‘सिङ्गो पार्टीको प्रतिनिधित्व गर्दै स्थानीय सरकारमा छु’

लक्ष्मण खत्री क्षेत्री (रामकाजी),
(वडाध्यक्ष),
भीरकोट न.पा. वडा नं. ६,
स्याङ्जा ।
साविक स्याङ्जाको खिलुङ देउराली गाविस जिल्लाकै चर्चित ठाउँ हो । जिल्ला सदरमुकामबाट टाढा रहेकाले यहाँ विकास निर्माणका कामहरु केही सुस्त भएपनि पछिल्लो समय देश संघिय संरचनामा गएपछि भीरकोट नगरपालिका–६ मा परिणत भएको खिलुङ देउरालीमा विकास निर्माणका केही कामहरु सुरुवात भएका छन् । भीरकोटको नगर कार्यसमितिमा नेकपा एमालेबाट भएको एकमात्र जनप्रतिनिधिको उपस्थितीलाई यसै वडाले प्रतिनिधित्व गरेको छ । नेपाली काँग्रेसको पकेट क्षेत्र मानिएको यस वडाबाट एमालेका लक्ष्मण खत्री (रामकाजी) दोश्रोपटक जनप्रतिनिधिको रुपमा निर्वाचित भएका हुन् । भौगोलिक जटिलताका बिचमा पनि यहाँ भैरहेको प्रगतिले युवाको नेतृत्वमा कामले सफलता पाउँछन् भन्ने कुराको प्रतिनिधित्व गरेको छ । स्थानीय सरकारको दोश्रो निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेर वडाको नेतृत्वमा पुगेका खत्रीसँग काँग्रेसको बाहुल्य रहेको यस वडामा निर्वाचित भएपछि भएका काम र बनेका योजनाको बिषयमा हामीले केलाउने प्रयास गरेका छौं । प्रस्तुत छ खत्रीको दोश्रोपटकको २ बर्षे कार्यकालको बिषयमा पब्लिक आवाज पत्रिका र अनलाईनकाका सम्पादक अमृत अर्यालले गरेको छोटो संवाद ।

१. अध्यक्ष ज्यू आराम हुनुहुन्छ ?तपाई त दोश्रो पटक वडा अध्यक्षको भूमिकामा हुनुहुन्छ, वडा अध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुँदो रहेछ ?

धन्यवाद, नमस्कार । हजुर, म आरामै छु । काम गर्न गाह्रो छ भन्न मिलेन, हामी जनताका प्रतिनिधि भएकाले सबैको चित्त बुझ्ने गरी काम गछौं भनेर नै निर्वाचित भएका हौं । वडावासीलाई सहज रुपमा सेवा प्रवाह गर्नु हाम्रो प्रमुख दायित्व हो । हामी यस विषयमा गम्भिरतापूर्वक लागिरहेका छौं । पहिलो पटकको केही अनुभव भएकाले कार्यसम्पादनमा थोरै सहज भएको छ । हामीले बिस्तारै समस्याहरुको समाधान गर्दै कामलाई सहज बनाउने प्रयास गरिरहेका छौं । वडा कार्यलयमा सचिव र कार्यलय सहयोगी साथै वडा सदस्यको राम्रो सहयोग मिल्दा सोचे अनुरुप अध्यक्षको पद निर्वाह गर्न सकिएको छ । केही काम सिक्दै र केही अनुभवहरुलाई प्रयोग गर्दै जनताको हितमा काम गर्ने प्रयास गरिरहेका छौं । सुरुवाती दिनभन्दा पछिल्ला दिन सहज बन्दै गैरहेका छन् ।वडाध्यक्षको रुपमा पहिलो र दोश्रो कार्यकालमा तात्विक रुपमा खासै अन्तर छैन ।

२. वडा अध्यक्ष भएपछि जनताले महसुस गर्ने गरी के–के काम गर्नु भयो ? युवा वडाध्यक्ष हुनुको नाताले के नयाँ काम गर्नु भयो ? सबै अन्यको जस्तै भयो भने त युवा हुनु र नहुनुको औचित्य के रह्यो र ?

पहिलो कुरा त हामी पूर्वाधारको अभावमा छटपटाई रहेका थियौं । म आए पछिको पहिलो काम भनेको नै पूर्वाधार निर्माणको काम रहयो । आम जनताको माग पनि त्यही अनुसारको थियो । पूर्वाधार निर्माणमा पनि सडक पहिलो प्राथमीकतामा राखेर काम गरेका छौं । अध्यक्षको पदमा निर्वाचित भएपछि सुरुको मेरो प्रयास भनेको सडक सुधारमा ध्यान केन्द्रित गर्ने भयो । स्थानीय सरकारको निर्वाचन हुनु पूर्व हाम्रो वडा अथवा साविकको गाविसमा आउने बजेट सदुपयोग हुन नसकेका कारणले सोचेको जस्तो सडक बन्न सकेका थिएनन् । हामीले सबैको पहुँचमा हुने गरी सडक बिस्तारको कामलाई तिब्रता दिएका छौं । कयौं कामहरु भएका छन् भने कतिपय सडकका काम सम्पन्न हुने चरणमा रहेका छन् । वडामा सिमित बजेट रहने कुरा त तपाई हामी सबैलाई थाहा छ । सिमित स्रोत र साधनका बावजुद पनि आवश्यक ठाउँहरुमा पदमार्ग निर्माण तथा सडक स्तरोन्नती, व्यवसायीक कृषकलाई दाना, बिउबिजन, हाते टयाक्टर, कम्बो मिल वितरण गरेका छौं । साथै शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि हाम्रो ध्यान पुगेको छ । यस वडामा खानेपानीको समस्या छैन, हरेक घरमा खानेपानी पु¥याउन सफल भएका छौं । युवा लक्षित कार्यक्रम अन्तर्गत कपाल काट्ने तालिम तथा नौमाती बाजा खरिद गरी बजाउन समेत सिकाउने तालिम संचालन गरियो । युवा वडा अध्यक्ष हुदै गर्दा युवा लक्षित कार्यक्रममा मेरो ध्यान पुगेको छ र सोही अनुशारको कार्यक्रम पनि संचालन गरिएको छ । ति सबैको फेहरिस्त यहाँ संभव नहोला । नगरपालिकाबाट बिनियोजन भएको बजेटलाई पूर्ण रुपमा सदुपयोग गर्ने प्रयासमा म सधै तल्लिन छु । हामीले कयौं साना कामहरु गरेका छौं जुन कामहरु प्रत्यक्ष जनताको जिविकासँग जोडिएका छन् । कार्यालयमा सम्पादन हुने कामहरुमा पनि सुधार आएको छ । दुई बर्ष सम्मको वडाको ठुलै बजेट र निरन्तरश्रमदान सहित सुन्दरचौर पार्कमा लगानी गरेका छौं।

३. वडा कार्यालय नियमित नखुल्ने र सचिब नभेटिने समस्या छ भन्छन नि ?

