एमाले स्याङ्जाको नेतृत्व चुन्न वडातहमा अधिवेसनको सरगर्मी
श्रीकृष्ण सिग्देल,
वालिङ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले स्याङ्जा नवौ जिल्ला अधिवेसनको तयारीमा जुटेको छ । प्रत्येक ३÷३ बर्षमा गरिने अधिवेसन यो पटक भने २ बर्षमै हुदैछ । चैत्र २३ र २४ गते जिल्ला सदरमुकाम पुतलीबजार जिल्ला अधिवेसन गर्ने निर्णय गरेर तयारी थालेको एमाले स्याङ्जाले नेतृत्व देखी जिल्ला कार्य समिति चुन्न वडातहमा अधिवेसनको सरगर्मी शुरु भएको छ । केन्द्रीय नेतृत्वलाई अभिभावक मान्दै गुटगतको अन्त्य भएको दावी गर्दै आएको एमालेले दोस्रो तहका नेताले भने प्रदेश अधिवेसनबाटै गुटगतको राजनीति मौलाएको देखिन्छ । यो रोग जिल्ला तहमा पनि देखिन थालेको छ ।
चैत्र १७ गते जिल्लाका ९७ वटै वडामा एकै दिन जिल्ला अधिवेसन प्रतिनिधि छनोट तयारीमा पार्टी जुटेको एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे (पारस) ले जानकारी दिए । सबै वडातहलाई प्रतिनिधि चुन्न पत्राचार गरिसकेको र सबै वडातहका पार्टीका संगठित सदस्यहरु प्रतिनिधि छनोट प्रक्रियामा अगाडी बढेको अध्यक्ष गैह्रेले बताए । ६० जना संगठित सदस्यबाट एक महिला सहित ३ जनाप्रतिनिधि छनोट गर्न पाइने व्यवस्था एमालेको विधानमा रहेको छ । ६० भन्दामाथी ३० जना बराबर एकजनाका दरले प्रतिनिधि चुन्ने व्यवस्था रहेको छ ।
त्यसैगरी उत्पीडीत समुदायबाट भने पालिकास्तर बाट चुनिने व्यवस्था रहेको एमालेले जनाएको छ । हरेक पालिकामा ४० जना बराबर एक जनामहिला सहित ३ जना जिल्ला अधिवेसन प्रतिनिधि चुन्न पाईने व्यवस्था छ । वडातहबाट र पालिकाबाट चुनिने प्रतिनिधि झण्डै ६ सय ५ जनाभन्दा बढी हुने अनुमान रहेको अध्यक्ष गैह्रेले बताए । वडातहबाट आएका प्रतिनिधिहरुको संख्याको आधारमा ५ प्रतिशत प्रतिनिधि जिल्ला बैठकले चुन्ने व्यवस्था एमाले केन्द्रीय निर्वाचन समितिले गरेको परिपत्रमा उल्लेख छ । नेकपा एमाले स्याङ्जामा हालसम्म नविकरण गरेका सांगठनिक सदस्य ९ हजार १ सय७१ जना रहेका छन् । यीनै सांगठनिक सदस्यहरुबाट जिल्ला अधिवेसन प्रतिनिधि चुनिने अध्यक्ष गैह्रेले बताए । जिल्ला अधिवेसनलाई भब्यरुपले सम्पन्न गर्न जिल्ला देखी वडातह सम्म कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन समेत दिएको नेकपा एमाले स्याङ्जाले जनाएको छ ।
चैत्र २३ र २४ गते हुने एमाले स्याङ्जाको नवौ जिल्ला अधिवेसनको उदघाटनका लागि केन्द्रीय अध्यक्ष केपीशर्मा ओलीलाई निम्तो पठाइएको अध्यक्ष गैह्रेले बताए । अहिले सम्म अध्यक्ष आउन सक्ने वा नसक्ने भन्ने बिषयमा केही जानकारी नआएको बताइएको छ ।
प्रतिक्रिया