निर्भीकतापूर्वक गोली थाप्ने ‘खगेन्द्र सर’

कमल कोइराला ।
अनेक रोगसँग वर्षाैँदेखि पौँठाजोरी खेल्दै आइरहेका लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद आदरणीय खगेन्द्र सर यही जेठ १ गतेको मिर्मिरे नै अकस्मात् सन्ध्यामा रूपान्तरण भएको आभास दिने गरी शान्त मुद्रामा सदाका लागि ईश्वरालयतर्फ प्रस्थान गरे । महामानव बीपी कोइरालाको नेतृत्वमा गठित जननिर्वाचित सरकारलाई वि.सं. २०१७ साल पौष १ गते अपदस्थ गर्ने तत्कालीन राजा महेन्द्रको निरङ्कुश कदमबाट प्रजातन्त्रप्रति हुरुक्क भएर राजनीतिमा होमिएका स्याङ्जाका प्रजातन्त्रवादी धरोहर थिए रेग्मी । वि.सं. २००६ श्रावण १५ गते स्याङ्जाको गेझवासमा जन्मिएका उनी नेपाली काग्रेस स्याङ्जाको राजनीतिमा चिनाइरहनुपर्ने व्यक्ति होइनन् । विद्यार्थी अवस्थामा वि.सं. २०२० सालको दशकको प्रारम्भबाटै नेपाली काग्रेसको राजनीतिमा होमिएका रेग्मीको नेपाली काग्रेस, स्याङ्जाको इतिहासमा पृथक् पहिचान स्थापित छ ।

खगेन्द्रराज रेग्मी पुख्र्यौली वंशाणुक्रमको पोयो पक्रेर राजनीतिक बिरासतको मोर्चामा समाहित भएका व्यक्ति भने थिएनन् । उनी त तत्कालीन परिस्थितिजन्य कारणबाट स्वतःस्फूर्त रूपमा अभिप्रेरित भई किशोरवयकालीन विद्यार्थी अवस्थादेखि नै अकस्मात् राजनीतिमा हाम्फालेका व्यक्ति थिए । प्रजातन्त्र स्थापनाको मिर्मिरेदेखि नै राजनीतिक केन्द्रस्थलीका रूपमा सुविख्यात स्याङ्जाको सतौँहटियास्थित मातृभूमि विद्यामन्दिर हाइस्कुलमा प्रवेश गरेदेखि नै उनीभित्र राजनीतिक चेतनाको बीजाङ्कृरित भएको थियो । त्यसैबाट पल्लवित र पुष्पित हुँदै उनी कालान्तरमा जिल्लाका विशाल राजनीतिक वटवृक्षमा रूपान्तरित भए । राजनीतिसँगै स्याङ्जाको शैक्षिक क्षेत्रको समुन्नयनमा पनि उनको नाम अग्रस्थानमा सुरक्षित छ । त्यसो त नेपाली काग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईका वरिष्ठ निजी सहायक, नेपाली काग्रेस स्याङ्जाका सभापति हुँदै राष्ट्रिय सभाको सांसदसम्म भएर राष्ट्रिय राजनीतिमा समेत आफ्नो छवि प्रदर्शन गरिसकेका राजनीतिकर्मी थिए उनी ।

