त्यसमाथि सडकमा यात्रा गर्ने यात्रुदेखि स्थानीयले अत्यासलाग्दो अवस्थामा बस्नुपर्ने थिएन । पछिल्लो समय पूर्वाधार विकासका नाममा धेरै सडक निर्माण भएका छन् । तर एकपटक बनाइएका सडकको नियमति मर्मत तथा स्तरोन्नति भने हुँदैन । जसले गर्दा सुविधाभन्दा सास्ती हुने गरेको छ । दीर्घकालीन महत्वका ठूला सडकहरु झन दशकौंदेखि अलपत्र अवस्थामा छन् । नागरिकको सुविधाका लागि बनाइएका सडक सुधार नहुँदा त्यसले प्रत्यक्ष रुपमा नागरिककै स्वास्थ्यमा नोक्सान पु¥याउने गर्दछ । बस्तीभित्रबाट बनाइएका सडकबाट उत्पादन हुने धुलो नागरिक स्वास्थ्यका लागि प्रतिकूल छ । त्यसकारण पनि आवश्यकताअनुसार सडक निर्माणसँगै त्यसको स्तरोन्नति र सुधारमा सम्बन्धित पक्षको ध्यान जान जरुरी छ । डोजर किनेर बाटो खनेपछी धुलाम्मे भएको सडकमा पानी छर्किने मेसीन किनेर धुलो हटाउने जिम्मेवारी पनि स्थानीय सरकारकै हो । निर्माणाधिन सडकहरु कस्ता बनिरहेका छन् ? कसले बनाइरहेको छ ? त्यसको गुणस्तर कस्तो छ भन्ने विषयमा चासो राख्ने बेला आएको छ । एकाध रुपमा पिच हुदैं गरेका सडकमा हाम्रो ध्यान पुगेन भने फेरि पनि केही वर्ष नबित्दै धुलाम्मे र हिलाम्मे सडकमा हिँड्न बाध्य हुनेछौँ ।
प्रतिक्रिया