आर्थिक हिनामिनागरी सहकारीका कोषाध्यक्ष फरार

स्याङ्जा ।
स्याङ्जा शितभण्डार सहकारीका कोषाध्यक्षले आर्थिक हिनामिना गरी सम्पर्क बिहिन भएका छन् । सहकारीका कोषाध्यक्ष अनन्तराज मरासिनीले १४ लाख १८ हजार रकम हिनामिना गरी फरार भएका हुन् । लामो समय नेपाल सरकारको सेवा निबृत्त लेखा अधिकृत रहेका मरासिनीले सहकारीको चेक दुरुपयोग गरी रकम हिनामिना गरेको सहकारीले जनाएको छ ।
सहकारीका तिनओटा चेक मध्ये नेपाल बैंकबाट ९८ हजार, गरिमा विकास बैंकबाट १ लाख २० हजार र गरिमा बैंकबाटै १२ लाख रकम निकासा गरी हिनामिना गरेको खुलेको हो । सहकारीले अर्ध बार्षिक हिसावकिताव गर्नेक्रममा उक्त रकम दुरुपयोग भएको सहकारीका अध्यक्ष अनन्तराज श्रेष्ठले बताए । सहकारीमा कोषाध्यक्ष अनिवार्य र अध्यक्ष तथा सचिव मध्ये एकजनाको हस्ताक्षरबाट चेक संचालन हुने प्रावधान रहेको श्रेष्ठको भनाई छ । कर्मचारीलाई तलब खुवाउने र अन्य खर्च मिलाउन सहकारीको चेकमा हस्ताक्षर गर्दा कोषाध्यक्षले यसको फाइदा उठाएर रकम हिनामिना गरेको श्रेष्ठको आरोप छ ।
रकम हिनामिना भएको थाहा पाएपछि रकम दाखिला गर्न र स्पटीकरण सोध्ने काम भयो अध्यक्ष श्रेष्ठले भने,‘पछि कोषाध्यक्ष मरासिनीले १२ लाखको चेक दिएपनि अहिले सम्म साटिएको छैन ।’ पटक—पटक चेक नसाटिएपछि अहिले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा बैङिक कसुर सम्वन्धी उजुरी समेत दर्ता गरेका छौं उनले भने । मरासिनी अहिले न सहकारीको सम्पर्कमा आएका छन् न प्रहरीको सम्पर्कमा आएका छन् । सहकारीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरी निरिक्षक पावसिंह लामाले जानकारी दिए । अहिले सम्पर्कमा नरहेपनि उनले म छिट्टै आउने म्यासेज पठाएको बताए ।
रकम हिनामिना गरेर मरासिनी अष्ट्रेलिया पुगेको अनुमान गरिएको बताइएको छ । जिल्लाका विभिन्न सहकारी, सामाजिक संघसंस्थामा रहेर काम गर्दै आएका मरासिनीले सहकारीको रकम हिनामिना गरी फरार हुनुले अन्य संघसंस्थामा पनि आर्थिक हिनामिना गरेको हुनसक्ने अनुमान गरिएको छ ।
नेकपा एमाले पार्टीका लेखा समितिका संयोजक समेत रहेका मरासिनी सुन्तला सुपरजोन संचालक समितिका सचिव समेत हुन् । मरासिनीको यो हर्कतले अगाडीको हिसावकिताव समेत पारदर्शी नभएको हुनसक्ने बताइएको छ । जिल्लाभरीका १०४ सहकारी, ३ पालिकाको शेयर लगानी रहेको शितभण्डार सहकारीमा नेपाल सरकारको अनुदान समेत रहेको छ । एकबर्ष अगाडी किसानका सुन्तलालाई सहकारीले भण्डारण गरेको थियो । किसानका सबै सुन्तला शितभण्डारणमै कुहिएपछि अहिले सम्म किसानले क्षतीपुर्ती समेत पाएका छैनन् ।
जिल्लामा शितभण्डारणको आवश्यकता महशुष गरि संचालनमा ल्याइएको सहकारी झण्डै एकदशक भएको छ । सहकारीको अधिवेसन जेठमा भएको बताइएको छ । कोषाध्यक्ष भएको ५ महिनामै मरासिनीले आर्थिक हिनामिना गरेका छन् ।
प्रतिक्रिया