स्याङ्जा प्रहरीको सफलता— फैलाउदै चेतना, घटाउदै घरेलु हिंसा

स्याङ्जा ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा हरेक दिन जनताको घर आगनमा पुग्ने गरेको छ । प्रहरीले जनताको घर आँगनमा पुगेर उनीहरुको समस्या सगै घरेलु हिंसा, आत्महत्या, चोरी डकैती जस्ता सामाजिक अपराधका बिषयमा जनचेतना दिने काम गरिरहेका छन् । ११ ओटै पालिकामा रहेका प्रहरीका युनिटहरु बाट दैनिकजसो खटिएका प्रहरी अधिकारीहरुले सामाजिक अपराधले पार्न सक्ने समस्या र सजायका बिषयमा जनचेतना फैलाइरहेका छन् । जसले गर्दा गतबर्षको भन्दा यो बर्ष घरेलु हिंसाका घट्नाहरु कम हुदै गएको तथ्याङकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरीको तथ्यांक हेर्दा गतवर्ष भन्दा यो आर्थिक वर्ष घरेलु हिंसा घटना दर्तामा कमी आएको छ । गत आर्थिक वर्ष २०७९÷०८० मा जिल्ला प्रहरी कार्यालयमा घरेलू हिंसाका घटना ६१ ओटा दर्ता भएका थिए । जसमा ५७ महिला र ४ जना पुरुष घरेलू हिंसामा परेको उजुरी दर्ता भएको प्रहरीको तथ्याङकमा उल्लेख छ । ति ६१ घटना मध्ये ५० ओटा मिलापत्र गरिएको थियो भने ११ ओटा घटना अदालती प्रक्रियामा पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एंव प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार पछिल्लो समय जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेका प्रहरी चौकीहरुले समुदायस्तरमा सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएका कारण पनि घरेलु हिंसा कमहुँदै गएको जानकारी दिए । प्रहरी कार्यालयले विद्यालय, विभिन्न समुदायमा घरेलु हिंसा, लागू पदार्थ दुव्यर्सनी, सवारी दुर्घटना सम्बन्धी विभिन्न कार्यक्रम गर्ने, पर्चा पम्लेटहरु टाँस्ने, वितरण गर्ने संचार माध्यमबाट चेतनामुलक अडियो भिडियोहरु समेत सम्पे्रषणकै कारण घरेलु हिंसा घट्दो क्रममा गएको हुनसक्ने अनुमान प्रहरी नायव उपरीक्षक रानाको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार गतवर्ष दर्ता भएका ६१ घरेलु हिंसा मध्ये १७ ओटा कुटपिटको, २९ झै—झगडा र १५ हेलाहोँचोका घटनाहरु छन् । चालु आर्थिक वर्ष २०८०÷०८१ सकिन एक महिना बाँकी रहँदा जिल्लामा जम्मा २३ ओटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । गतवर्षको भन्दा यो वर्ष घट्ना दर्ता आधा कम हो ।

यो आर्थिक वर्षको अहिलेसम्म प्रहरी कार्यालयमा दर्ता भएका घरेलु हिंसाका घटनाहरु मध्ये २१ जना महिला र २ जना पुरुष पिडित भएका छन् । दर्ता भएका घरेलु हिंसाका घटनामा २० मिलापत्र गरिएको २ अदालती प्रक्रियामा गएको र बाँकी एउटा घटनाको अनुसन्धान भईरहेको रानाले बताए । ति घटनाहरुमा १५ कुटपिट, ५ झैझगडा र ३ हेलाहोँचोका घटनाहरु रहेका छन् ।
२०७४ को स्थानीयतहको निर्वाचन पछि स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षकै संयोजकत्वमा न्यायिक समिति गठन गर्ने र आफ्ना स्थानीय तहमा हुने घटनाहरु न्यायिक समितिले हेर्ने प्रावधान भएको र उक्त घटनाहरु स्थानीय तहमै मिलाउने प्रयासले पनि घट्ना दर्तामा कमी आएको प्रहरीको अनुमान छ ।

पछिल्लो समय यस्ता घटना दर्ता कम हुनुको कारण स्थानीय तहमा रहेको न्यायिक समिति र वडा स्तरमा रहेका मेलमिलाप सेवा केन्द्रहरुको न्यायिक सम्पादनले पनि ठुलो भुमिका खेलेको वालिङ नगरपालिका वडा नं. ८ का मेलमिलापकर्ता संयोजक शान्ता थापाको विश्वास छ । आफू संयोजक भईसकेपछि वडा नं. ८ मामात्रै २ ओटा घरेलु हिंसाका घटना मेलमिलाप केन्द्रमा आएको संयोजक थापाले बताइन् । वालिङमा मेलमिलाप संयोजकको समयअवधि ६÷६ महिनाको तोकिएको हुन्छ । समुदायमा हुने घरेलु हिंसा, लेनदेन, जग्गा कारोबारी सम्बन्धी घटनाहरु प्रकृतिअनुसार वडाको मेलमिलाप केन्द्र तथा न्यायिक समितिले पनि सम्पादन गर्दै आएको छ ।

यसैबीच गतवर्ष भन्दा यो वर्ष मानिस हराएको घटना पनि कम देखिएको छ । गतवर्ष मानिस हराएको निवेदन १६३ ओटा दर्ता भएको थियो भने यो वर्षको अहिलेसम्म ८८ ओटा निवेदन भएका छन् । गत वर्ष महिला ७८, पुरुष ५६, बालिका ३० र बालक २२ गरी १८६ मानिस हराएका थिए भने यो वर्षको अहिलेसम्म ४७ महिला, १९ पुरुष, १९ बलिका र ७ बालक गरी ९२ हराएको तथ्याङक प्रहरीकोमा छ । हराएको मध्ये चालु वर्षमा १५ पुरुष, ३५ महिला, ८ बालक र १८ बालिकागरी ७६ जना भेटिएका छन् भने गतवर्ष हराएका मध्ये ७१ महिला, २७ बालिका र पुरुष र बालक गरी ६२ गरी १६० जना भेटिएका थिए । जनस्तर सम्म प्रहरीको पहुँच पुग्नुले पनि सामाजिक अपराधका धट्नामा कमी आएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्माले बताए । प्रहरी यो तथ्याङकमा अझै सन्तुष्ट छैन प्रहरी उपरीक्षक शर्माले भने,‘सामाजिक अपराधका घट्ना शुन्यमा झार्न नसकिएपनि प्रतिशतमा अझै घट्नुपर्छ ।’ यसका लागि प्रहरी नयाँ आर्थिक बर्ष शुरुभएपछि छुट्टै रणनीतिक योजना बनाएर अगाडी बढ्दै छ उनले भने । हाम्रो प्रयासमा नागरिक समाज, स्थानीयहरुले सहयोग गर्नुपर्ने शर्माले बताए ।

 

प्रतिक्रिया