भीरकोटमा स्वास्थ्य शिविर हुने

भीरकोट ।
स्याङ्जाको भीरकोट नगरपालिकामा बृहत् सेवा सहितको स्वास्थ शिविरको आयोजना हुने भएको छ । जसका लागि तयारी सुरु गरिएको छ । लायन्स क्लब अफ भीरकोटले यहि फागुन २६ गते शनिवार शिविरको आयोजना गरेको जनाएको छ । गण्डकी मेडिकल कलेज पोखराको सहयोग तथा समन्वयमा शिविरको आयोजना गरिएको हो । भीरकोट नगरपालिका–१ अन्तर्गत नगर अस्पताल हेलुमा सञ्चालन हुने शिविरमा जनरल फिजीसियन, भिडीयो एक्स रे, महिला तथा प्रसुती रोग, नाक, कान, घाँटी, हाडजोर्नी तथा नशारोग लगायत विभिन्न रोगको निशुल्क उपचार गरिन्छ । शिविर एक दिनमात्र संचालन हुनेछ । बिहान १० बजेबाट शुरु हुने शिविर बेलुका ५ बजेसम्म संचालन हुनेछ ।
यस भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले लायन्स क्लबले यस खालको शिविर सञ्चालन गर्न लागेको क्लबका अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण)ले बताए । नगरमै विशेषज्ञ सेवा सहितको अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गर्ने अधिकारीको भनाई छ । बढी रकम तिरेर स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको न्यूनीकरण गर्न पनि सबैका लागि यो शिविर उचित हुने उनले बताए । “नगरपालिकाभित्रका सबै नागरिकलाई आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा दिन शिविरको आयोजना गरिएको हो”, उनले भने, “नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै आगामी वर्ष पनि स्वास्थ्य शिविर सञ्चालन भैराख्ने छन् ।” गाउँघरमै विशेषज्ञ डाक्टर सहितको निशुल्क स्वास्थ्य शिविर हुनेभएपछि स्थानीयवासी खुशी भएका छन् । गाउँस्तरमा स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले स्थानीय सरकार र सामाजिक संघसंस्था भएको महसुस गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

 

प्रतिक्रिया