सम्पादकीय— एसईईको देशभर उत्साह
वि.सं. २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात् कक्षा १० को परीक्षा बिहीबारबाट सुरु भएको छ । परीक्षा ११ दिनसम्म सञ्चालन हुनेछ । मिहिनेती सबै विद्यार्थीका लागि यो उत्साहको अवसरसमेत हो । प्रवेशिका परीक्षा (एसएलसी) को परिवर्तित स्वरुपका रुपमा एसईई परीक्षा विगत केही वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्दै आएको छ । विगतमा एसएलसी परीक्षालाई उच्च शिक्षाको फलामे ढोकाको रुपमा चिनिन्थ्यो । यसको ओज असाध्य उच्च थियो । परिवर्तित स्वरुप अनुरुप हालको कक्षा १० को परीक्षा तुलनात्मक रुपमा सहज तवरले लिइने गरिएको पाइन्छ । यसो भए पनि एसईई परीक्षाप्रति देशभरिका लाखौँ परीक्षार्थी तथा उनीहरुका अभिभावकको गहिरो चासो एवं प्रभाव भने घटेको पाइँदैन ।
लाखौँ विद्यार्थीको सहभागिता तथा मुलुकभरि एकै समयमा परीक्षा सञ्चालनलाई यसैको कडीका रुपमा लिन सकिन्छ । स्याङ्जा जिल्लामा ४ हजार १ सय ३३ परीक्षार्थीका लागि २६ वटा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ । जिल्लाका १ सय ६८ वटा मा.वि.बाट उक्त संख्यामा परीक्षार्थी सहभागी भएका हुन् । ति मध्ये १ सय ३३ सामुदायीक र ३५ वटा संस्थागत विद्यालय रहेका छन् । अहिले उत्तीर्ण हुनका लागि प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिकमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने भनिएको छ । यसले विगतको भन्दा एसईईको गुणस्तरमा सुधार हुने अपेक्षा गरिएको छ । शिक्षाको गुणस्तर खस्कनु भनेको राष्ट्रको भविष्यप्रति गम्भीर नहुनु हो । कक्षा १० को यस अन्तिम परीक्षा एसईई विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि नयाँ मार्गहरुको दिशानिर्देश गर्ने सम्बन्धमा निकै महत्वपूर्ण आयामका रुपमा रहँदै आएको छ । यसैबाट विद्यार्थीहरुले आफ्नो भविष्यका लागि कुन प्रकारको शिक्षा ग्रहण गर्ने उपयुक्त निर्णय गर्न सक्षम हुन्छन् ।
यस अर्थमा मुलुकको समग्र विकासमा सघाउ पु¥याउने दिशा तय गर्ने शिक्षा माध्यमका रुपमा पनि लिन सकिन्छ एसईईलाई । यस परीक्षामा सहभागी हुने सबै परीक्षार्थी कडा मिहिनेत तथा परिश्रमका साथ तयारी गर्नुको कुनै विकल्प छैन । रचनात्मक तथा तार्किक लेखन शैली, अध्ययनशील एवं विवेकपूर्ण व्यवहार नै विद्यार्थीका सफलताका सूत्र हुन् । विगतमा जस्तो पुराना परीक्षाका प्रश्नपत्र हल गरेर तथा गेस पेपर पढेकै भरमा उत्तीर्ण हुन कठिन हुँदैछ । विगतका प्रश्नपत्र दोहरिएर आउने कारणले विद्यार्थीमा सिर्जनात्मक शैलीको दाँजोमा यस्ता प्रश्न हल गर्ने बानी बस्दै गएको थियो । तर यसपटक प्रश्नपत्रको मोडेल नै परिवर्तन भएको छ । यसबाट विद्यार्थीमा घोकन्ते प्रवृत्तिभन्दा सिर्जनात्मक तवरले अध्ययनलाई अगाडि बढाउने प्रवृत्तिले प्रश्रय पाउनेछ । यसलाई पाठ्यक्रम विकास केन्द्र र बोर्डको स्वागतयोग्य कदमका रुपमा लिन सकिन्छ । मिहिनेत अनि परिश्रमको समिश्रणबाट नै विद्यार्थीले भविष्यका सुनौला दिन रेखाङ्कन गर्न सक्छन् । राष्ट्रका कर्णधार विद्यार्थीले शान्ति र व्यवस्थित वातावरणमा परीक्षा दिन पाउनुपर्छ । यस पटकको एसईई परीक्षाका सबै परीक्षार्थीलाई सफलताको हार्दिक शुभकामना ।
प्रतिक्रिया