भीरकोटको अर्धवार्षिक समिक्षा

भीरकोट ।
भीरकोट नगरपालिकाले चालु आर्थिक वर्षमा भएको कामको समिक्षा गरेको छ । विषयगत शाखा प्रमुखहरुले अर्धबार्षिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदन उपर छलफल गर्न कर्मचारीहरुको बैठक बसी विभिन्न निर्णयहरु गरिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले बताए । कर्मचारी बैठकमा वडागत र शाखागत रुपमा वडा सचिव र शाखा प्रमुखहरुले अर्धवार्षिक प्रगति प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गरेका हुन् । प्रतिवेदन तयारीसँगै शाखा प्रमुखहरुलाई जिम्मेवार बनाउन लागिएको ढुंगानाको दावी छ । संघीय सरकारले समान्यीकरणको शिर्षक अन्तर्गतको रकम नपठाएकाले यसबाट आर्थिक क्रियाकलापहरु प्रभावित भएको ढुंगानाले बताए । प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले भने, बैठकबाट भुक्तानी गर्नुपर्ने बाँकी रकम एकिन गरिएको छ । ढुंगानाले उत्कृष्ट कार्यसम्पादन गर्ने विषयगत शाखा प्रमुखहरुलाई धन्यवाद दिदैं हरेक शाखाको प्रतिवेदन तयार पारी त्यसको दस्तावेजीकरण गर्न थालिएको बताए । बैठकमा वित्तिय प्रगतिको यथार्थ विवरण आएको भएतापनि भौतिक प्रगतिको विवरण केही दिनमै संशोधन सहित आउने बताए ।
चालु आर्थिक वर्षको शुरू देखिनै आर्थिक अवस्था क्रमश सामान्य हुने अनुमानका आधारमा नगरको बजेट तर्जुमा गरिएको थियो । राजस्व कम उठेका कारण अर्थतन्त्र लयमा फर्कन नसकेको ढुंगानाको बुझाई छ । आर्थिक वर्षको शुरूबाट नै आर्थिक क्रियाकलाप सामान्य अवस्थामा नफर्किदा त्यसको असर भौतिक विकासमा परेको देखिन्छ । भीरकोटमा आन्तरिक क्रियाकलापबाट संकलन हुने राजस्व भने सन्तोषजनक रहेको छ । विकास सहायता परिचालन केही कमजोर भएपनि बाँकी अवधिमा पूर्वाधार योजनामा सुधार आउने अपेक्षा गरिएको ढुंगानाको भनाई छ । विषयगत शाखाले तयार पारेको वित्तीय उत्तरदायित्व र अन्य प्रतिवेदनहरु उपर बैठकमा गम्भिर छलफल भएको ढुंगानाले बताए । प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले भने, पालिकामा बजेट अभाव हुन थालेपछी केन्द्रसँग आवश्यक समन्वय गरिएको छ । चालु आर्थिक वर्षको बाँकि अवधिमा बजेट कार्यान्वयनमा थप सुधार ल्याउन संशोधित कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ । कार्य सम्पन्न भई भुक्तानी दिन बाँकी दायित्व तत्काल भुक्तानी दिने व्यवस्था मिलाईनेछ । विभिन्न योजनाको कार्यान्वयनको अवस्थाको छुट्टै अनुगमन तथा समीक्षा गरी कार्यान्वयनमा देखिएका जटिलताको व्यवस्थापन गरिनेछ ।
प्रतिक्रिया