स्याङ्जाका पालिकाको झण्डै ८ अर्ब बजेट, अधिकांशले शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधारमा प्रथामिकता

स्याङ्जा ।
हरेक साउन महिना देखी नेपालमा नयाँ आर्थिक बर्ष शुभारम्भ हुन्छ । नयाँ आर्थिक बर्ष शुरु हुनुपुर्व संघ, प्रदेश र स्थानीय सरकारले नयाँ बजेट ल्याउने प्रावधान नेपालको संविधानले उल्लेख गरेको छ । संविधानले प्रदत्त गरेको कानुन अनुसार समयमै स्याङ्जाका ११ ओटै पालिकाले आर्थिक बर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरेका छन् । अधिकांश पालिकाले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधारलाई प्रथामिकता राखेका छन् । पालिकाहरुले ल्याएको नीति तथा कार्यक्रममा आर्थिक बर्ष २०८०÷०८१ को समिक्षामा चासो दिएको भने देखिदैन । भरर्खरै महालेखाले दिएको सुझावलाई समेत पालिकाहरुले अध्ययन नगरेको हो वा अध्ययन गरेर पनि चासो नदिएको हो पुरानै शैलिमा बजेट बिनियोजन गरेको देखिन्छ ।

महालेखाले अबण्डा बजेट राख्न नमिल्ने सुझाव दिएपनि पालिका प्रमुखहरुले त्यसलाई कार्यन्वयन गर्न खोजेको उनीहरुले प्रस्तुत गरेको प्रतिवेदनमा देखिदैन । जसले गर्दा बजेट र नीति तथा कार्यक्रम पुरानै शैलीमा प्रस्तुत भएका छन् । त्यसैले पालिकाहरुले ल्याएको नीति तथा कार्यक्रममा नागरिकले अपेक्षा गरे अनुसारको बजेटमा नदेखिएको औल्याएका छन् । बाँदर आंतकित बनेका स्याङ्जावासीमा त्यसको रोकथाम र नियन्त्रणमा पालिकाहरुले खासै प्रथामिकता दिएको देखिएको छैन । हरेक बर्ष आउने बजेटले कुनै नयाँ पन नदिएको र एउटै कार्यक्रम मात्रै आउने गरेको नागरिकको गुनासो छ । आर्थिक बर्ष २०८१÷०८२ का लागि स्याङ्जाका पालिकाले झण्डै १५ प्रतिशत बढाएर ल्याएका छन् ।

आर्थिक बर्ष २०८१÷०८२ का लागि जिल्लाका ११ ओटा पालिकाले ७ अर्ब ५९ करोड ९६ लाख २५ हजार ४ सय बजेट ल्याएका छन् । यो गतबर्षको तुलनामा १५ प्रतिशतले बृद्धि हो । गत आर्थिकबर्ष २०८०÷०८१ का लागि पालिकाहरुले ६ अर्ब ६८ करोड ३८ लाख ५५ हजार ५ सय ८९ रुपैयाँ बजेट ल्याएका थिए । ५ नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा सबैभन्दा धेरै बजेट पुतलीबजारले बिनियोजन गरेको छ । नगरपालिकातर्फ पुतलीबजार नगरपालिका धेरै बजेट विनियोजन गर्ने पालिका हुँदा सबैभन्दा कम बजेट चापाकोट नगरपालिकाको रहेको छ । पुतलीबजारले १ अर्ब ३२ करोड ३४ लाख ८ हजार बजेट अनुमानित गरको छ भने चापाकोटले ७२ करोड ९१ लाख ९५ हजारको बजेट विनियोजन गरेको छ ।