आफ्नो जीवनको प्रमुख सोख पूरा गर्न राजनीतिमार्फत जनसेवामा समर्पित हुनु खगेन्द्रराज रेग्मीको प्रमुख जीवनचिनारी थियो । तर, राजनीतिका अतिरिक्त उनले शिक्षण सेवामा पनि आफ्नो जीवनका सर्वाधिक ऊर्जाशील समय व्यतीत गरे । मनकामना मावि पेल्काचौर, त्रिभुवन आदर्श मावि स्याङ्जा र दहथुम मावि दहथुममा गरी उनले झन्डै तेइस वर्ष आफ्नो कालखण्डका एकजना उम्दा गणित र विज्ञान शिक्षकका रूपमा कार्य गरे । शिक्षण सेवामा समर्पित हुने क्रममा हजारौँ शिष्यहरूको आदरसत्कार र स्नेह प्राप्त गरी उनी सबैका प्रिय सम्बोधन ‘खगेन्द्र सर’ बन्न पुगे । आजीवन उनको सम्पूर्ण चिनारी दिने सर्वप्रिय सम्बोधन नै ‘खगेन्द्र सर’ रह्यो । नेपालको राजनीतिक र शैक्षिक दुवै क्षेत्रमा उनले सयौँ योग्य र क्षमतावान् जनशक्ति उत्पादन गर्नमा सहयोग पु¥याए । उनको शिक्षाबाट दीक्षित विद्यार्थीहरू आआफ्ना क्षेत्रमा सफल देखिन्छन् । शैक्षिक क्षेत्रमा व्यावसायिक निपुणता हासिल गर्दै उनले शिक्षणअवधिमै आफूभित्र प्रशासनिक क्षमता पनि अभिवृद्धि गर्दै गए । शिक्षा र राजनीति दुवै विचार सम्प्रेषणमा आधारित वाणीप्रधान क्षेत्र हुन् । त्यसैले शिक्षा र राजनीति दुवै क्षेत्रमा संलग्न हुँदा उनले प्राप्त गरेको ज्ञान, सीप र व्यावसायिक निपुणता परिपूरक रूपमा कामयाबी रहे ।

शिक्षण सेवामा संलग्न हुँदा उनी समानान्तर रूपमा राजनीतिमा पनि उत्तिकै क्रियाशील भए । तर, सिद्धान्त, उद्देश्य, समर्पण आदि सम्पूर्ण दृष्टिले आजभोलिका पार्टीका झोले शिक्षकहरूभन्दा उनको पार्टीगत क्रियाशीलता भिन्न रह्यो । विद्यार्थीहरूलाई तत्कालीन निरङ्कुशतन्त्रका विरुद्ध उभिएर प्रजातन्त्रका पक्षमा लाग्न अघिपछि अभिप्रेरित गरिरहे पनि उनले कक्षाकोठामा प्रवेश गरेपछि पढाउनै छाडेर राजनीतिचाहिँ कदापि गरेनन् । खगेन्द्रराज रेग्मी शिक्षण र राजनीतिमा संलग्न रहँदा दुवै क्षेत्रमा जनशक्तिको कमी थियो । देशको शासनव्यवस्था तथा जनताको शैक्षिक, आर्थिक र सामाजिक स्थिति अत्यन्त दयनीय अवस्थाबाट गुज्रिरहेको थियो । तसर्थ त्यस्तो दुर्दान्तपूर्ण सामाजिक अवस्थामा आमूल परिवर्तन ल्याउन शिक्षक राजनीतिमा पनि समर्पित रहनु अपरिहार्यजस्तै थियो ।

आफू राजनीतिमा सक्रिय रहेका समयमा खगेन्द्रराज रेग्मी भूमिगत रूपमा पार्टी संगठनका गतिविधिलाई तीव्रता दिइरहन्थे । प्रहरी प्रशासनले पिछा र कडा निगरानी गर्ने राजनीतिक व्यक्तिहरूको सूचीमा अग्रपङ्क्तिमै सूचीकृत थिए उनी । विद्यालयमा पढाइरहेकै अवस्थामा पनि उनी पटकपटक प्रशासनको गिरफ्तारीमा पर्थे । शिक्षण पेसामा संलग्न रहेका अवस्थामा पटकपटक हिरासत र जेलजीवन बिताउनुपरेका कारण उनी आफ्नो सरकारी सेवालाई स्थायित्व दिने कार्यतर्फ अग्रसर हुनै पाएनन् । नेपाली काग्रेस स्याङ्जाको संगठन निर्माण र त्यसको सुदृढीकरणमा खगेन्द्रराज रेग्मीको भूमिका अतुलनीय रह्यो । उनले निर्माण गरेको संगठनको जरा धरातलको अतुल गहिराइमा सुदृढ भएर रहेकै कारण अहिलेसम्म पनि स्याङ्जामा नेपाली काग्रेसको वटवृक्षको अस्तित्व सुरक्षित छ । गठबन्धनका नाममा देखिएको घृणित र निरर्थक प्रतिस्पर्धाको दलिय अभ्यासका कारण चुनावी अंकगणितमा सामान्य उतारचढाव देखिएजस्तो प्रतीत भए पनि स्याङ्जामा नेपाली काग्रेसको जनाधार आजपर्यन्त बलियै मानिन्छ ।

