प्रयोग बिहिन बसपार्कमा भाडा तिर्दै भीरकोट

अमृत अर्याल,
भीरकोट ।
स्याङ्जाको भीरकोट नगरपालिकाको केन्द्र बयरघारी बजारमा सवारी साधन पार्किङलाई व्यवस्थित गर्ने उद्देश्यले ५ वर्षअघि निर्माण गरिएको बसपार्क अलपत्र अवस्थामा छ । २०७७ सालमा नगरपालिका भित्र चल्ने सवारीलाई व्यवस्थित गर्नको लागि र दुर्घटनाको जोखिम न्युनिकरण गर्ने भन्दै पालिकाले बसपार्क निर्माण गरेको थियो । तर ५ वर्ष बितिसक्दा पनि उक्त बसपार्कमा कुनैपनि सवारी साधनहरु पार्किङ भएका छैनन् । पालिकाले करिब १० लाख खर्चेर निर्माण गरेको बसपार्क नियामक निकायको वेवास्ता र यातायात व्यवसायीहरुको लापरवाहीका कारण अलपत्र अवस्थामा रहेको छ । हाल बसको पार्किङका लागि उक्त जग्गाको कुनै उपयोग भएको छैन भने उल्टो पालिकाबाट वार्षिक लाखौँ रकमजग्गा भाडा बापत खर्च भएको छ ।

सार्वजनिक निकायले सार्वजनिक श्रोतको उपयोग गर्दा मितव्ययी र अधिकतम प्रतिफल सुनिश्चित हुनेगरि गर्नुपर्छ । तर भीरकोटको बसपार्क संचालनमा नआएपछी यसको प्रतिफल शून्य देखिएको छ । बसपार्क संचालन गर्ने प्रयोजनको लागि विभिन्न १२ जना व्यक्तिको जग्गा प्रति रोपनी वार्षिक १७ हजार ४५ रुपैयाँका दरले भाडामा लिइ वार्षिक २ लाख ६२ हजार ९ सय २८ रुपैयाँखर्च गर्दै आएको छ । नगरपालिकाको उद्देश्य नगरपालिका क्षेत्रभित्र यातायात संचालनलाई व्यवस्थित गरि यातायात आवतजावतमा सहजता ल्याउने भएता पनि पूर्व सम्भाव्यता अध्ययन बिना नै बसपार्कको स्थान छनौट भएकोले नगरक्षेत्रमा उक्तजग्गाको उपयोग हुन सकेन । अहिले नगरपालिकाले हरेक बर्ष प्रयोग बिहिन बसपार्कको भाडा भुक्तानी गर्दै आएको छ ।

प्रयोग विहिन रहेको जग्गाको सझौता रद्ध गरि यस्ता प्रकृतिका खर्चमा नियन्त्रण गर्नपर्ने २ बर्ष अगाडीको महालेखाको प्रतिवेदनले समेत औल्याएको थियो । तर पार्किङ नै नभएपनि हालसम्म सम्झौता रद्ध भने गरिएको छैन । भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्दकुमार कर्मचार्यले ट्राफिक प्रहरी र गाडी व्यवसायीहरुको सहयोग नपाउँदा नै बसपार्क संचालनमा ल्याउन सकस भएको बताए । नगर प्रमुख कर्मचार्यले आफ्नो कार्याकाल सुरुभएपछि सम्पूर्ण सवारी व्यवसायीलाई एकैठाउँमा राखेर उक्त बसपार्कको प्रयोग गर्नको लागिपहल गरे पनि नसकेको स्विकार गरे । उनले भने, “मेरो कार्यकाल सुरु भएपछि सम्पूर्ण गाडी व्यवसायीलाई एकैठाउँमा राखेर त्यो बसपार्कको प्रयोग गर्नको लागिपहल गरे । त्यस्तै ट्राफिक प्रहरीलाई पनि बाटोमा गाडी राख्न नदिन भनेको छु । मलाई लाग्छ अब जिपहरु त्यही पार्किङ हुनेछन् ।” कर्मचार्यले पालिकाका ट्राफिक प्रहरीले आफूलाई सहयोग गरेमा बसपार्क प्रयोगमा आउने दावी गरे ।

यताप्रहरी चौकी दहथुमका प्रमुख प्रमोद कंडेलले बाटोमा गाडी पार्किङ गर्न नदिएको दाबी गर्छन् । उनले त्यहाँभएका दुईजना ट्राफिक प्रहरी र अन्य प्रहरीलाई डियुटीमा नै खटाएर बसपार्कमा गाडी राख्ने व्यवस्था गर्न आफू तयार भएको बताए । उनले भने, “हामीले पालिकालाई सहयोग नगरेको भन्ने छैन । स्थानीयतह भनेको हाम्रो लागि सरकार नै हो । पालिकाले भनेको खण्डमा हामीले हरेक समय सहयोग गर्न तयार छौँ ।”गाडी व्यवसायीहरुले बसपार्कमै सवारी पार्किङ नगर्नुको कारण बसपार्क बजार भन्दा पर भएकाले पनि हुनसक्छ उनले भने । नगर प्रमुख कर्मचार्यले व्यवसायीहरुले सवारी पार्किङ गर्दा असुरक्षित महसुस गरेपछि गाडीको हेरचाह गर्न एउटा प्रहरीलाई डियुटी लगाउँदा पनि व्यवसायीहरुले नटेरेको बताए । अहिले उक्त बसपार्कमा एकापट्टी फोहरको थुप्रो, रक्सीका बोटल र ह्युमपाइप देख्न सकिन्छ भने अर्कोतर्फ ब्याडम्यान्टिन कोर्ट समेत निर्माण गरी संचालनमा आएको छ ।

भीरकोट नगरपालिकाले चाहेमा बसपार्कमा सवारी साधन लैजान समस्या नहुने स्थानीयहरुले बताएका छन् । नगरपालिका सगँ नगर प्रहरी छन्, उनीहरुलाई परिचालन गर्न सक्यो भने सडकमा रोकिएका सवारी साधन बसपार्कमा राख्न सकिन्छ ति स्थानीयले भने । नगरपालिकाले नगर प्रहरी नै परिचालन गर्न नसकेको उनको आरोप छ । जनताले तिरेको कर भीरकोट नगरपालिकाले प्रयोग बिहिनमा खर्च गर्नु अत्यन्तै दुख भएको नगरवासीको गुनासो छ । यस तर्फ अहिलेदेखी नै नगरपालिकाले ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया