स्याङ्जामा २८ प्रतिशत रोपाई

वालिङ ।
किसानहरु यतीबेला धान र कोदो रोप्न व्यस्त छन् । स्याङ्जाको मुख्य वालीका रुपमा रहेको कोदो र धान रोप्ने समय यही हो । अहिले सम्म स्याङ्जामा समग्रमा कुल क्षेत्रफल मध्ये २८ प्रतिशत धान रोपाई भएको छ । असार सकिन केही दिन बाँकी रहदा सम्म जिल्लामा धान खेती हुने क्षेत्रफल १६ हजार हेक्टर मध्ये समग्रमा २८ प्रतिशत रोपाई सम्पन्न भएको हो ।

यस वर्ष प्रिमनसुन प्रयाप्त नहुँनु मनसुन ढिलो शुरु हुनु जस्ता कारण असारको तेस्रो साता कटिसक्दा पनि कम रोपाई भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ । विगत केहि दिनदेखि भने वर्षा भईरहेका कारण अहिले दैनिक ७ देखी १० प्रतिशतसम्म धान रोपाई कार्य भईरहेको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जानकारी दिए । स्याङ्जामा धान रोप्ने समय मुख्य गरी असार १५देखि साउन १५ नै हो तथापी बाह्रै महिना सिंचाईको सुविधा भएका तथा बाँझो खेतमा भने जेष्ठ अन्तिमबाट पनि रोपाई हुने गरेको प्रमुख हमालले बताए । असार १५ देखी साउन १५ भित्र रोपाई गरेको धान बढी फल्ने गरेको तथ्याङकले देखाएको प्रमुख हमालले बताए ।

११ पालिका रहेको जिल्लाको अर्जुनचौपारी, हरिनास, फेदिखोला र आँधीखोला गाउँपालिकामा भने ६० प्रतिशत रोपाई सकिएको र जिल्लाका अन्य पालिका वालिङ, भीरकोट, बिरुवाको फाँट, पुतलीबजारमा भने ३० प्रतिशत रोपाई भएको हमालले बताए । जिल्लाको पश्चिम क्षेत्र कालीगण्डकी, चापाकोट, गल्याङमा भने १५ प्रतिशत सम्म रोपाई सकिएको । जिल्लाका पश्चिम भेगमा साउन अन्तिमसम्म पनि रोपाई हुने प्रमुख हमालले बताए ।

यो वर्ष जिल्लामा धान खेती हुने क्षेत्रफल समेत घटेको देखिएको छ । गतवर्ष हिँउदे र वर्षे गरी १८ हजार हेक्टरमा धान उत्पादन हुने गरेकोमा यो वर्ष भने १६ हजार हेक्टरमा मात्रै रोपाई हुने भएको छ । जसमा हिउँदे २ हजार र वर्षे १४ हजार हेक्टर क्षेत्रफलमा रोपाई हुनेछ । पछिल्लो समय ग्रामिण भेगमा सुन्तला कागती जस्ता फलफुलजन्य खेतिमा आर्कषण बढ्नु, जनशक्ति विदेशीनु, सिँचाईको सुविधा नहुँदा बारीमा परिणत हुनु जस्ता कारणले २ हजार हेक्टर क्षेत्रफल धानखेती योग्य जमिन कम भएको केन्द्रका प्रमुख हमालले बताए । यो वर्ष गण्डकी प्रदेशमा प्रर्याप्त वर्षा हुने मौसमविदले प्रक्षेपण गरेका कारण जिल्लामा ९५ प्रतिशत रोपाई हुने अनुमान गरिएको छ । गतवर्ष जिल्लामा ९२ प्रतिशत रोपाई भएको थियो ।

विभिन्न हाईब्रिट जातका धानहरु बजारमा भित्रिए पनि स्याङ्जाका कृषकहरुले उन्ननत जातको धान नै लगाउने गरेका छन् । हाईब्रिटमा छिटै रोग किराले आक्रमण गर्ने भएकाले कृषकहरु उन्नत जातका धानमा आर्कषित छन् । सावित्री, सुनौलो सुगन्धलगायतका उन्नत जातका धान नै स्याङ्जाका किसानले लगाउँदै आएको केन्द्रका प्रमुख हमालले बताए ।

स्याङ्जाको आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङ, सेतीदोभान फाँटहरु, अर्जुनचौपारी फाँट र बिरुवा फाँटहरु धान खेतीका उर्वर क्षेत्र हुन । यहाँ तराईंका फाँटमा झैं धान उत्पादन हुन्छन् । यसै गरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ पनि धान उत्पादन हुने प्रमुख क्षेत्रहरु हुन ।

 

प्रतिक्रिया