यसमा खगेन्द्रराज रेग्मीको त्याग, तपस्या, समर्पण, ऊर्जा, उत्साह, पसिना, रगत, श्रम सबै मिसिएको छ । नेपाली काग्रेसरूपी वटवृक्षको जराजरा र रेसारेसामा प्राण सञ्चरण गर्न उनले सर्वस्व बिर्सिएर कठोर संघर्ष गरेको कुरा व्यक्त गर्न कसैले कन्जुस्याइँ गर्नुहुँदैन । वास्तवमा स्याङ्जामा खगेन्द्रराज रेग्मी र अन्य धेरै जुझारु युवाहरूको नेतृत्वमा भएका राजनीतिक र सांगठानिक गतिविधिहरूको सूक्ष्म मूल्याङ्कन गरेरै तत्कालीन अवस्थामा महामानव बीपी कोइरालाका मुखबाट ‘पार्टीको संगठन हेर्न स्याङ्जा जानुपर्छ ।’ भन्ने वाणी प्रस्फुटन भएको हो ।
खगेन्द्रराज रेग्मी यातायात र सञ्चारका कुनै पनि आधुनिक साधनहरू उपलब्ध नभएका समयमा स्याङ्जा जिल्लाका हरेक गाउँबस्तीमा पुगेर पार्टीको संगठन सुदृढीकरण गर्ने व्यक्ति थिए । उनले निर्माण गरेको संघर्षको बलियो जगमा निर्मित नेपाली काग्रेसरुपी घरमा पछिल्ला पुस्ताका नेताले सामान्य रङरोगन मात्रै गरेका हुन् । कसैको मुख नहेरी केवल रूखका लागि उनले गरेको दुःखका बारेमा पार्टीका अधिकांश नवप्रवेशीहरूलाई जानकारी नहुन पनि सक्छ ।

नेपाली काग्रेस अहिले रूखको भन्दा गुटको राजनीतिले नराम्ररी थिलथिलिएको छ । काँधमा रूख बोकेर हिँड्नुपर्नेहरू गुट बोकेर हिँडिरहेका छन् । यसकै कारण संकटको डिलमा उभिएको काग्रेस गल्याम्म ढल्ने स्थिति निम्तिने खतरा बढेको छ । आफू संलग्न राजनीतिक दललाई नै घरपरिवार ठानेर कार्य गर्नुपर्ने ठाउँमा अहिले त आफ्नो परिवारलाई नै राजनीतिक दलमा रूपान्तरण गर्न दुष्प्रयत्न गर्ने संङ्कीर्ण भावनाबाट नेताहरू अनुप्राणित छन् । आजभोलि पार्टीभित्र आफ्ना परिवारका लागि पदीय भागबन्डाको कोटा मिलाएर राजनीति सफल भयो भन्नेहरूको बिगबिगी छ । तर, यस्ता अनेकौँ बेथितिहरूका भिडमा खगेन्द्रराज रेग्मी भने नेपाली काग्रेस पार्टीलाई नै आफ्नो परिवार ठानेर कार्य गर्ने लगनशील, कर्मठ, जुझारु र सिद्धान्तनिष्ठ राजनीतिक योद्धा थिए ।

आजभोलि नेपाली राजनीति धनवान् र बाहुबलीको कब्जामा पुगेको छ । झोले, ढोके, हुक्के, चिलिमे, डम्फे, मुन्द्रे, साङ्ले र जगल्टेहरूलाई पाश्र्वर्ती बनाएर तिनीहरूकै निर्देशनमा नेताहरू सञ्चालित भइदिँदा नेपालको राजनीतिक क्षेत्र सैद्धान्तिक रूपमा स्खलित हुँदै गइरहेको छ । बीपी कोइरालाले परिकल्पना गरेजस्तो कुनै पनि सैद्धान्तिक अवधारणामा अहिले नेपाली काग्रेस चलेको देखिँदैन । सैद्धान्तिक रूपमा स्खलित हुँदाहुँदै अहिले पार्टी पूर्णरूपेण विपथगामिताको आत्मश्लाघामा रमाइरहेको छ । आफ्नो सैद्धान्तिक मार्गदर्शनविपरीत अस्वस्थ गठबन्धनको घिनलाग्दो अभ्यासले पनि पार्टीको पहिचान र अस्तित्व नै धूलिसात् हुने क्रम बढ्दो छ । शीर्ष नेताका अगाडि पैसाको ट्रक लगेर पल्टाइदिन सक्ने हैसियत भएकाहरू रातारात नेपाली काग्रेसका तथाकथित ठूला नेता टोपलिन थालेका छन् । आदर्श, निष्ठा, त्याग, तपस्या, समर्पण, बलिदान, कार्यक्षमताजस्ता राजनीतिका सार्वभौम सैद्धान्तिक मूल्यमान्यताहरूको परिधिमा रहनेहरूका लागि राजनीति दुरूह भइसकेको छ ।

वास्तवमा खगेन्द्रराज रेग्मीले अत्यन्त प्रतिकूल परिस्थितिमा पनि नेपाली काग्रेसका नियमित गतिविधिसम्बन्धी सामग्रीहरू सुरक्षित राख्दै पार्टीको संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएका हुन् । विषम परिस्थितिमा उनले पार्टीलाई पु¥र्याएको योगदान अनुसार उनको मूल्याङ्कन गरिएन । अर्काे निर्वाचित क्षेत्रको व्यक्ति आएर उनको क्षेत्रमा सधैँ राइँदाइँ गर्न खोज्दा उनी सदैव अन्यायमा परिरहे । उनको राजनीतिक जीवनमा ‘नजिकैको तीर्थ हेला’ भन्ने उखान चरितार्थ भइरह्यो । धेरै अवसरका स्वाभाविक दाबेदार रहँदारहँदै पनि राष्ट्रिय राजनीतिमा प्रवेश पाउनबाट उनी वारम्वार चिप्ल्याइए । २०४८ देखि २०६४ सम्मका पटकपटकका निर्वाचनमा शीर्ष नेताहरूबाटै टिकट सुनिश्चितताको आश्वासन दिएर अन्त्यमा उनलाई झुक्याइयो । तैपनि २०४८ देखि २०६७ सम्म उनी कुनै न कुनै रूपमा स्याङ्जा काग्रेसको केन्द्रीय चर्चापात्र बनिरहे । यसबीचमा तीन कार्यकालसम्म त उनी पार्टीका जिल्ला सभापति पनि थिए ।

खगेन्द्रराज रेग्मी चट्टानी दृढता भएका व्यक्ति थिए । उनको जेलजीवन पनि निकै कष्टकर देखिन्छ । जेलजीवन व्यतीत गर्ने क्रममा उनले पाएको पीडा र यातना सम्भवतः नेपालका कमै राजबन्दीले मात्रै पाएका छन् । जेलजीवनका क्रममा उनले पाएको यातना र पीडाका कथाव्यथा सुन्दा सुन्नेहरूकै आँखा अश्रुपूरित हुन्छन् । यातना सम्झँदा मात्रै पनि आङ सिरिङ्ङ हुन्छ । वास्तवमा यी सम्पूर्ण आततायी यातना र शृङ्खलाबद्ध सजायको प्रत्यक्ष सिकार भएर भुक्तमान खेपेका उनले कसरी सहे हुन् ? सम्झँदा पनि अचम्म लाग्छ । जेलजीवनका क्रममा प्रहरी–प्रशासनको कठोर यातना सहेर पनि पार्टी संगठनको गोप्यता कायम राख्न उनले लिएको अडान स्तुत्य छ । प्रतिबन्धित अवस्थाका भूमिगत गतिविधिलाई गोप्य राख्न दर्जनौँ यातना सहेर पनि उनले निरन्तरता दिएको राजनीतिक अविश्रान्तता देख्दा मलाई अहिले राजनीति गर्ने धनबली र बाहुबलीहरूले प्रदर्शन गर्ने ताउरमाउरको सम्झना आउँछ ।

वास्तवमा खगेन्द्रराज रेग्मीविनाको नेपाली काग्रेस स्याङ्जाको इतिहास अपूर्ण रहन्छ । उनी नेपाली काग्रेस स्याङ्जाको तरकारीरूपी राजनीतिका नुन हुन् भन्दा पनि अतिशयोक्ति होओइन । प्रजातन्त्रको वकालत गर्ने नेपालका राजनीतिक दलहरूमाथि पूर्ण रूपमा प्रतिबन्ध लागेको र राजनीतिमा संलग्न व्यक्तिहरू राज्यको कडा निगरानीमा रहेको अवस्थामा जनाधिकारको रक्षाका लागि दिलोज्यानले समर्पित भएर लाग्नु पक्कै पनि ‘अम्बाको रूखमा बाँदर चढाइ’ थिएन । मुखमा माड लगाउन तथा आङ ढाक्ने एकसरो कपडाका लागि कठोर संघर्ष गर्नुपर्ने उनीजस्ता निम्न मध्यमवर्गीय पारिवारिक पृष्ठभूमि भएका व्यक्तिहरूका लागि तत्कालीन समयमा राजनीति गर्नु पनि सर्वथा सहज विषय थिएन । तत्कालीन अवस्थामा राजनीतिले दुई छाक टार्न सहयोग पु¥र्याउने कुरा त धेरै टाढाको विषय रह्यो, छाक टार्न भनी व्यवस्था गरिएको सामलतुमल पनि खोसिदिने अवस्था विद्यमान थियो । राजनीतिले भात खुवाउने होइन कि उल्टै राजनीतिलाई नै भात खुवाउनुपर्ने विडम्बनापूर्ण दुर्नियति भोग्न अभिशप्त थिए राजनीतिकर्मीहरू ।

सशस्त्र द्वन्द्वले निम्त्याएको संकटकालीन अवधिमा माओवादी ज्यादतीबाट भयाक्रान्त भएर पार्टीका अधिकांश नेताहरू राजधानीमा सुरक्षित आश्रय खोजिरहेका वेला उनी भने स्याङ्जाको गेझबासस्थित आफ्नै पुख्र्यौली घरमा बसिरहेका थिए । आफूमाथि उच्च सुरक्षा जोखिम छ भन्ने कुरा जान्दाजान्दै पनि निर्भीकतापूर्वक घरमै रहेका वेला उनीमाथि २०५८ माघ २७ गते साँझ गोलीप्रहार भयो । शरीरका संवेदनशील अंगमा लक्षित गरी प्रहार गरिएका तीन÷तीनओटा गोलीको सिकार बन्दा पनि सौभाग्यवश उनी जीवित रहन सफल भए । मृत्युशैयमा पुगेर पनि बौरिएका उनले वास्तवमा त्यतिवेला पुनर्जीवन नै प्राप्त गरेका हुन् । यसरी पार्टीका हरेक गतिविधिमा अहर्निश समर्पित रहँदा पटकपटक मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल उनी नेपाली काँग्रेसका तर्फबाट राष्ट्रकल्याण र जनाधिकारका लागि संघर्र्ष गर्ने जिउँदा सहिद हुन् ।

