अबैध कोष खेलाएर करोडौ रकम हिनामिना

वालिङ ।
नेपाल सरकारले हुण्डी, ढुकुटी र कोष संचालनलाई अबैध धन्दा मान्दै आएको छ । सरकारले अबैध मान्दै आएको त्यस्ता प्रकारका कारोवारबाट धेरै नागरिकहरु ठगिदै आएको खबरहरु छन् । तर पनि यस्ता प्रकारका धन्दाहरु न्युनिकरण गर्न राज्यले सकेको छैन । त्यस्तै घट्ना अहिले स्याङ्जाको वालिङ १ त्रियासीमा घटेको छ । झण्डै ३० बर्षदेखी संचालन गरिदै आएको कोषबाट सिंगो वडावासी ठगिएका छन् ।
स्याङ्जाको वालिङ १ त्रियासीमा अबैध कोष खेलाएर करोडौ रकम हिनामिना भएको खबर बाहिरीएपछि ठगिएको महशुष बल्ल स्थानीयले गरेका छन् । समाजका टाठाबाठाले चलाउदै आएको अबैध कोषमा ठगिएको महशुष गरेपछि स्थानीयहरु आक्रोसित भएका छन् । कोषको रकम हिनामिना पारेको भन्दै स्थानीयले संर्घष समिति नै गठन गरेर आन्दोलन शुरु गरेका छन् । त्रियासी कोष नाम राखेर अबैध तबरले खेलाइएको थियो । ४ वर्षदेखि ३ करोड रकम कोषका बचतकर्ताले नपाएपछि संर्घष समिति नै गठन गरेर आन्दोलन सुरु गरेका हुन् ।

कोषको व्यवस्थापन समितिसंग बारम्बार छलफल गर्दै आएको संर्घष समितिले त्रियासीमा बृहत भेला तथा छलफल कार्यक्रम गरेका छन् । कार्यक्रममा कोषका पिडितहरुले खाईनखाई रकम जम्मा गरेको रकम अहिले सम्मपनि न सावाँ न व्याज पाउन नसकेको भन्दै आक्रोस पोखेका थिए । कोष पिडित लक्ष्मी पोख्ररेलले आँपूm २०६० सालदेखि कोष खेल्दै आएको र विगत ४ वर्षदेखि आँफूले पाउने ५ लाख रकमको न व्याज न सावा नै पाउन नसकेको भन्दै गुनासो व्यक्त गरीन् । नीजि विद्यालयमा पढाएर महिनाको ३ हजार तलबबाट कटाएर कोषमा बचत गरेको रकम अहिले अलपत्र पारिदिएको उनको गुनासो छ ।

२०५० सालमा स्थापना गरिएको त्रियासी कोषमा त्रियासी तथा आसपासका झण्डै २ सय जनाले पैसा जम्मा गरेका थिए । कोरोना शुरु भएपछि कोषको कारोबार हुन सकेन् त्यस यता कोषको कुनै लेखाजोखा नभएपछि लगानी कर्ता आक्रोशित भएका हुन् । अर्का कोष पिडित तारापति काफ्लेले आँफूले कोषबाट ९ लाख पाउनुपर्ने बताए । आफ्नो गाँस काटेर भविष्यका लागी भनी जोहो गरेको रकम कोषमा जम्मा गरेको बताए । सबै पिडितहरुको एउटै गुनासो छ हामीले दुख गरेर जम्मा गरेको रकम कहिले पाइन्छ ?

पिडितहरुले कोष व्यवस्थापन गर्दै आएकाहरुले आँफू खूसी रकम लगानी गर्ने, कोषमा आवद्ध भएका सेयर सदस्यहरुलाई कुनै सल्लाह र जानकारी नगराईकन रकम ऋणीलाई लगानी गरेको र अहिले ति ऋणीहरुबाट रकम असुली नहुँदा समस्या भएको बताएका छन् । कोषमा रकम लिन भएकाहरुलाई अधिकांसको ऋणी र बचत कर्ताको तम्सुक बनाईएको छ । तम्सुक बनाईएपनि ऋणीले रकम असुल गर्न अटेर गर्ने पैसा माग्दा धम्की दिने गरेको पिडितहरुले गुनासो गरेका छन् । तत्कालिन समय २०७७ मा कोषका बचतकर्ताको रकम ऋणीबाट उठाउन सहजीकरण समिति गठन गरिएको थियो ।

उक्त समितिमा हुमनाथ रेग्मी, लक्ष्मीप्रसाद रेग्मी, खेमनारायण रेग्मी, तुल्सीराम ढुंगाना, धु्रवशर्मा पंगेनी, ढाका सेन, गुप्तबहादुर खांण र तत्कालिन जनप्रतिनिधिबाट केदार काफ्ले रहेका थिए । उक्त सहजीकरण समितिबाट समेत कुनै सहजीकरण नभएपछि अहिले संर्घष समिति गठन गरेर अगाडि बढेको पिडितले बताएका छन् । गत शनिबार भएको छलफलले पुनः समन्वय समिति गठन गरेको छ ।

संघर्ष समितिको संयोजकमा अग्निप्रसाद रेग्मी, उपाध्यक्षमा रेशम रेग्मी, सचिवमा लक्ष्मी पोख्ररेल र सदस्यहरुमा भुमिनन्द रेग्मी, रनबहादुर लामिछाने, रुक्मागत रेग्मी र युवराज रेग्मी रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा रुक्मागत रेग्मीलाई चयन गरीएको छ भने लेखा सदस्यमा युवराज रेग्मी र माृतकाप्रसाद अर्याल रहेका छन् ।

यो समिति र तत्कालिन सहजीकरण समिति मिलेर ऋणीको घरघरमा जाने ऋण असुल गरी जेठ मसान्त सम्म लगानीकर्तालाई रकम उपलब्ध गराउने सहमति भएको कोष पिडित लक्ष्मी पोख्ररेलले बताइन् । तत्कालिन समयमा कोष व्यवस्थापनमा रहेका हुमनाथ रेग्मीले आँफूले पनि कोषबाट पाउनुपर्ने रकम नपाएको भन्दै आँफूले मात्रै हिसाब राख्ने काम गरेको जिकिर गरेका छन् । कोष व्यवस्थापन गर्नेहरुले हरेक कोषबाट १ हजार देखी १५ सयसम्म लिने गरेको खुलेको छ । सामान्य नागरिकलाई अबैध कोषमा रकम जम्मा गर्न लगाई समाजका अगुवाहरुले रकम हिनामिना गरेको बताइएको छ । मासिक झण्डै २५ ओटा सम्म कोषहरु संचालनमा रहेका र फरक—फरक कोषका फरक—फरक समिति रहदै आएको बुझिएको छ । संघर्ष समितिले सबै हिसाबकिताव फेला पारेपछि त्यस्ता व्याक्तिहरुको नाम सार्वजनिक गर्ने समेत चेतावनी दिएका छन् । सरकारलाई कुनै राजस्व नतिरी संचालन गरिएको कोष कति सुरक्षित हुन्छ वा असुरक्षित हुन्छ भन्ने समेत हेक्का राख्न नजानेका सामान्य नागरिकबाट समाजका अगुवाहरुले गरेको यो हर्कतले राज्यलाई त ठगेका नै छन् । स्थानीय सर्वसाधरणलाई समेत ठग्न पुगेका छन् ।

 

प्रतिक्रिया