भीरकोटले सामुदायिक विद्यालयको लेखा परीक्षणका लागि लेखापरीक्षक खोज्दै

अमृत अर्याल
भीरकोट ।
भीरकोटका सामुदायिक विद्यालयहरुको लेखापरीक्षण गर्नका लागि नगरपालिकाले लेखापरीक्षक सुचिकृत हुन आव्हान गरेको छ । आर्थिक बर्ष समाप्त भएसँगै विद्यालयहरुमा लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने काम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले जानकारी दिए । अघिल्लो आर्थिक बर्ष २०८०÷०८१ को लेखापरीक्षण प्रतिवेदन पेश गर्न लेखापरीक्षक छनौटका लागि सूचना जारी गरिएको छ उनले भने “स्थानीय तहमा सामुदायिक विद्यालय हस्तान्तरण गरेपछि लेखापरीक्षण प्रतिवेदन स्थानीय तहमै बुझाउनुपर्ने भएकाले समयमै कामको थालनी गरेका छौं ।” लेखापरीक्षण गर्न इच्छुक व्यक्ति तथा फर्मले साउन १८ गतेभित्र निवेदन दिनका लागि नगरपालिकाले अनुरोध गरेको छ । निवेदकले लेखापरीक्षकमा दर्ता भएको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, बहालवाला कर्मचारीको हकमा विभागीय स्वीकृति र नेपाल चार्टड एकाउण्टेण्टस संस्थाको नविकरण प्रमाणपत्र पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।
पालिकामा रहेका ३९ सामुदायिक विद्यालयको लेखापरीक्षणका लागि लेखापरीक्षक छनौटको काम सुरु भएको हो । प्रत्येक आर्थिक बर्षमा लेखापरीक्षण गर्नुपर्ने भएपनि विद्यालयहरुले समयमा लेखापरीक्षण नगराउँदा विभिन्न खालका समस्याहरु देखिने गरेका छन् । विद्यालयको हिसाबकिताब चुस्तदुरुस्त राख्न अपनाइने लेखा परीक्षण धेरै जसो विद्यालयले नगरेको पाइएको छ । विद्यालयले हरेक आर्थिक बर्षको अन्त्यमा लेखापरीक्षण प्रतिवेदन बनाउनुपर्ने कुरा शिक्षा ऐनमै उल्लेख छ । विद्यालयको हिसाबकिताब चुस्त दुरुस्त नहुँदा पठनपाठनमा समेत अवरोध आउने गरेको छ ।
प्रतिक्रिया