धेरै बजेट विनियोजन गरेको पुतलीबजारकोे चालुतर्फ ५९ करोड ६२ लाख ४० हजार अर्थात ४०.५ प्रतिशत छ भने पुँजीगततर्फ ७२ करोड ७१ लाख ६८ हजार अर्थात ५४.९५ प्रतिशत रहेको छ । त्यस्तै वालिङले ८६ करोड ४७ लाख २१ हजार ५ सयको बजेट विनियोजन गर्दा चालुतर्फ ४० करोड ७४ लाख ७५ हजार ५ सय छ । त्यस्तै भीरकोटको ७८ करोड २६ लाख २० हजारको बजेट रहेकोमा चालुतर्फ ५९ करोड ८९ लाख ७० हजार रहेको छ भने पुँजीगततर्फ १८ करोड २६ लाख ५० हजार रहेको छ । त्यस्तै गल्याङ नगरपालिकाको ७९ करोड १० लाख ३९ हजार बजेट ल्याएको छ । गल्याङ्ले पुँजीतर्फ २४ करोड ९६ लाख ३९ हजार रहेको छ भने चालुतर्फ ५४ करोड १४ लाख रहेको छ । गल्याङको पनि गतबर्षको तुलनामा ९ प्रतिशतले बजेट घटेको छ । त्यस्तै चापाकोट नगरपालिकाको ७२ करोड ९१ लाख ९५ हजार बजेटमा पुँजीगत २७ करोड ९९ लाख ३५ हजार छ भने चालुतर्फ ४४ करोड ९२ लाख ६० हजार रहेको छ ।

त्यस्तै ६ वटा गाउँपालिका रहेको जिल्लामा सबै भन्दा धेरै कालीगण्डकी गाउँपालिकाले ६३ करोड ३४ लाख ६५ हजारको बजेट विनियोजन गरेको छ भने गाउँपालिकातर्फ कम हरिनासले ४० करोड १७ लाख २ हजारको बजेट विनियोजन गरेको छ । हरिनासको बजेट गतबर्षको भन्दा ७ प्रतिशतले घटेको छ । हरिनासको ४० करोड १७ लाख २ हजार कुल बजेटमा २५ करोड ६८ लाख ८० हजार चालु र १४ करोड ५८ लाख २२ हजार पुँजीगत बजेट रहेको छ ।

अर्जुनचौपारी गाउँपालिकाको ५६ करोड ६० लाख ७५ हजार बजेटमा चालुतर्फ ३१ करोड १४ लाख ६५ हजार छ भने पुँजीगत २५ करोड ४६ लाख १० हजार रहेको छ । आँधीखोला गाउँपालिकाको ५६ करोड ५८ लाख ५९ हजारको कुल बजेट रहेको छ । आँधीखोलाको पनि गतबर्षको तुलनामा ८ प्रतिशत बजेट घटेको छ । त्यस्तै फेदिखोलाको ४४ करोड ३८ लाख ९३ हजार ९ सय कुल बजेट छ भने विरुवा गाँउपालिकाको ४९ करोड ४६ लाख २० हजार रहेको छ । गत आर्थिक बर्ष २०८०÷०८१ मा पुतलीबजार नगरपालिकाले १ अर्ब ६ करोड ३९ लाख ७ हजार बजेट बिनियोजन गरेको थियो । त्यस्तै वालिङले ९७ करोड ७ लाख ४६ हजार ८ सय ५५, चापाकोटले ६५ करोड ५९ लाख ७४ हजार ३ सय ३७, गल्याङ्ले ८७ करोड २८ लाख १० हजार ४ सय ९८ र भीरकोटले ७८ करोड ८२ लाख १६ हजार बजेट बिनियोजन गरेका थिए ।

त्यस्तै गाउँपालिका तर्फ अर्जुनचौपारीले २०८०÷०८१ का लागि ४४ करोड ७९ लाख २ सय, बिरुवा गाउँपालिकाले ४८ करोड ८८ लाख ६७ हजार ३ सय, हरिनासले ४३ करोड १२ लाख ५६ हजार ३ सय, कालीगण्डकीले ५४ करोड ५४ लाख ५४ हजार, आँधीखोलाले ६१ करोड ६८ लाख ८६ हजार र फेदिखोलाले ३९ करोड ७८ लाख १० हजार बजेट विनियोजन गरेका थिए ।

प्रतिक्रिया