खगेन्द्रराज रेग्मीको राजनीतिक जीवन सफल बनाउन उनकी आमा र धर्मपत्नीले गरेको योगदानलाई पनि पटक्कै बिर्सन मिल्दैन । हरेक पुरुषको सफलताका पछाडि अदृश्य रूपमा महिलाहरूको हात रहेको हुन्छ । उनको सफलताका पछाडि पनि उनकी अर्धाङगिनी तुलसीकुमारी रेग्मीको भूमिकाको सर्वाेपरि स्थान थियो । आफूले प्रत्यक्ष रूपमा राजनीति नबुझे पनि आफ्ना पतिका हरेक राजनीतिक अभियानलाई सफलीभूत तुल्याउने कार्यमा उनले सराहनीय दायित्व पूरा गरिन् । पति–पत्नी मिलेर राजनीति सफल पार्ने अभियानमा समर्पित हुँदा उनीहरूका सन्तान पनि भएनन् । संकटकालका वेला माओवादीहरूले घरमै आएर उनीमाथि गोली प्रहार गर्दा एक्लै प्रतिकार गर्न तम्सने एउटी जुझारु र साहसी महिलाका रूपमा तुलसीकुमारीको महत्वपूर्ण योगदान रह्यो । घाइते पतिको उपचारमा अहोरात्र समर्पित हुँदै आजीवन सुखदुःखकी सहयात्री बनेर उनले आफ्ना पतिका अमिट दर्दहरू न्यूनीकरण गर्न सहयोग पुर्याइरहिन् । आफूले घरगृहस्थीका सम्पूर्ण व्यवहारहरू वहन गरी आफ्ना पति र सन्तानलाई सफल बनाउन योगदान गर्ने यस्ता नारीहरूलाई यो पङ्क्तिकार ‘नेपथ्यका नारी’ भन्न मन पराउँछ ।

वास्तवमा खगेन्द्रराज रेग्मी र उनीभन्दा अगाडिका पुस्ताले कठोर संघर्ष गरेर राज्यको शासनप्रणाली नै परिवर्तन गरिदिइसकेका कारण अहिले राजनीति गर्नेहरूलाई धेरै सहज भएको छ । झन्डा बोकेर सडकमा जिन्दावाद र मुर्दावादका नारा लगाउँदैमा; सडकका एकाध ढुङ्गा टिपेर प्रहार गर्दैमा र चर्का भाषण गर्दैमा राजनीतिक जिम्मेवारी पूरा गरेको ठहरिँदैन । त्यसका लागि दृढ इच्छाशक्ति, निरन्तरको साधना, त्याग, तपस्या, धैर्य, जिम्मेवारी, निष्ठा, दृढता र आदर्शलाई आत्मसात् गर्दै तदनुकूल आचरण पनि प्रदर्शन गर्नुपर्छ भन्ने शिक्षा उनीबाट अहिलेका पुस्ताले ग्रहण गर्नु वाञ्छनीय देखिन्छ ।

बीपी कोइरालाको राजनीतिक जीवनदर्शनबाट आप्लावित भएर नेपाली काग्रेसको राजनीतिमा लागेका खगेन्द्रराज रेग्मी उच्चपदस्थ नेताहरूप्रति सम्मानभाव व्यक्त गर्ने र कार्यकर्तालाई प्रेमपूर्ण रूपमा संगठित गर्न सक्ने नेतृत्वदायी क्षमताले युक्त नेता थिए् । बीपी कोइरालाले समेत ठूलो विश्वास र भरोसा गर्ने नेताका रूपमा चिनिएका उनले प्रतिबन्धित कालमा पार्टीको संगठानात्मक मोर्चा सम्हाल्न भूमिगत रूपमा जिल्लाभरि गरेको सांगठनिक गतिविधिबाट पनि उनको व्यक्तित्व र कार्यक्षमताबारे धेरै कुरा प्रस्ट हुन्छ । भूमिगत कालमा देशदौडाहामा निस्किएका उनले पार्टीका धेरै वर्तमान शीर्ष नेताहरूलाई आफ्ना घरमा शरण दिएर राखेका थिए । आफ्ना घरमा शरण लिएर गएका नेताहरू देशको सर्वोच्च कार्यकारी निकायमा पुग्दा पनि उनी आफ्नै गाउँको सामान्य घरमा सन्तोषपूर्वक वार्द्धक्य जीवन व्यतीत गर्दै थिए । जीवनका अन्तिम दिनहरूमा पनि उनलाई अस्पतालको कृत्रिम शैयाभन्दा आफ्नै घरको पिँडीको ओछ्यान प्रिय लाग्यो । आफ्नो शरीरमा धेरै रोगहरूले एकैचोटि डेरा जमाएर ङ्याक्न खोज्दा पनि उनी जीवनपर्यन्त राजनीतिमा यथाशक्य क्रियाशील नै देखिन्थे । उनको क्रियाशीलता देखेर शरीरमा प्रवेश गरेका रोगका विषाणुहरू पनि दिक्क भएझैँ प्रतीत हुन्थ्यो । जिल्लाभरि आयोजना हुने पार्टीका विभिन्न कार्यक्रमहरूमा उनको अभिभावकीय भूमिका आजीवन रहिरह्यो । वास्तवमा राजनीतिमा प्रवेश गरी यसैमा आफ्नो भविष्य खोज्ने नवप्रवेशी युवापुस्ताले उनको जीवनदर्शनबाट प्रशस्त भविष्योपयोगी कुराहरू सिक्नु अत्यावश्यक छ ।

