क्षयरोगमुक्त पालिका बनाउने अभियानमा तिव्रता

भीरकोट ।

भीरकोट नगरपालिकालाई क्षयरोगमुक्त नगरपालिका बनाउने अभियानले तिव्रता पाएको छ । सरकारले भीरकोटसहित स्याङ्जाका ३ पालिकालाई क्षयरोगमुक्त पालिका बनाउन छनोट गरेको छ । नगरपालिकाले अबको ५ वर्षमा भीरकोटलाई क्षयरोगमुक्त बनाउने गरी काम थालेको छ । स्याङ्जा क्षयरोगको उच्च जोखिममा रहेको जिल्ला मानिन्छ । स्थानीय साधन र स्रोतको प्रयोग गरेर क्षयरोग निवारणका लागि दोश्रो चरणमा जिल्लाको भीरकोट र गल्याङ छनोट भएका छन् । भीरकोटको वडा नं. ६ मा सम्पन्न भएको वडास्तरीय सुक्ष्म गोष्ठीलाई समापन गर्दै नगर उपप्रमुख भगवती अर्यालले भनिन्, ‘क्षयरोग मुक्त गर्न चुनौती धेरै छन् । तर हामी वार्षिक योजना बनाएर काम गर्न थालेका छौं ।’

क्षयरोगमुक्त पालिका बनाउन प्रतिवर्ष प्रति १० लाखमा १ भन्दा कम बिरामी भएमा अन्त्य भएको मानिनेछ । क्षयरोग निवारणका लागि स्थानीय पालिकामा नगरप्रमुखको संयोजकत्वमा नगर उपप्रमुख, वडाध्यक्ष, शिक्षक, स्वास्थ्य संस्थाका कर्मचारीलगायतको टोली र वडास्तरमा समेत समिति गठन गरी काम सुरु गरिएको छ । कार्यक्रमअन्तर्गत पालिकाले क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शंका लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, नगर र वडास्तरमा समिति गठनलगायतका कार्य थालेको छ ।
नगरपालिकाले पाँच वर्षमा क्षयरोग मुक्त गर्ने गरी पञ्चवर्षीय योजना बनाएर काम थालेको छ । सरकारले दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म नेपाललाई क्षयरोग मुक्त बनाउने अभियानअन्तर्गत यो अभियान थालेको हो । भीरकोट नगरपालिकाले वडा नं २ र ७ बाहेक सबै वडामा यो अभियान सुरु गरीसकेको छ । गरिबी, बसाइँ सराइलगायतका समस्याका कारण क्षयरोग फैलँदै गएको छ । स्वास्थ्य संस्थामा यसको उपचार निःशुल्क हुन्छ । स्वास्थ्य संस्थाले हरेक वर्ष क्षयरोग फैलन नदिन विभिन्न कार्यक्रम गर्ने, क्षयरोगीको सम्पर्क र आसपासमा रहेकालाई परीक्षणको दायरामा ल्याउने कार्य गर्दै आएका छन् । सबै क्षयरोगका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याएर क्षयरोगको अन्त्य गर्न सकिने भए पनि अझै जनचेतनाको कमी, रोग लुकाउने, नियमित औषधि सेवन नगर्ने कारणले क्षयरोग निवारणमा समस्या भएको चिकित्सक बताउँछन् । क्षयरोगका कारण हुने मृत्युदर घटाउन समयमै क्षयरोगको पहिचान आवश्यक रहेको भीरकोटका नगर स्वास्थ्य प्रमुख अञ्जु सापकोटा बताउँछिन् ।

प्रतिक्रिया