आत्महत्या रोक्न भीरकोटमा सचेतना अभियान

भीरकोट ।

आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी सामाजिक विकास कार्यालय, स्याङ्जाले भीरकोटमा सचेतना कार्यक्रम गरेको छ । भीरकोट नगरपालिका र जिल्ला प्रहरी कार्यालयको समन्वयमा बुधबार आत्महत्या रोकथाम तथा नियन्त्रणको लागि सचेतना कार्यक्रम सम्पन्न भएको हो । हिजोआज आत्महत्याका घटनामा बृद्धि भैरहेको भन्दै आत्महत्या रोक्नथाम सम्बन्धी विशेष सचेतना कार्यक्रमको आवश्यकता रहेको भीरकोटका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिए । उनले भने ‘यसपछि आत्महत्या रोकथाम र नियन्त्रणको लागि प्रहरी मार्फत स्थानिय टोलहरुमा यो सचेतना अभियान पुग्नेछ ।’ कर्माचार्यले भने, ‘अहिले बढदै गएको आत्महत्या सबैको साथ सहयोग र सचेतनाको कारणले मात्र न्यूनिकरण गर्न सकिनेछ।’ सबैको साथ, सहयोग र सचेतनाको माध्यमबाट आत्महत्या न्युनिकरण गरिनुपर्ने उनले बताए ।

घरायसी विवाद, प्रेम तथा यौन सम्बन्ध, सामाजिक हेला, मानसिक तनावजस्ता कारणले आत्महत्याका घटना बढेको प्रहरीले जनाएको छ । पछिल्लो समय भीरकोटमा आत्महत्या गर्नेको संख्या पनि बढ्दै गएको छ । डिप्रेसन, मादक पदार्थ सेवनलगायतका कारणले आत्महत्या गर्नेको संख्या बढेको भीरकोट नगर अस्पतालका प्रमुख डा. राजीव झाले बताए । आत्महत्या एउटा औषधिविहीन सामाजिक रोग भएको चिकित्सक बताउँछन् । आफैँमा विश्वास नहुनु, जीवनदेखि हार खानु, भावी जीवनका लागि असमर्थ हुनेले आत्महत्याको बाटो रोज्ने चिकित्सकहरूको भनाइ छ ।

आत्महत्या नियन्त्रण गर्नकालागि विशेष सचेतना अभियान नै चलाउनु पर्छ । त्यसका लागि पालिकाले प्रहरीसंग पनि समन्वय गरेर कार्यक्रम गनुपर्ने भीरकोटका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले बताए । परिवारमा कोही सदस्यले एकोहोरिने जस्ता असमान्य व्यवहार देखाए परिवारका अन्य सदस्यले तत्काल मनोपरामर्श तथा उपचारमा ध्यान दिए आत्महत्याको दर धेरै कम हुने मनोविश्लेषकहरू बताउँछन् । आत्महत्या गर्नेको संख्या बढ्दै गएपछि भीरकोटले आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम लिएर सामुदायमा जाने भएको छ । सामुदायमा गएर परामर्शसहितको जनचेतनामूलक कार्यक्रम संञ्चालन गर्ने ढुंगानाले बताए । प्रहरीको समन्वयमा समुदायमा पुगेर सचेतना कक्षा संञ्चालन गरिने पालिकाको योजना रहेको छ।

प्रतिक्रिया