अर्जुनचौपारीमा सार्वजनिक सुनुवाई सम्पन्न

स्याङ्जा ।
अर्जुनचौपारी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं. २ को लामडाँडा होमस्टे परिसरमा सम्पन्न गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्ष २०८०÷०८१ को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिबाट उठेका जिज्ञासाको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले गाउँपालिकाले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यहरु गरिरहेको बताए । अध्यक्ष तिवारीले पिचबाटो रहित पालिकाभित्र पिचबाटो निर्माण र अन्य बाटोको काम भएको बताउँदै भौतिक पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण काम भएको जिकिर गरे ।

अध्यक्ष तिवारीले शिक्षाको गुणात्मक सुधारका लागि आधारभूत तहदेखि माध्यमिक तह सम्म स्रोत साधन परिचालन गरिएको बताउँदै गाउँपालिकाको शैक्षिक गुणस्तर विकासका लागि शैक्षिक कार्यदल निर्माण गरि परिचालन गरिएको बताए । उनले एक घर एक धाराको अभियानलाई निरन्तरता दिईने बताउँदै पालिकाको पर्यटकीय सम्भावनालाई दृष्टिगत गरि पर्यटकीय स्थल र त्यहासम्मको पूर्वाधार विकासमा लाग्ने बताए । तथ्यहिन र नकारात्मक टिप्पणी भन्दा पनि पालिकाको विकास र समृद्धिमा सकारात्मक भई सहयोग गर्न सबैलाई अध्यक्ष तिवारीले अनुरोध गरे ।


कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले चौमासिक प्रगति विवरण प्रस्तुत गर्दै पालिकाको अवस्था र उपलब्धीको बारेमा जानकारी गराए । कार्यक्रममा निवर्तमान वडा अध्यक्ष क्याप्टेन लाल बहादुर गुरुङ, नेपाली काँग्रेसका अर्जुनचौपारी गाउँ समितिका उपसभापति क्षेत्रबहादुर रोकाहा, स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका निर्वतमान अध्यक्ष टुकराज अर्याल, समाजसेवी पितम बहादुर जि.सीले सबैको सहकार्यबाट मात्रै गाउँपालिकाको विकास गर्न सकिने बताउँदै आवश्यक सहयोग गर्ने बताए । कार्यक्रममा यामबहादुर गुरुङ, खेमबहादुर गुरुङ, बेलकुमारी गुरुङ, कमलादेवी गुरुङ, भीमबहादुर थापा, गिता गुरुङ, धनबहादुर खत्री, टौमाया गुरुङ, गुुमाकुमारी परियार लगायतले खानेपानी, कृषि, गुणस्तरिय शिक्षा, सडकबाटो लगायतका विषयमा जिज्ञासा एंव सुझाव राखेका थिए । वडागत उठेका जिज्ञासाको जवाफ वडा नं २ का अध्यक्ष धनबहादुर गुरुङले दिएका थिए । गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सपना गुरुङले स्वागत मन्तव्य र रेडियो स्याङ्जा एवं स्याङ्जा टेलिभिजनका प्रमुख व्यवस्थापक रमेश गोदारले कार्यक्रम संचालन गरेका थिए ।

 

प्रतिक्रिया