वडा कार्यालय नियमित नखुल्ने भन्ने त हुदैन । जहाँसम्म कर्मचारीको विषय छ, सेवाग्राही पुग्दा नभेटिएको कुरा सार्वजनिक भएपछी हामी सेवा प्रवाहमा सुधार गरेका छौं । त्यो बाहेक कार्यालयका काममा हाम्रोमा समस्या छैन् । हाम्रो वडा कार्यलयमा जनताले गुनासो गरेको प्रमुख समस्या भने यहिँ मात्रै थियो । तर त्यस समस्यापछि सचिव नहुने, अध्यक्ष नहुने, कार्यालय नखुल्ने जस्ता समस्या भने हाम्रो वडा कार्यलयमा छैन् । यस प्रकारको समस्या नआओस् भनेर पनि हामी पूर्ण रुपमा जनताको सेवाको लागि कार्यालयमा सार्वजनिक छुट्टी बाहेक सधैभरि उपस्थिती हुने गरेको छौँ । कर्मचारी र हाम्रो उपस्थिती नभएका कारणले काम नभएको वा सर्वसाधारणले दुःख पाएको भन्ने गुनासो छैन् ।साथै कार्यालयमा नभेटिने गुनासो कहिलेकाही जनप्रतिनिधितर्फ पनि आउने गरेको छ । हामी जनप्रतिनिधि दिनरात नभनी आवश्यक परेका बेला जहाँ पनि उपलब्ध हुन्छौं । योजनाको अनुगमनदेखि श्रमदानमा आफ्नै पनि सहभागिता र विविध कार्यक्रममा सहभागी हुदाँको बखत जनप्रतिनिधिलाई कार्यालयमा नभेटिन सक्छ तर सेवाग्राहीलाई सहज सेवा दिन हाम्रो हरदम प्रयास रहन्छ ।

४. हजुरको वडाको विकासका लागि नगर परिषदबाट के–के योजनाहरु अगाडी सार्नु भएको छ र हालसम्म के–के गर्नु भयो त ?

हामीले पटक पटकमुख्य रुपमा उठाएको प्रसंग स्वास्थ्य क्षेत्रको हो । स्वास्थ्य क्षेत्रमा समस्या रहयो भने हरेक क्षेत्रमा समस्या कायम रहन्छ । स्वास्थ्य र शिक्षाको सुधारमा हामीले बिषेश ध्यान दिएका छौं । वडामा रहेका खानेपानीदेखि कृषि लगायको क्षेत्रमा देखिएको समस्याको समाधानको लागि योजनाहरु नगरपरिषदमा पेश गरेको थिए । हामीलाई आवश्यकता धेरै छन् । उपलव्धता कम हुनुका कारणले सबै कुरा नपुग्ला तर परिषदले न्यायीक निर्णय गरेको छ र काममा सहजता हुन्छ भन्ने लागेको छ । मुख्य गरी बयरघारी सुन्दरबजार सडक, सुन्दरबजार सुन्दरचौर सडक, सिमलचौर आमडाँडा सडक, सिमलचौर सिंचाई, आँधीखोला करीडोर, खिलुङ देउराली स्वास्थ्य चौकी स्तरोन्नती, आँधीखोला तटबन्ध, भाग्योदय नमूना विद्यालयसँगै वडाको शैक्षिक स्तरोन्नती, सुन्दरचौर पार्कको थप व्यवस्थापन लगायतका योजनाहरु अगाडी सारिएको छ । केही सडक पिच र ढलानको काम सुरुवात गरिएको छ । स्वास्थ्य चौकीका लागि ९ रोपनी जग्गा खरिद गरिएको छ । सुन्दरचौरलाई पर्यटकीय पार्कको रुपमा अगाडी बढाइएको छ । आँधीखोला करिडोरका लागि सडक चौडा गर्ने कार्य सकिएको छ ।

५. तपाईको वडा अन्तर्गत पर्ने बयरघारी सुन्दरबजार सडकको अवस्था हेर्ने हो भने बिजोग छ, यो बाटोमा कहिलेसम्म जनता धुलाम्मे भैरहनुपर्ने हो ? साथै वडा भित्रका अन्य सडकहरुको अवस्था कस्तो छ ? सडकको स्तरोन्नतिका नयाँ योजना छन् कि ?