प्रजातन्त्र प्राप्तिको संघर्षमा आफूलाई पूर्णरूपेण समर्पित गर्ने स्याङ्जाली राजनीतिज्ञहरूमध्ये मेरा दृष्टिमा खगेन्द्रराज रेग्मी अग्रपङ्क्तिमा गणनीय पात्र थिए । नेपाली काग्रेस स्याङ्जाको इतिहासलाई जीवन्त राख्ने प्रमुख साक्षीका रूपमा उनलाई उपस्थापन गर्न सकिन्छ । स्याङ्जाको काग्रेसी राजनीतिलाई अभिलेखीकरण गर्न चाहनेले उनलाई प्रमुख स्रोतव्यक्ति र आधिकारिक प्रवक्ता मान्दा अन्यथा हुँदैन । तर, अहिले स्याङ्जामा निष्ठा र आदर्शको राजनीति गर्ने व्यक्तिहरूको खडेरी पर्न थालेको छ । सर्वत्र गुट, कित्ता र परिवारवाद व्याप्त भएको अवस्थामा खगेन्द्रराज रेग्मीजस्ता समर्पण, त्याग र निष्ठा भएका नेताहरूको जिल्लामा अभाव खड्किँदै गइरहेको अनुभव गरिएको छ । अहिले नेपाली काग्रेस, स्याङ्जामा पारिवारिक उत्तराधिकारीभन्दा पनि उनको सैद्धान्तिक कर्तव्यनिष्ठता वहन गर्न सक्ने उत्तराधिकारीको टड्कारो आवश्यकता देखिन्छ ।

खगेन्द्रराज रेग्मी र म एउटै वडावासी हौँ । एउटै थुम्केली डाँडाको सिरान र पुछारका बासिन्दा थियौँ हामी । मेरा पिताजीलाई ‘दाइ’ भनेर सम्बोधन गर्ने भएकाले म नाताले उनको गाउँले भतिज हुँ । लेकबेँसी आवतजावत गर्ने क्रममा म बाल्यकालदेखि नै ‘खगेन्द्र सर’ भन्ने आदरसूचक सम्बोधनले पुकार्थे उनलाई । उनी पनि ‘कमल बाबु’ भनेर असाध्यै स्नेहसिक्त सम्बोधन गर्थे मलाई । स्याङ्जास्थित दहथुम माविमा अध्यापन गर्दादेखि नै उनी हाम्रा चर्चाका पात्र थिए । यद्यपि म दहथुम माविमा अध्ययन गर्ने समयमा शैक्षणिक पेसाबाट त्यागपत्र दिएर उनी पूर्णकालीन राजनीतिमा समर्पित भइसकेका थिए । त्यसैले म उनको कक्षाकोठाको शिष्य हुन पाइनँ । तर, उनको सिद्धान्त, आदर्श, त्याग, समर्पण र संघर्षपूर्ण जीवन मेरा लागि सदैव अनुप्रेरणीय रहिरहे । यो पङ्क्तिकार दहथुम माविको विद्यार्थी छँदा प्रत्येक महत्वपूर्ण कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा आमन्त्रित हुन्थे । उनको प्रभावोत्तेजक र ओजपूर्ण मन्तव्यबाट म निकै प्रभावित हुन्थेँ । मर्यादित र शिष्ट भाषाशैलीको प्रयोग गरी प्रस्ट वाणीमा गति र यतिको समुचित विन्याससहित शालीनतापूर्वक प्रस्तुत हुने उनको मन्तव्यमा विचित्रको सम्मोहनकला भेटिन्थ्यो ।

