किसानलाई अनुदान भन्दा सहुलियत ऋणको माग
स्याङ्जा ।
स्याङ्जाका किसानले अनुदानमा रकम बाड्न भन्दा सहुलियत ऋणको व्यवस्था गर्न माग गरेका छन् । अनुदानका कार्यक्रमले बिकृति निम्तिएको भन्दै स्याङ्जाका किसानहरुले सहुलियतदरमा ऋणको व्यवस्था गर्न माग गरेका हुन् । भेटरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्याङ्जाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकांश पशु किसानहरुले अनुदानले किसानलाई फाइदा नपुगेको भन्दै सहुलियतदरमा ऋण प्रवाह गर्ने व्यवस्था लागु गर्न माग गरेका थिए । अनुदानका कार्यक्रमले किसान—किसान बिच हुने विभेद र झोले किसानलाई मात्रै फाइदा हुने गरेको आरोप उनीहरुको थियो ।
स्थानीयतह मार्फत किसानहरुलाई बिना ब्याज तथा सहुलियत दरमा मापदण्ड निर्माण गरी ऋण प्रवाह गरेमा राम्रो हुने किसानहरुको भनाई थियो । जसले गर्दा झोले र बिचौलीय किसानहरु मौलाउने कार्य बन्द हुने अधिकांश किसानहरुले जोड दिए । पशुपालन व्यवसायमा नयाँ प्रविधि भित्राउनु पर्ने माग समेत उनीहरुले राखेका छन् । घासँ काट्ने मेसिन, हरियो घाँस भण्डारण कक्ष लगायतमा नयाँ प्रविधि भित्राउन सकियो भने पशुपालनबाट फाईदा लिन सकिनेमा पशु किसानहरुको जोड थियो । पशुपालक किसान राजेन्द्र मरासिनी, कमला अर्याल, भिम लुईटेल, युवराज केसी, शेषकान्त सुवेदी, भुवन मल्ल, टिकाराम पौडेल, मेघनाथ पौडेल लगायतका किसानहरुले समस्या र समाधानका बिषयमा सुझाव दिएका थिए ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले चालु आर्थिक वर्षमा संचालित कार्यक्रमहरुको बारेमा जानकारी दिने उद्देश्यले पशुपालक किसानहरुलाई सार्वजानिक सुनुवाई गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटिले परम्परागत रुपमा भन्दा व्यवसायिक रुपमा फराकिलो ढंगले कृषि व्यवसाय गर्नुपर्नेमा जोड दिए । सामुहिक रुपमा धेरै पुँजी लगानी गरेर व्यवसाय संचालन गर्न सकिने भन्दै कृषि उपजको बजारीकरणमा विचौलियाको हाबीलाई अन्त्य गर्नुपर्नेमा प्रमुख जिटीको जोड छ । कृषकको समृद्धिले मात्र मुलुक तथा स्थानीयतह समृद्ध हुन सक्ने भएकाले कृषि उत्पादकत्वमा जोड दिनुपर्ने बताउदै प्रमुख जिटीले कृषकहरुको हितमा काम गर्न सबै बिषयगत कार्यालयलाई आग्रह गरे ।
कार्यक्रममा कार्यालय प्रमुख श्रेष्ठले कार्यालयले चालु आर्थिक वर्षमा गरेका कार्यप्रगतिका विषयमा कार्यपत्र पेश गरेका थिए । २ लाख ५३ हजार २४ जनसंख्या रहेको स्याङ्जामा ६८ हजार ९ सय २३ घरधुरी रहेका छन् । ति घरधुरी मध्ये ४५ हजार २ सय १२ घरधुरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पशुपालनमा लागेको कार्यालयको तथ्यांक छ । १ लाख १ हजार ६ सय ४९ हेक्टर क्षेत्रफल रहेको स्याङ्जामा ३२ हजार ४ सय ५० हेक्टर खेतियोग्य जमिन रहेको छ भने २० हजार ७ सय ३३ हेक्टर वनजंगलले ओगटेको छ ।
त्यस्तै ४ हजार ४५८.९४ हेक्टर चरन क्षेत्र रहेको छ । स्याङ्जा दुध, अण्डा र मासुमा आत्मनिर्भर रहेको केन्द्रको तथ्यांकले देखाएको छ । प्रतिव्यक्ति ९१ लिटर दुध हरेक वर्ष आवश्यक रहेकोमा स्याङ्जामा प्रतिव्यक्ति ११२ लिटर दुध उपलब्ध हुदै आएको तथ्याङ्कले दिए । त्यस्तै प्रतिव्यक्ति १४ केजी मासु आवश्यक पर्नेमा स्याङ्जामा १४ केजी नै उत्पादन हुने गरेको छ । यो परिणाम हरेक वर्षका लागी हो । त्यस्तै ४८ अण्डा प्रतिव्यक्ति आवश्यक पर्नेमा २३१ गोटा अण्डा उपलब्ध रहेको केन्द्रका प्रमुख डा.श्रेष्ठले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरिएको छ ।
कर्यक्रम डाक्टर रुपेश श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत गोपाल गिरी र सन्चालन पुरुषोत्तम कोईरालाले गर्नुभएको थियो । कार्यक्रममा राजेन्द्र मरासिनी, भवानी अधिकारी, कमला अर्याल, बक्ता भिम लुईटेल, युवराज केसी, शेषकान्त सुवेदी, भुवन मल्ल, टिकाराम पौडेल, मेघ प्रनेशलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया