बालबालिकालाई सुर्तीबाट बचाउन तालिम

भीरकोट ।

विश्व धुम्रपान रहित दिवसको अवसरमा बालोदय अंग्रेजी आवासीय माविले विद्यालयस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बालबालिकालाई सुर्तीबाट बचाऔं भन्ने यसपालीको विश्व धुम्रपानरहित दिवसको नारालाई सार्थक पार्नका लागि प्रशिक्षण आयोजना गरिएको विद्यालयका प्रिन्सिपल अमृत अर्यालले बताए । विश्वमा बालबालिकाहरु प्रत्यक्ष सुर्ती सेवनका अलावा अरुले गरेको धुम्रपानबाट हुने हानी अर्थात निष्क्रिय धुम्रपानबाट झन ग्रसित भएकाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन कार्यान्वयन गर्न सवैले पहल गर्नुपर्ने धारणा उनले राखे ।
नगर स्वास्थ्य शाखा प्रमुख अञ्जु सापकोटाले सुर्तीजन्य पदार्थमा ४ हजार किसिमका विष हुने र यसले शरीरका प्रत्येक अंगलाई खराब गर्न सक्ने भएकाले कम्तिमा बालबालिकालाई यो कुलतबाट टाढा राख्न सकेको खण्डमा भावी पुस्ता स्वस्थ हुने बताईन् । सापकोटाले सुर्ती सेवनबाट नेपालमा मृत्यु दर २७ हजारबाट ३५ हजार पुगिसकेको तथ्यांक आइसकेको र नेपालमा सुर्ती सेवनका लागि मात्रै ६७ अर्व रुपैयाँ खर्च गर्ने गरेको जानकारी दिईन् । सापकोटाले विद्यालयको १ सय मिटरसम्म सुर्ती विक्रिवितरण गर्न नपाइने कानुन र बालबालिकालाई सुर्ती विक्रि वितरणमा कानुनले रोक लगाएको हुँदा बालबालिकालाई सुर्तीजन्य पदार्थको ओसारपसार नगर्न अनुरोध गरिन् ।

प्रतिक्रिया