असार २६ देखी २९ सम्म भारी बर्षा, सतर्कता अपनाउन प्रशासनको आग्रह

स्याङ्जा ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले तीनदिन भारी बर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी असार २६ गते राती देखी २९ सम्म तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी जारी गरेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

 

मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट नेपालतर्फ सरेकाले महाशाखाले विशेष बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाको आग्रहलाई प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लाका ११ ओटै पालिका पनि उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेकी हुन् ।

महाशाले बुलेटिन सार्वजनिक गर्दै हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अर्थात् नेपालको दक्षिण सिमाना आसपास छ । उक्त रेखा आज रातिबाट अझै नेपालतर्फ सर्ने सम्भावना छ । भोलि बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको उल्लेख गरेको छ । त्यसैले यी दुवै प्रणालीको प्रभावले आज असार २६ गते रातिदेखि २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने पूर्वानुमान गरिएको महाशाखाले जानकारी दिएको छ ।

 

सोही विश्लेषणको आधारमा महाशाखाले नेपालका ४३ जिल्लालाई उच्च जोखिममा र २६ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको छ । जोखिममा राखेका जिल्लाहरु मध्ये स्याङ्जा पनि उच्च जोखिममा रहेको उल्लेख गरिएको छ । गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लम्जुङ र गोर्खा जिल्लालाई पनि महाशाखाले उच्च जोखिमको सूचीमा राखेको छ ।

असार २१ र २२ गते परेको अविरल बर्षाका कारण स्याङ्जामा पनि ठुलो जनधनको क्षती भएको थियो । अहिले सम्म बाढी पहिरोमा परेर १० जनाले ज्यान गुमाइसकेका छन् भने दर्जनौ घरपरिवार पहिरो पिडित हुन पुगेका छन् । अहिले सम्म बाढी पहिरोको क्षतीको विवरण संकलन कार्य जारी रहेकाले कति क्षती भयो भन्ने अनुमान गर्न सकिएको छैन । फेरी पनि यस्तो विपत्ती हुने भएकाले समयमै सजग र सुरक्षित क्षेत्रमा बस्न प्रशासनले आग्रह गरेको छ ।

यस वर्ष मनसुन अवधिमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण भएकाले बाढी पहिरो र डुबानको समस्या बढ्ने सम्भावना छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन अवधिमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने आकलन गरेको छ ।

 

प्रतिक्रिया