जिल्ला वार एशोसियशन स्याङ्जाको अध्यक्षमा अधिवक्ता तुलसी गिरी

स्याङ्जा ।
जिल्ला वार एशोसियशन स्याङ्जाको २६ औं अधिवेशनले अधिवक्ता तुलसी गिरीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । यो संगै गिरी चौथो पटकको अध्यक्ष बनेका हुन् । समितिको उपाध्यक्षमा संगीता नेपाली, सचिवमा युगनारायण श्रेष्ठ, कोषाध्यक्षमा दिर्घनारायण मरासीनी निर्वाचित भएका छन् ।

यसैगरी, सदस्यहरुमा विश्वराज मरासीनी, बिष्णुप्रसाद पोखरेल, रामेश्वर रेग्मी, हरिप्रसाद रेग्मी, पमनारायण अर्याल, पारशमणी पाण्डे, नारायणप्रसाद तिवारी, श्यामप्रसाद श्रेष्ठ, प्रकाश अर्याल, नारायणप्रसाद कोइराला, एकबहादुर कुमाल निर्वाचित भएको निर्वाचन समितिका संयोजक स्याङ्जा जिल्ला अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिए ।

केन्द्रिय पार्षदमा चन्द्रबहादुर केसी, टंकप्रसाद न्यौपाने, श्यामकाजी अधिकारी र नारायणप्रसाद रेग्मी चयन भएका छन् । ५४ औं साधरणसभा एंव २६ औं अधिवेसनको उद्घाटन गर्दै जिल्ला न्यायधीश बासुदेव पौडेलले नवनिर्वाचित समितिलाई प्रमाणपत्र हस्तान्तरण सहित बधाई दिदै जिल्ला अदालतलाई गतिशिल बनाउन कानून ब्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने बताए । सहमतीद्धारा नेतृत्व चयन गर्ने बारको राम्रो अभ्यासलाई सबैले सिको गर्नु पर्ने जनाउदै बार र वेन्च बीचको सहकार्य र समन्वयले न्याय निरुपणमा सफलता मिल्ने पौडेलले बताए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तुलसी गिरीले कानून ब्यवसायीका मत र विश्वास कायम राख्दै कानून ब्यवसायीका क्षमता अभिबृद्धि, समयानुकुल ऐन, कानूनका बारेमा प्रशिक्षण, वार भवन निर्माण लगायत कानून ब्यवसायीका हक, हित र अधिकारका पक्षमा काम गर्ने प्रतिवद्धता जनाए ।

सोही कार्यक्रममा निवर्तमान अध्यक्ष चन्द्रबहादुर केसीले नवनिर्वाचित अध्यक्ष तुलसी गिरीलाई माइन्यूट हस्तान्तरण गर्दै कार्यसफलताको शुभकामना दिए ।

 

प्रतिक्रिया