सामान्य रोगका संकेत देखिँदा पनि विदेशका सुविधासम्पन्न अस्पतालहरूमा उपचार गराउने प्रशस्त नेताहरू भएको पार्टी नेपाली काग्रेसले उनीजस्ता पार्टीका जुझारु र कर्मठ सिपाहीको स्वास्थ्यावस्थाप्रति खासै चासो र संवेदनशीलता प्रकट गरेको पाइएन । ‘काम पर्दा जर्सी गाई काम सकिएपछि कसाईको खसी कटाइ’ भन्ने नेपाली लोकोक्ति उनको जीवनमा चरितार्थ भइरह्यो । कार्यकर्ताले औधी माया गरे पनि पार्टी नेतृत्वबाट उनी आजीवन उपेक्षाको सिकार बनिरहे । रेग्मी मधुमेह, मिर्गौला, रक्तचाप, प्रोस्टेड, कब्जियत, बाथ, आँखाको समस्या, फोक्साको समस्या, स्पोन्डिलाइटिस, गोलीको घाउ, पेटको समस्या आदिजस्ता झन्डै एकदर्जन समस्याबाट बर्षौदेखि पीडित थिए । जिब्रामा ट्युमर देखिएपछि २०८० असारमा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उनको जिब्राका क्यान्सरको शल्यक्रिया गरिएको थियो । त्यसपछि कहिले स्याङ्जाको गेझवासस्थित घर, कहिले चितवन त कहिले काठमाडौँमा बसी अनेकौँ रोगसँग पौँठाजोरी खेलिरहेका उनको स्वास्थ्यमा आकस्मिक समस्या देखिएपछि २०८१ वैशाखमा उनलाई काठमाडौँको सिभिल अस्पतालमा भर्ना गरियो ।
स्वास्थ्यमा कुनै सुधार नदेखिएपछि आफ्नै इच्छाअनुसार उनलाई वैशाख २१ गते एम्बुलेन्समा राखी स्याङ्जास्थित घरमा ल्याइयो । घरमा रहुन्जेल उनलाई भेट्ने आफन्त र शुभचिन्तकहरूको ओइरो नै लाग्यो । यसरी घरमै रहेर स्वास्थ्यलाभ गरिरहेको अवस्थामा यही जेठ १ गते बिहान उनको असामयिक देहावसान भयो ।

उनको निधनसँगै नेपाली काग्रेस स्याङ्जाको एउटा विशाल वटवृक्ष ढलेको अनुभूति सर्वत्र गरिएको छ । नेपाली काग्रेसलाई अपूरणीय क्षति पुगेको छ । अश्रुपूरित श्रद्धाञ्जलि खगेन्द्र सर ! खगेन्द्र सर ! आजको प्रदीप्त मिर्मिरे नै अकस्मात् सन्ध्यामा रूपान्तरण भएको आभास दिने गरी हजुर सदाका लागि ईश्वरालयतर्फ प्रस्थान गरेको खबरले अत्यन्त शोकविह्वल छु । आफैँ अस्वस्थतासँग संघर्ष गरिरहेका कारण यहाँको अन्तिम संस्कारमा सहभागी हुन पनि असमर्थ रहेँ । हजुरको दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु…!! यहाँको भौतिक अस्तित्व नरहे पनि यहाँसँग हाम्रो विमर्श भने निरन्तर रहिरहनेछ…!!

प्रतिक्रिया