भीरकोटमा कक्षा ८ र ९ को नगरस्तरीय परीक्षा

अमृत अर्याल
भीरकोट ।
भीरकोट नगरपालिकामा नगरपालिकाद्धारा कक्षा ८ र ९ को स्तरीकृत परीक्षा लिइएको छ । आइतबार देखि नगरपालिकाले विभिन्न परीक्षा केन्द्र मार्फत कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुको परीक्षा लिएको हो । गत फागुनमा बसेको नगर स्तरीय परीक्षा समितिको निर्णय अनुसार आइतबार ११ बजेबाट १९ वटा परीक्षा केन्द्र मार्फत परीक्षा संचालन भएको छ । भीरकोट नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत गरि १९ वटा विद्यालयका करीब ८ सय जना विद्यार्थीहरु कक्षा ८ र ९ को स्तरीकृत परीक्षामा सहभागी छन् । हरेक विद्यालयलाई नै परीक्षाको केन्द्र तोकिएको छ ।
परीक्षामा कक्षा ८ र ९ मा पढाइ हुने विषयहरुको एकिकृत रुपमा ५० र ७५ पूर्णाकंको प्रश्नपत्र तयार गरिएको भीरकोट नगरपालिकाका शिक्षा अधिकृत नविन थापाले जानकारी दिए । परीक्षाबाट विद्यार्थीसँगै विद्यालयको स्तर मापन हुने उनको भनाइ छ । परीक्षा भन्ने बित्तिकै विद्यार्थीमा त्रसित हुनुपर्ने वातावरण नआओस् भन्ने उद्देश्यका साथ कक्षा ९ लाई समेत नगरपालिका मार्फत परीक्षा लिइएको उनले बताए । चैत १३ गते सम्पन्न हुने परीक्षाको नतिजा चैत मसान्तसम्म गरिने भीरकोट नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया