गल्याङ नगरको सार्वजनिक सुनुवाई सम्पन्न
गल्याङ ।
गल्याङ नगरपालिकाले चौमासिक गर्दै आएको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै नगर प्रमुख गुरुप्रसाद भट्टराईले समग्रमा गल्याङलाई चौतर्फी विकासमा लागिरहेको बताए । सिमित साधन श्रोत परिचालन गरेर नागरिकको आवश्यकता परिपुर्ति गर्नुपर्ने बाध्यकारी अवस्था रहेको भन्दै नगर प्रमुख भट्टराईले नागरिकको सबै चाहाना क्रमस पुरा हुदै जाने विश्वास दिलाए ।
नगरभित्रका सडकहरुको स्तरोन्नती सगै वडाको समन्वयमा नालीको व्यवस्थापन गर्दै क्रमशः काम भैरहेको जानकारी दिए । कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले उत्पादन बृद्धि गरि निर्यातका लागि निरन्तर प्रयास भैरहेको र केही नतिजाहरु देखिएको भन्दै अनुदानको कहीं दुरुपयोग भएको भए जानकारी दिन आग्रह गरे । नगरप्रमुख भट्टराईले आफु निर्वाचित हुनु भन्दा अगाडि सरकारको मापदण्डमा निरन्तर ओरोलो रहेकोमा २०७९ पछि एफआरए र लिजामा उच्चतम प्रगति भएको जानकारी दिए ।
सफलता के कुरालाई मान्ने भन्ने बुझाईमा केही समस्या रहेको भन्दै भट्टराईले नगरपालिकाको सेवा प्रवाहमा भएका प्रगतिहरुको सकारात्मक समिक्षा हुनुपर्ने बताए । नगरप्रमुख भट्टराईले विपन्न परिवारका लागि आफुले निरन्तर काम गरेको भन्दै नगरपालिकाले आफन्त नभनी आवश्यकताको आधारमा काम गरिरहेको बताए । उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई अगाडि बढाइरहेको भन्दै उनले नगरपालिकाले वास्तविक किसानलाई निश्पक्ष भएर सहयोग गर्न कृषि र पशु शाखालाई भनिरहेको स्पष्ट पारे ।
नगरप्रमुख भट्टराईले बुटवल पावर कम्पनीको आँधीखोला वितरण केन्द्रका ग्राहकहरुका लागि शुल्क बढाएको सन्दर्भमा आफुले विज्ञप्ति मार्फत विरोध गरिरहेको भन्दै अन्य पालिकासँग समन्वय गरिरहेको पनि जानकारी दिए । उनले एक घर एक धारा निर्माण गर्ने, वडा कार्यालय नभएका वडाको आफ्नै कार्यालय बनाउने तथा वडा कार्यालयसम्म पुग्नका लागि पक्की सडक बनाउने तथा मुख्य सडकबाट सहायक बाटोहरुको कालोपत्रे गर्न लागिरहेको बताए ।
सकारात्मक सोचका साथ इमान्दारितापूर्वक असल नियतका साथ काम गरिरहेको भन्दै उनले नगरपालिकाले गरिरहेका काममा आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरे । नगरप्रमुख भट्टराईले स्वास्थ्य क्षेत्रको स्तर उन्नतीका लागि निरन्तर काम गरिरहेको बताए ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले नगरपालिकाले चालु आर्थिक वर्षमा गरिरहेको कामका विषयमा जानकारी दिए । उनले प्रशासकीय हिसाबले पनि चालु आर्थिक वर्षमा नगरपालिका तथा वडा कार्यालयहरुमा धेरै कामहरु भएको बताए ।
कार्यक्रममा नेकपा एमाले गल्याङ नगर कमिटी अध्यक्ष दानबहादुर थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष चित्र राना सहित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले नगरपालिकालाई प्रश्न तथा सुझाब दिएका थिए । कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सीना, ११ वटै वडाका वडाअध्यक्षहरु तथा नगर कार्यपालिकाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाई गल्याङ एफएमले सहजीकरण गरेको थियो भने संचालन एफएमका प्रबन्धक केपी खनालले गरेका थिए । नगरपालिकाले गरिरहेको सेवा प्रवाह तथा विकास निर्माणका विषयमा बुधबार सार्बजनिक सुनुवाई गरिएको हो ।
प्रतिक्रिया