भीरकोटका प्रअहरुलाई क्षमता विकास तालिम

भीरकोट ।

भीरकोट नगरपालिकाले पालिकामा कार्यरत प्रधानाध्यापकहरूलाई क्षमता विकास तालिम प्रदान गरेको छ । नगरपालिकाको सभाहलमा संचालन गरिएको एकदिने क्षमता विकास तालिममा सामुदायिक र संस्थागत विद्यालयमा कार्यरत प्रधानाध्यापक र सहायक प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो । तालिममा ४५ विद्यालयका ५२ जना प्रधानाध्यापक र सहायक प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई नारायण आचार्य र केशव प्रसाद अमगाईंले प्रशिक्षण दिएका थिए ।
शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउनका लागि तालिमले थप मद्दत पुग्ने नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले बताए । उनले तालिममा सिकेका कुराहरू विद्यालयमा प्रयोग गर्न सहभागी प्रअहरुलाई आग्रह गरे । शैक्षिक गुणस्तर वृद्धि गर्न प्रअहरुको भूमिका महत्वपूर्ण हुने भएकाले नगरपालिकाले प्रअहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सहित योजना अगाडि बढाएको कर्माचार्यले बताए । प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले तालिमले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण टेवा पुग्नेमा विश्वास व्यक्त गरे । उनले प्रअ तथा शिक्षकका लागि समय समयमा तालिम सञ्चालन गर्न सके विद्यालयको शैक्षिक गुणस्तरलाई समेत माथि उठाउन सकिने धारणा व्यक्त गरे । प्रधानाध्यापकहरूको नेतृत्व र व्यवस्थापकीय क्षमता विकास गरि भीरकोटको शैक्षिक गुणस्तर सुधार गर्न तालिम प्रदान गरिएको शिक्षा शाखा प्रमुख विष्णु कोइरालाले बताए ।
तालिममा शैक्षिक उपलब्धी वृद्धि गर्ने, प्रशासनिक कार्यलाइ थप व्यवस्थित गर्ने, शैक्षिक नीति नियम, विद्यालय स्रोत पहिचान तथा व्यवस्थापन, सूचना प्रविधिको प्रयोग, आध्यात्मिक दर्शन लगायतका विभिन्न विषयमा प्रशिक्षित गरिएको थियो । समापन कार्यक्रममा सहभागिका तर्फबाट बोल्दै तोयनाथ कोइरालाले तालिम प्रभावकारी रहेको र तालिमबाट सिकेका पक्षहरूलाइ विद्यालयमा प्रयोग गर्न आतुर रहेको बताए । प्रशिक्षक नारायण आचार्यले तालिमको बेला सहभागिहरूले प्रशिक्षकले भनेको कुरा जस्ताको तस्तै प्रयोग गर्नु पर्छ भन्ने छैन, अवस्था अनुकुलको प्रयोग गर्न सक्नु नै ठूलो कुरा भएको बताए । सिकेका विषयबस्तुहरू समय र अवस्थालाई मध्यनजर गर्दै व्यवहारमा उतार्न सक्नु नै कुशल सिप हो । जुन सिपको प्रयोग तालिम पश्चात सहभागि साथिहरूले गर्नुहुने कुरामा आफुहरु विश्वस्त रहेको उनको भनाई थियो । अब शिक्षकहरू पाठ्यक्रम, पाठ्यपुस्तक नभएपनि शिक्षण सिकाइ कार्यमा लाग्न सक्ने क्षमता विकास गर्नुको विकल्प नभएको उनले बताए ।
नगरपालिकाले शिक्षाको गुणस्तर सुधार्न प्रधानाध्यापकहरूलाई नमुना विद्यालयको भ्रमण, उत्प्रेरणात्मक तालिम, क्षमता विकास तालिम प्रदान लगायतका विविध प्रयासहरू गर्दै आएको छ । तर तालिम र भ्रमणमा सिकेका विषयवस्तुहरूको कार्यान्वयनको मूल्यांकन र अनुगमन गर्ने प्रभावकारी संयन्त्र नहुँदा अपेक्षाकृत सुधार हुन सकेको छैन । स्थानीय व्यापारी, राजनीतिज्ञ र जनप्रतिनिधिहरूले नै पालिकाका विद्यालयलाई विश्वास नगरी पालिका बाहिरका विद्यालयमा आफ्ना छोराछोरीलाई पढ्न पठाउने प्रवृतिले पालिकाको शैक्षिक गुणस्तरमा आशातित सुधार हुन सकेको छैन ।

प्रतिक्रिया