वालिङमा मेलमिलापकर्ताको लागि एक दिवशीय प्रशिक्षण

मणी प्रसाद अर्याल,
वालिङ ।
स्याङ्जाको वालिङमा मेलमिलाप कर्ताहरुका लागि एक दिवशीय प्रशिक्षण कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा मेलमिलाप कर्ताहरुका लागि एक दिवशीय प्रशिक्षण कार्यक्रम आज सोमबार गरिएको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै स्याङ्जा जिल्ला न्यायाधिश वासुदेव पौडेलले मेलमिलाप पुण्यको काम भएको बताए । जिल्ला न्यायाधिश पौडेलले मेलमिलापको काम पूण्यको काम भएकाले राम्रोसँग निरुपण गरेर जान मेलमिलाप कर्ताहरुलाई अनुरोध गरे । गत हप्ता आँधिखोला गाउँपालिकाबाट सुरु गरेको यात्रा वालिङ आएको बताउँदै जिल्ला न्यायाधिश पौडेलले नगरपालिकाले यति धेरै मेलमिलाप कर्ता उत्पादन गरेको छ, अवस्य पनि न्यायीक सेवा प्रभावकारी बन्ने ंव्यक्त गरे । वालिङ विवाद हुने पालिकामा पर्ने उल्लेख गर्दै उनले आगामी दिनमा जिल्लामा आउने मुद्दा न्यून हुने विश्वास व्यक्त गरे । न्यायिक कार्य सुत्रवत नहुने भन्दै जिल्ला न्यायाधिश पौडेलले के कस्तो रुपमा आउँछ त्यही अनुरुप निरुपण गर्नुपर्ने उल्लेख गरे ।
गतवर्ष वालिङ नगरपालिकामा भएका न्यायीक गतिविधिसहित कार्यक्रमको जानकारी पालिकाले गराएको छ । आर्थिकवर्ष २०८०÷०८१ मा जम्मा ६६ वटा मुद्दा आएको र ३४ वटा मुद्दा नगरपालिकामा र ३२ वटा वडाहरुमा मेलमिलाप कर्ताहरुकाबीचमा आएको नगरपालिकाले जनाएको छ । यसमध्ये ३ वटा मुद्दा अदालत पठाइएको र बाँकि नगरपालिका तथा मेलमिलापकर्ताहरुबाट निरुपण गरिएको छ ।
नगरपालिकाका १४ वटै वडामा गरी १ सय १ जना मेलमिलाप कर्ता छन् । सबै मेलमिलापकर्ताहरुलाई कालो कोट प्रदान गरिएको छ भने वडा नम्वर ७ का हुमाकान्त रेग्मी र १४ का लुकामाया पाठकलाई उत्कृष्ट काम गरे वापत प्रशँसा पत्रले सम्मान गरिएको छ ।
कार्यक्रमको समापन गर्दै नगरप्रमुख कृष्ण खाँणले स्थानीयतहले न्यायीक सेवाको काम गर्न पाउनु राम्रो अवसर भएको बताए । यो अवसरको सदुपयोग गर्दै नगरप्रमुख खाँणले न्याय नपाए वालिङ जानु भन्ने सन्देश दिने उल्लेख गरे । आज प्रदान गरिएको कोटको सम्मान गर्दै मेलमिलापकर्ताहरुले चुस्त दुरुस्त न्यायीक सेवा दिने विश्वास नगरप्रमुख खाँणले व्यक्त गरे ।
प्रतिक्रिया