समाचार प्रभाव—‘सहकारीमा हिनामिना गरेको रकम कोषाध्यक्षले फिर्ता गरे’

वालिङ ।
स्याङ्जा शितभण्डार सहकारीका कोषाध्यक्षले आर्थिक हिनामिना गरी सम्पर्क बिहिन भएको खबर पब्लिक आवाज अनलाईनले बाहिर ल्याएपछि साँवा ब्याज सहित रकम फिर्ता गरेका छन् । सहकारीका कोषाध्यक्ष अनन्तराज मरासिनीले १४ लाख १८ हजार रकम हिनामिना गरी फरार भएका थिए । सहकारीको चेक दुरुपयोग गरेका मरासिनीले साँवा ब्याज सहित रकम बैंकमा दाखिला गरेको सहकारीका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिए । कोषाध्यक्ष मरासिनीले सहकारीको रकम दुरुपयोग गरी फरार रहेको खबर पब्लिक आवाज अनलाईनले ब्रेक गरेको थियो । कोषाध्यक्ष मरासिनीले सहकारीको रकम दुरुपयोग गरी फरार रहेको खबर पब्लिक आवाज अनलाईनले ब्रेक गरेको थियो । समाचार बाहिर आएको तिनदिन भित्र मरासिनीले आफुले दुरुपयोग गरेको रकम सिधै बैंकमा दाखिला भएको सहकारीले जनाएको छ ।

 आर्थिक हिनामिनागरी सहकारीका कोषाध्यक्ष फरार

सहकारीका अध्यक्ष श्रेष्ठका अनुसार १४ लाख १८ हजार मध्ये १२ लाख चेक मार्फत र बाँकी साँवा २ लाख १८ हजार र ९६ हजार ७ सय रकम व्याज गरिमा विकास बैंकमा दाखिला भएको बताए । जम्माजम्मी १५ लाख १४ हजार ७ सय रकम सहकारीले पाएको श्रेष्ठले बताए । मरासिनीले सहकारीका तिनओटा चेक मध्ये नेपाल बैंकबाट ९८ हजार, गरिमा विकास बैंकबाट १ लाख २० हजार र गरिमा बैंकबाटै १२ लाख रकम निकासा गरी हिनामिना गरेका थिए । रकम हिनामिना भएपछि सहकारी संचालक समितिले मरासिनीलाई स्पष्टीकरण समेत सोधेको थियो । सहकारीले सोधेको स्पष्टीकरणको जवाफ अहिले सम्म पनि नदिएको बताइएको छ ।

मरासिनीले रकम आफुले खर्च गरेको स्विकार गर्दै सहकारीलाई १२ लाखको चेक समेत दिएका थिए । पटक—पटक चेक नसाटिएपछि सहकारीले चेक बाउन्स गरी जिल्ला प्रशासन र प्रहरीमा उजुरी दिएको थियो । अहिले मरासिनीले रकम दाखिला गरेपछि भने उनी बिरुद्ध परेको उजुरी सहकारीले फिर्ता लिएको छ । रकम दाखिला गरेपनि मरासिनीको सहकारीबाट हुने कारवाहीका बारेमा भने अहिले केही निर्णय नभएको अध्यक्ष श्रेष्ठले बताए । कोषाध्यक्षलाई संचालक समितिले स्पिष्टीकरण सोधेको छ अध्यक्ष श्रेष्ठले भने,‘अहिले सम्म पनि उहाँबाट कुनै प्रतिउत्तर आएको छैन ।’ स्पिष्टीकरणको प्रतिउत्तर आएपछि मात्रै कस्तो खालको कारवाही हुने भन्ने बिषय संचालक समितिले टुङ्ग्याउने छ उनले भने । अहिले कोषाध्यक्षको जिम्मेवारीबाट हटाइएको संकेत अध्यक्ष श्रेष्ठले गरे ।

अब सहकारीले आर्थिक कारोवार अध्यक्ष र सचिवबाट हस्ताक्षर चल्नेगरी अगाडी बढाइएको उनले बताए । लामो समय नेपाल सरकारको लेखा शाखामा काम गरेका मरासिनी सेवा निबृत्त अधिकृत हुन् । लेखामै पोख्त रहेका कारण मरासिनीलाई शितभण्डारका शेयर सदस्यले कोषाध्यक्षको जिम्मेवारी दिएका थिए । कोषाध्यक्षको जिम्मेवारी पाएकै ५ महिनामा मरासिनीले सहकारीको रकम दुरुपयोग गरे । रकम दुरुपयोग गरेर फरार भएको आरोप लागेका मरासिनी अष्ट्रेलियामा छोराछोरी सगँ रहेको बुझिएको छ ।

जिल्लाभरीका १०४ सहकारी, ३ पालिकाको शेयर लगानी रहेको शितभण्डार सहकारीमा नेपाल सरकारको अनुदान समेत रहेको छ । एकबर्ष अगाडी किसानका सुन्तलालाई सहकारीले भण्डारण गरेको थियो । किसानका सबै सुन्तला शितभण्डारणमै कुहिएपछि अहिले सम्म किसानले क्षतीपुर्ती समेत पाएका छैनन् । जिल्लामा शितभण्डारणको आवश्यकता महशुष गरि संचालनमा ल्याइएको सहकारी झण्डै एकदशक भएको छ ।

प्रतिक्रिया