धार्मिक पर्यटन प्रवद्धनमा युवाहरुको सक्रियता

श्रीकृष्ण सिग्देल,
स्याङ्जा ।
मुलुक संघियतामा गएसगै धर्मनिरपेक्ष भएपछि हिन्दुधर्मको प्रचारप्रसार बढ्न थालेको छ । विभिन्न माध्यमबाट पछिल्लो समय सनातन हिन्दु संस्कृतिको प्रवद्धन गर्नेक्रम बढ्दो छ । हिन्दु धर्मको प्रचार प्रसार धार्मिक पर्यटन प्रवद्धन गर्ने उदेश्यले स्याङ्जाको वालिङका बोलबम समितिले धार्मिक स्थलको प्रचार प्रसारका लागि २१ औं संस्करणको भ्रमण शुरु गरेको छ ।

बिशेषगरी श्रावण महिनालाई शिवको महिनाको रुपमा मानिन्छ । देवताका पनि महादेवताको रुपमा मानिने भगवान शिवको आराधनाका लागि बोलबम समिति वालिङले देशका विभिन्न जिल्लामा रहेका धार्मिक स्थल शिवालय मन्दिरको दर्शन गर्ने प्रचलनको विकास गर्दै आएको छ । धार्मिक यात्रा सगै धर्म र पर्यटन प्रवद्धनमा टेवा पुग्ने उदेश्य राखेर बोलबम समिति वालिङ्ले यो पटक २१ औं संस्करणको यात्रा शुरु गरेको छ ।
स्याङ्जाको धार्मिक स्थल रामनदीधाम राम्दीबाट कालीगण्डकी नदीको जल लिएर धार्मिक यात्रा शुरु गरेको समितिले यो पटक सल्यान जिल्लाको श्रीनगर स्थित छायाँक्षेत्र मन्दिरमा १४ गते सोमबार जल चढाउने छ । २०६१ सालबाट शुरु गरिएको यो यात्रा हरेक बर्षको श्रावण महिनाको एउटा सोमबार देशका बिभिन्न धार्मिक स्थलमा पुग्ने गरिएको छ । यो बर्ष समितिले सल्यानमा रहेको छायाँक्षेत्र मन्दिर रोजाइमा परेको समितिका सदस्य युवराज गौतमले बताए

मुलुकका चर्चित धार्मिक स्थल मुक्तिनाथ, दामोदरकुण्ड, पशुपतिनाथ, पाथीभार, चतराधाम लगायत नेपालकै अग्लो ठाउँमा रहेको तिलिचोताल लगायत धार्मिक क्षेत्रमा समेत बोलबम समिति पुगिसकेको छ । यो समितिले धर्मको प्रचार प्रसार सगै आन्तरिक र बाह्रय धार्मिक पर्यटक प्रवद्धनमा महत्वपुर्ण भुमिका खेल्न सफल भएको छ । धार्मिक यात्रा सगै नेपाललाई धार्मिक पर्यटन क्षेत्रको हब बनाउने लक्ष्यका साथ यो यात्रा शुरु गरिदै आएको समितिका सदस्य खगुपति न्यौपानेले बताए ।

धर्मको प्रचार प्रसार सगै समितिले बाढी पहिरो पिडित, आगजनी पिडित, ठुला—ठुला रोग लागेर उपचारमा कठिनाई हुदै आएका पिडितहरुलाई समेत राहत वितरण गर्दै आएको छ । सामाजिक उत्तरदायीत्वमा समेत महत्वपुर्ण भुमिका खेल्दै आएको बोलबम समिति वालिङले स्याङ्जा र देशका विभिन्न धार्मिक स्थलको सम्वन्धलाई समेत नजिक ल्याउने काम गरेको छ । नयाँ पुस्तालाइृ धर्म के हो, संस्कृति के हो भन्ने सन्देश दिन हरेक बर्ष साउनको महिनामा यो धार्मिक यात्रा शुरु गरिएको समितिका अध्यक्ष दिपेन्द्र तिवारीले बताए । समितिल गतबर्ष पुर्वको पाँच पोखरी पुगेर धर्मको प्रचारप्रसार गरेको थियो । १२ गतेदेखी शुरु गरिएको यो यात्रा १८ गते स्याङ्जा फर्किनेछन् । यात्रामा ६५ जना धार्मिक बोलबम युवाहरु सहभागी छन् ।

धर्म संस्कृति सगै पर्यटन प्रवद्धनका लागि बोलबम समिति स्याङ्जाले थालेको यो अभियान निकै महत्वपुर्ण छ । हराउन थालेको धर्म संस्कृतिलाई जर्गेना गर्दै नयाँ पुस्तालाई सिकाउने यो अभियानमा नेपालका तिनै तहका सरकारहरुको पनि सहयोगको आवश्यक देखिन्छ । आजबाट शुरु गरिएको यात्रालाई वालिङका राजनीतिकदल, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ, नागरिक समाज लगायत संचाकर्मीहरुले बिदाई गरेका थिए । समितिका उपाध्यक्ष चन्दमान श्रेष्ठले स्वागत गरेको यात्राको कार्यक्रम संचालन सचिव राजु तिवारीले गरेका थिए ।

प्रतिक्रिया