पत्रकार महासंघ स्याङ्जा शाखामा अनिश्चित तालाबन्दी

स्याङ्जा ।
नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिदै गर्दा महासंघको एक संगठित सदस्य नेपाल प्रेस यूनियन स्याङ्जा शाखाले महासंघका कार्यालयमा तालाबन्दी गरेको छ । पुतलीबजार नगरपालिका १ अभियानपथ स्थित नेपाल पत्रकार महासंघ स्याङजा शाखाको कार्यालयमा तालाबन्दी गरेकोे हो । नेपाल पत्रकार महासंघको बिद्यान बिपरित सदस्यता बितरण र नियतवश क्रियाशिल सदस्यको नाम हटाएको बिरोधमा अनिश्चिितकालिन तालाबन्दी गरिएको प्रेस यूनियन स्याङजा शाखाका अध्यक्ष तोलाकान्त वगालेले जानकारी दिए ।

स्याङ्जा जिल्लाबाट शिफारिस गरिएका सदस्यका नामावली समावेशगरी जिल्लामा पठाई नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले तत्काल आफनो निर्णय सच्चाएर आसन्न निर्वाचनको वातावरण सृजना गर्न समेत अध्यक्ष बगालेले आग्रह गरे । अन्यथा, यूनियनले आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए । जिल्लाको शिफारिसलाई लत्याउदै केन्द्रिय कार्यालयले अनाधिकृत रुपमा पठाइएका सदस्य मान्य नहुने र शुद्धिकरणका नाउमा क्रियाशिल पत्रकारको नाम हटाउने कार्यको बिरोध गरिएको छ । अनाधिकृत सदस्यको नाम हटाई क्रियाशिल सदस्यका नाम थप गर्न कार्य तत्काल सच्चाउन समेत प्रेस यूनियनको आग्रह छ ।

 

प्रतिक्रिया