बयरघारी सुन्दरबजार सडक शहरी विकास कार्यक्रम र भीरकोट नगरपालिकाको सहकार्यमा पिच गर्नका लागि टेण्डर भैसकेको छ । आगामी भदौ महिनाबाट यसको निर्माण कार्य प्रारम्भ हुनेछ । वडाभित्रका अन्य सडकहरुको चौडा गर्ने काम सकिएको छ । केही सडकहरुमा पिच र ढलानको कार्य प्रारम्भ भएको छ । बाँकी कार्य सम्पन्न गर्नका लागि वडा र नगरबाट बजेट बिनियोजन गरिएको छ । अपुग बजेटका लागि सम्वन्धित निकायमा थप बजेट माग गरेका छौं ।

६. तपाईको वडाामा निर्माण हुने भनिएको नगर अस्पताल शिलन्यास भएको ४ बर्ष वितिसक्दा पनि अझैसम्म निर्माणको केही सुरसार देखिदैंन नि ? के यो अस्पताल शिलन्यासमै सिमित हुने हो ?यस बारे तपाईले के सोच्नु भएको छ ?

म सहित विभिन्न व्याक्तिहरुले १५ शैयाको नगर अस्पताल बन्ने आशामा सरकारी दररेटमा ९ रोपनी जग्गा खिलुङ देउराली स्वास्थ्य चौकीको नाममा पास गरेर दियौं । तत्कालिन स्वास्थ्य मन्त्री पद्मा अर्यालले उक्त अस्पतालको शिलन्यास पनि गर्नुभयो । यसमा नगरपालिकाले लगानी गरेको थियो । तर आज आएर विभिन्न बाहानामा त्यहाँ उक्त अस्पताल बन्न नदिने प्रपन्च रचिएको छ । जग्गादाताहरुलाई जवाफ दिन सकिएको छैन । विभिन्न व्यक्तिको व्यक्तिगत स्वार्थ र पूर्वाग्राही सोचले अस्पताल बन्ने संभावना न्यून हुदै गएको देखिन्छ ।

७. आफ्नो दोश्रो कार्यकालमा हुजुरको वडालाई कस्तो बनाउने योजना छ ?

आँधीखोला र लुब्दीखोलाको काखमा रहेको यस वडालाई प्रसिद्व सुन्दरचौर पार्कले चिनाई रहेको छ । यहाँ भित्र रहेका श्रोत र साधनहरुको भरपुर खोजी र प्रयोग गरी जिल्ला कै नमुना वडा बनाउन सकिने अवस्था छ । हामी हाम्रो कार्यकालमा यो वडालाई सुबिधा सम्पन्न वडा बनाउने तथा सुन्दरचौरलाई जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने तयारीमा र्छौ ।

८. नगरमै एकमात्र नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुँदा आफू भन्दा फरक दल र समकक्षी तथा अन्यले हेर्ने दृष्टिकोण कस्तो पाउनु भयो ?

सिंगो पार्टीको प्रतिनिधित्व गर्दै स्थानीय सरकारमा जान पाउनु मेरो जीवनमा संझनलायक ऐतिहासिक क्षण हो । नगरसभामा ४९ जनाको जम्बो टिम एउटा पार्टीबाट र म एकजना मात्र फरक पार्टीबाट हुदाँ पनि मलाई खासै असहज भएको छैन । एकाध घटनाक्रम बाहेक यो दोश्रो कार्यकालको २ वर्ष स्मरणयोग्य नै छ ।

९. अहिले सम्मको अनुभवमा वडाध्यक्षको पद के हो ? अनि आफूलाई मत दिएर जिताउने मतदातालाई के भन्नुहुन्छ ?

वडाध्यक्ष पनि स्थानीय सरकारको एउटा महत्वपूर्ण पद हो । वडावासीको हरेक दुख सुखसँग हातेमालो गर्न पाईने पद वडाध्यक्ष हो । वडाको आवश्यकता पहिचान गरि त्यसको व्यवस्थापन गर्ने पद पनि हो । अन्त्यमा आफ्नो अमूल्य मत दिएर मलाई दोश्रो पटक भारी मतका साथ विजयी गराउनुहुने सम्पूर्ण मतदाताहरुलाई हृदयदेखि नै धन्यवाद छ । तपाईहरुको विश्वास, आशा र भरोसालाई निराश हुन दिने छैन । धन्यवाद ।

प्रतिक्रिया