विद्युत महशुल बृद्धि बिरुद्ध सांसदहरुको ध्यानाकर्षण
वालिङ ।
बुटवल पावर कम्पनीले विद्युत महशुल बृद्धि गरेपछि गण्डकी प्रदेशका सांसदहरुले पनि ध्यानाकर्षण गरेका छन् । प्रदेश सांसदहरुले छुट्टाछुट्टै विज्ञप्ती निकालेर बीपीसीले विद्युत महशुल बढाएकोमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल, गण्डकी प्रदेशका सांसद कल्पना तिवारी, सांसद महेश भट्टराई र प्रदेशका पुर्व सांसद भागवत प्रकाश मल्लले छुट्टाछुट्टै विज्ञप्ती प्रकाशित गरी आर्थिक चपेटामा परेका उपभोक्ताहरुलाई महशुल बृद्धि गरी समस्या निम्ताएको उल्लेख गरेका छन् । विद्युत नियमन आयोगका पदाधिकारीको समय अवधि सकिएर बिदा हुनै लाग्दा बिद्युत महशुल बृद्धि गरिनुले शंका उत्पन्न गरेको सांसदहरुले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
अधिकांश न्युन आय भएका ग्रामिण क्षेत्रका उपभोक्ताहरुले न्युन मात्रमा विद्युत उपभोग गरी गुजारा चलाउदै आएको प्रति आयोगको ध्यान नजानु र कम्पनीले अपनाउनुपर्ने गुणस्तरीयतामा समेत वेवास्था गरेको सभापति अर्यालले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । उपभोक्ताको हितविपरीत, शंकास्पद ढंगबाट गरीएको विद्युत महशुलको बृद्धि खारेज गर्न समेत सांसदहरुले आग्रह गरेका छन् । अहिलेको अवस्थामा महशुल बृद्धि हुँदा जनजिवन निकै प्रभावित बन्ने समेत सांसदहरुले विज्ञप्ती मार्फत उल्लेख गरेका छन् ।
प्रतिक्रिया