महिलालाई उद्यमशीलतामा जोड्न वालिङमा कृषि, विकास परियोजना

वालिङ ।
स्याङ्जाको वालिङमा ‘कृषि विकास परियोजना’ सुरु भएको छ । वालिङका बिपन्न र निम्न आय भएका परिवारलाई आयआर्जन गर्न लगाई गरिवी निवारण गर्ने उद्देश्यले परियोजना सुरु गरिएको वालिङ नगरपालिकाले जनाएको छ । कृषि र पशुका माध्यमबाट नगरबासीका आर्थिक स्तरमा सुधार ल्याउने गरी पालिकाले कार्यक्रम सुरु गरेको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए । पालिकाले दीर्घकालिन योजना बनाएर काम सुरु गरेको भन्दै नगरप्रमुख खाँणले भने, ‘खाका बनाईअघि बढ्दैछौं, हिजोकाभन्दा भोली केही फरक सकारात्मक परिवर्तन देखिनेमा विश्वस्त छौं ।’ वालिङ नगरपालिका,हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा परियोजना सुरु भएको हो ।

नगरका १४ वडा मध्ये पहिलो चरणमा ७ वडामा निम्न आय घर परिवार पहिचान गरि तत्काल काम आगाडी बढाईने हेफरका बरिष्ठ कार्यक्रम प्रवन्धक प्रेम साम्बयुले जानकारी दिए । विपन्न तथा न्युन आय भएका महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन हुने उनको भनाई छ ।
परियोजनाले कृषि तथा पशु उद्यमअन्तर्गत महिला समुहमा काम गर्ने साथै कृषि उत्पादन र बजारीकरण, युवामा ऋण प्रवाह तथा फरक क्षमता भएका व्यक्तिहरुको आयआर्जनमा सघाउने प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिए ।

परियोजनाले बैंकसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि काम गर्ने छ । हेफरले परियोजनामा वालिङ नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ । हेफरले दियालोसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको हो । बिगतदेखि कृषि र पशु ब्यवसायमा संलग्न किसान र महिलाहरु उद्यमशिलतासंग जोड्दै आयआर्जन बढाउन सुलभ कर्जा पाउने भएपछि खुशी देखिएका छन् ।

परियोजना सञ्चालनका लागि नगरप्रमुख कृष्ण खाँणको संयोजकत्वमा समिति गठन भएको छ । समितिमा उपप्रमुख, वडाध्यक्ष, वडा जनप्रतिनिधि, बिषयगत शाखा एवं साझेदार सस्थाका प्रतिनिधि रहनु भएको छ । परियोजनाका २६ महिने अवधीका लागि ३ करोड ५० लाख रुपैंयाको बजेट रहेको छ । सुलभ कर्जा प्रवाह गरिने र जुन रकम पछिसम्म पाँच करोड भन्दा बढी रहने बताईएको छ ।

प्रतिक्रिया