एकसातामा स्याङ्जामा १० को मृत्य, ७ घाईते

स्याङ्जा ।
यसपटक स्याङ्जा मनसुनजन्य विपदको उच्च जोखिममा रहेको भन्दै विपद ब्यवस्थापन समितिले उच्च सतर्कता अपनाउन सूचित गरेको छ । प्रदेशका ११ जिल्ला मध्ये स्याङ्जा उच्च जोखिममा रहेको बताइएको छ । अघिल्ला बर्षहरुका तुलनामा यसबर्ष स्याङ्जामा अत्याधिक बर्षा भएको छ । बर्षा सुरु भएसंगै जिल्लामा मानवीय एवं भौतिक क्षतिका धेरै घटनामा पनि बृद्धि भएका छन ्।

एकसाताभित्रमा जिल्लामा १० जनाको ज्यान गैसकेको छ भने ७ जना घाईते छन् । करोडौं मूल्य बराबरका धनजनको क्षति भएको छ । बाढी पहिरोमा परेर ज्यान जानेमा विरुवा गाउपालिकाका ३, फेदिखोला गाउपालिकाका २, आँधीखोला गाउँपालिकाका २, भीरकोट नगरपालिकाका २ र पुतलीबजार नगरपालिकाका एक जना छन् ।

विरुवा गाउपालिकामा ५ जना र आँधीखोला गाउपालिकाका २ जना घाईते छन् । भीरकोट, गल्याङ् नगरपालिका सहित आँधीखोला गाउँपालिकाका बस्ती नै जोखिममा छन् । कयौं घरहरु बाढी पहिराका चपेटामा परेका छन । विपद ब्यवस्थापन समितिको बैठकमा सहभागी सदस्यहरुलाई विपदबाट भएका धनजनको जानकारी गराउदै सहायक प्रजिअ दिपक पौडेलले ती मानवीय क्षतिसंगै ६ वटा घर पूर्णरुपमा र ५ वटा घर जोखिममा रहेको जानकारी गराए ।

यसैगरी, ८ वटा पशुचौपाया ( भैसी, बाख्रा) मरेका, २ वटा गोरु बगेर बेपत्ता भएको र एउटा भैसी घाईते भएको जानकारी दिए । बर्षात् र पहिराका कारण दर्जनभन्दा धेरै स्थानमा सिद्धार्थ राजमार्ग अवरुद्ध बने । खाल्डाखुल्डी र केही स्थानमा राजमार्ग चिरा पर्नुका साथै भासिए पनि स्थानीय पालिका र सडक कार्यालयका डोजरले तत्कालका लागि पहिरो पन्छाउने काम गरे पनि राजमार्ग अन्र्तगत सडक खण्डका कयौं स्थानमा भएका खाल्डाखुल्डीले आवतजावतमा भने निकै कठिनाई पार्दै आएको छ ।

राजमार्गका छेउछाउबाट ठूला सानागरी दर्जनौं ठाउँमा खसेका बाढी पहिरालाई स्थानीय पालिकाले खुलाउने क्रम पनि जारी छ । आँधीखोला किनारका सयौं रोपनी धान खेत बगरमा परिणत भएका छन् । धानखेतमा बाढी पस्दा सयौं हेक्टरमा रोपिएका धानवाली नष्ट भएका छन् । सबैभन्दा पहिला मानवीय सेवा गर्नु पर्ने जनाउदै विपदका समयमा खाद्यान्न, खानेपानी, स्वास्थ्योपचार, बिजुलीबत्ती, इन्टरनेट जस्ता बस्तु तथा उपकरणको ब्यवस्थापन मिलाउन समेत प्रम्ख जिल्ला अधिकारी सुनिता नेपालले सरोकारवाला सबैलाई सुझाव दिईन ।
जोखिमपूर्ण घर पहिचानगरी सुरक्षित स्थानमा बस्ने ब्यवस्था मिलाउन सबै पालिकाहरुले तयारी गर्नुपर्ने उनको भनाई छ ।

विपत्तीका बेला सबैले आ आफना क्षेत्रबाट सहयोग गर्न आग्रह गर्दैै तोकिएको भन्दा बढी मूल्य लिनेलाई कालोबजारीमा मुद्धा लगाईने बताईन् । पुतलीबजार नगरपालिकामा मानवीयसंगै घर गोठ, सडक, जमिनमा क्षति पुगेको उपप्रमुख देवी अर्यालको भनाई छ । सिद्धार्थ राजमार्ग सहित लगायत भित्री सडकमा बाढीपहिराले असर पारेको जनाउदै प्रभावित क्षेत्रमा पुगेर सहयोग गरेको र स्थानीय डोजर लगायत उपकरण पठाएर बाढी पन्छाउनुका साथै आवश्यक सहयोगका काम भैरहेको जानकारी दिईन ।

बैठकका सुरक्षा निकाय प्रमुखहरु, नागरिक समाज, स्वास्थ्य तथा अस्पताल प्रमुख, उद्योग वाणिज्य संघ स्याङजा, च्याम्बर अफ कमर्श, उपभोक्ता मंच, गैरसरकारी संस्था महासंघ, रेडक्रस लगायतले आ आफना क्षेत्रबाट हुने आवश्यककीय सहयोग गर्ने प्रतिवद्धता जनाउनुका साथै सल्लाह सुझाव दिएका थिए । बर्षातको समय अझै बाँकी रहेकाले आउदा दिनमा क्षति न्यूनिकरणका लागि सहयोग एवं सहकार्य गर्ने सहभागीका भनाई छन ।

करिब एक महिनाअघि स्याङ्जा प्रशासनमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएकोे छ । मनसुनजन्य विपद् प्रभावितलाई तथा राहत दिने उदेश्यले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको हो । विपत्तीका बेला तत्काल सहयोग तथा राहत उपलब्ध गराउन सहज बनाउन सकिने भन्दै जिल्लाका ११ वटा स्थानीय पालिकामा पनि विपद् सहायता कक्षहरु स्थापना गर्न सुझाइएको छ । आफुलाई प्राप्त सूचना तत्काल सार्वजनिक गर्न समेत समितिको आग्रह छ ।

 

प्रतिक्रिया