बढेको महशुल फिर्ता लिन प्रधानमन्त्री सकरात्मक

काठमाण्डौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला वितरण केन्द्रको विद्युत महसुलमा गरिएको वृद्धिलाई रोक्न सकारात्मक भएको बताइएको छ । बिहीबार बिहान स्याङ्जाबाट पुगेको प्रभावित क्षेत्रको टोलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पुरानै महसुल कायम गराउन सकारात्मक रहेका हुन् । सरकार नागरिकको दैनिकी सहज बनाउन लागि परेको जनाउ दिदै प्रधानमन्त्रीले यो विषयमा मैले तत्कालै बुझेर सम्बोधन गर्ने बताएको नेपाली काँग्रेस वालिङ नगर समितिका सभापति नेत्रप्रसाद पाण्डेले जानकारी दिए ।

टोलीका सदस्यहरुले बढेको महसुलले नागरिकलाई प्रत्यक्ष असर पार्ने भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउन काठमाण्डौ पुगेको थियो । पुर्व मन्त्री एंव संघीय सांसद तथा कांग्रेस उपसभापति धनराज गुरुङको नेतृत्वमा प्रधानमन्त्रीलाई प्रभावित क्षेत्रको टोली प्रधानमन्त्रीलाई भेट्न पुगेको हो । भेटका क्रममा प्रभावित क्षेत्र स्याङ्जा–२ का संघीय सांसद गुरुङले बढेको महसुल तत्कालै फिर्ता गराउन प्रधानमन्त्रीले पहल गरिदिनु पर्ने बताएका थिए ।

टोलीमा वालिङ नगरपालिका, गल्याङ चापाकोट, भीरकोट नगरपालिका तथा कालीगण्डकी गाउँपालिका तथा पाल्पाको रामपुर नगरपालिका र रम्भादेवी गाउँपालिकाका जनप्रतिनिधिसहित दलका प्रतिनिधि, व्यवसायीहरुको सहभागिता रहेको थियो ।

विपिसीको प्रस्तावमा विद्युत नियमन आयोगले विद्युत महसुल बढाउने निर्णय गरेको भन्दै जिल्लाका राजनीतिक दल, नागरिक समाजलागयत आन्दोलित हुदै आएका छन् । आयोगले सार्वजनिक सूचना प्रकाशित गरेर विद्युत महसुल बढाएको जानकारी गराएको थियो ।

प्रभावित क्षेत्रमा दिनुहुँ आन्दोलन भइरहेको छ भने श्याम प्रसाद बस्यालको संयोजकत्वमा गल्याङ्मा संघर्ष समितिको गठन समेत गरिएको छ । अहिले पालिकास्तरमा निर्माण गरिएका संघर्ष समितिले बीपीसीलाई बृद्धि भएको महशुल कार्यन्वयन नगर्न र मिटर रिडिङ रोक्न ज्ञापनपत्र बुझाइसकेका छन् । यसैविच बुधवार टोलीले विद्युत नियमन आयोगका सदस्य गौतम डंगोल र सदस्य सचिव मन कुमारी श्रेष्ठलाई पनि आयोगले गरेको निर्णय तुरुन्त फिर्ता लिन आग्रह गर्दै निवेदन र ज्ञापनपत्र बुझाएका थिए ।

आयोगले कम्पनीलाई समग्रमा झण्डै ४५ प्रतिशत देखी ६५ प्रतिशत सम्म विद्युत महशुल वृद्धि गर्ने अनुमति दिएको छ । सेवा शुल्कमा पनि उत्तिकै बढाउने अनुमति दिएको बताइएको छ । उपभोक्ताले पुरानो महसुलमा प्रति युनिट झण्डै ३ रुपियाका दरले वृद्धि गरिएको महसुल बुझाउनुपर्ने छ । बढिमा सात रुपियाँ प्रति युनिट तिर्दै आएका उपभोक्ताले अब बढिमा १० रुपियाँ ३० पैसा महसुल लाग्ने गरी निर्धारण गरिएको छ ।

प्रतिक्रिया