जनताको विश्वास जित्दै भीरकोट नगर अस्पताल

भीरकोट ।

स्याङ्जाको भीरकोट नगरपालिकामा संचालित भीरकोट नगर अस्पतालले जनताको विश्वास जित्न सफल भएको छ। अस्पतालमा व्यवस्थापकीय सुधार र स्वास्थ्य बीमा लागू भएपछि सेवाग्राहीको संख्यामा ३ सय प्रतिशत भन्दा बढीले वृद्धि भएको हो। आर्थिक वर्ष २०७८÷७९ मा अस्पतालबाट २ हजार ४ सय ३९ जनाले मात्रै सेवा लिएका थिए भने २०७९÷०८० मा जम्मा २ हजार ४ सय ५५ जनाले सेवा लिएका थिए। तर आर्थिक वर्ष २०८०÷८१ को जेठ महिनासम्म ९ हजार १ सय ४५ जनाले सेवा लिएको अस्पताल प्रमुख डा. राजिव झाले जानकारी दिए। विगतका वर्षहरूमा कमजोर व्यवस्थापनका कारण मासिक सरदर २ सय जना बिरामीले सेवा लिने गरेको अस्पतालमा हाल सरदर ८ सय जनाले सेवा लिएका छन्। अस्पतालमा २०८० भाद्रबाट स्वास्थ्य बीमा लागू भएको थियो। बीमा लागू भएदेखी हालसम्म ३ हजार २ सय १७ जनाले सेवा लिएका छन्।

अस्पतालमा बहिरंग सेवा, फार्मेसी, प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे सेवा, ड्रेसिङ, हड्डी भाँचिएको प्लास्टर, नेबुलाइजर, सामान्य शल्यक्रिया , दन्त सेवा, परिवार नियोजन सेवा, गर्भजाँच, प्रसुती सेवा, क्षयरोगको जाँच तथा उपचार सेवा नियमित रूपमा उपलब्ध भैरहेका छन्। यसैगरी २४ सै घण्टा इमरजेन्सी , फार्मेसी र प्रसुती प्रसुती सेवा उपलब्ध छ। स्थानीय सरकारले संचालन गर्ने १५ सैयाको आधारभूत अस्पतालमा ३० देखि ३३ जनाको दरबन्दी हुनुपर्ने भएपनि अस्पतालमा २० जना स्वास्थ्यकर्मी एवं कर्मचारी मात्रै कार्यरत छन्। अस्पतालबाट अर्जुनचौपारी, पुतलीबजार र भीरकोटका जनताले स्वास्थ्य सेवा लिइरहेका छन्। तीनवटै पालिकाको समन्वयमा आवश्यक जनशक्ती थप गर्ने र यस अस्पताललाई पायक पर्ने तीनवटै पालिकाको स्वास्थ्य बीमाको पहिलो उपचार सेवा केन्द्र भीरकोट अस्पताल हुने हो भने अस्पताल अझै सुदृढ हुने देखिन्छ।

प्रतिक्रिया