बिरुवामा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

स्याङ्जा ।
ग्रामिण क्षेत्रका जनताको स्वास्थ्य परिक्षण गर्ने उदेश्यले नेपाली सेनाले दुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । सिंह शार्दुल गुल्म आँधीखोला व्यारेक स्याङ्जाको आयोजनामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको हो ।

स्वास्थ्य कार्यालय स्याङ्जा, जिल्ला अस्पताल, भीरकोट स्वास्थ्य चौकी र बिरुवा गाउँपालिकाको सहयोगमा स्वास्थ्य शिविर सम्पन्न हुने आँधीखोला व्यारेकले जनाएको छ । बिरुवा गाउँपालिकाको ८ नम्वर वडा स्थित मेथाभुरुङ भीरकोट स्वास्थ्य चौकीमा जेठ १६ र १७ गते स्वास्थ्य शिविर आयोजना गरिएको आँधीखोला व्यारेकका गुल्मपति पुरुषोत्तम कार्कीले जानकारी दिए ।

शिविरमा छाला तथा यौन रोग, पेट, छाती तथा मुटु रोग, हाडजोर्नी तथा नशा रोग, नाक, कान, घाटी, स्त्री रोग तथा प्रसुती सेवा, दन्त चिकित्सक सेवा सहित बिशेषज्ञ चिकित्सकबाट बाल रोग, भिडियो एक्सरे लगायतका सेवा उपलब्ध हुने गुल्मपति कार्कीले बताए । नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराई लाभ लिन गुल्मपति कार्कीले सबैमा आग्रह गरेका छन् ।

झण्डै ६ सय जनालाई यो सेवा पु¥याउने लक्ष्य सेनाले लिएको छ । यसभन्दा अगाडी स्याङ्जाको आँधीखोला व्यारेकमा रहेको शमरजित गुल्म सरेपछि सिंह शार्दुल गुल्म स्याङ्जा आएको हो । स्याङ्जा आएको झण्डै एकमहिनामा गुल्मले ग्रामिण क्षेत्रमा पुगेर नागरिकको स्वास्थ्य परिक्षण गर्ने सामाजिक उत्तरदायीत्वमा लागेको छ ।

प्रतिक्रिया