स्याङ्जामा सार्वजनिक जग्गा संरक्षण अभियान

हिमाल न्यौपाने,
स्याङ्जा ।

जिल्ला प्रशासन कार्यालय स्याङजाले अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानको थालनी गरेको छ । अतिक्रमण भएका त्यस्ता जग्गाको छानबिन गरी सरकारको स्वामित्वमा ल्याउन गृह मन्त्रालयको निर्देशन अनुसार जिल्लामा संरक्षणको थालनी गरीएको हो ।

सार्वजनिक जग्गाहरु व्यक्तिले अतिक्रमण गरेको भन्ने गुनासा र उजुरीहरूका आधारमा जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकारका जनप्रतिनिधि सहितको टोली र स्थानीयसँगको सहकार्यमा अतिक्रमित जग्गा स्थलगत अनुगमन गरी संरक्षण गर्ने अभियानको सुरुवात पुतलीबजार नगरपालिकाबाट गरिएको छ ।

जिल्ला प्रशासन सहित सुरक्षा समिति र स्थानीय सरकार पुतलीबजार नगरपालिकाले वडा नं १३ मा रहेको ५० रोपनी भन्दा बढी अतिक्रमित सार्वजनिक जग्गा सरकारी स्वामित्वमा ल्याएर संरक्षण गरिएको छ । सार्वजनिक जग्गामा पिल्लर गाडेर सिमाना छुट्टाउने काम गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

सरकारी तथा सार्वजनिक सम्पत्ति जोगाउनु राज्यको दायित्व हो । त्यसैलै उक्त कामको थालनी गरीएको स्याङजाका प्रमुख जिल्ला अधिकारी सुुनिता नेपालले जानकारी दिइन् । यो क्रम अब जिल्लाभर लागु हुने प्रजिअ नेपालले बताइन् । अहिले संरक्षण गरिएको जग्गा सशस्त्र प्रहरीको ३० नम्वर गुल्मलाई उपलब्ध गराउने तयारी समेत थालिएको प्रशासनले जनाएको छ । २२ बर्षदेखी वालिङमा टहरा निर्माण गरेर सशस्त्र प्रहरीले सुरक्षा दिदै आएको छ । जग्गाको व्यवस्थापन नहुँदा निकै कष्टकररुपमा नागरिकको सुरक्षामा खटिन सशस्त्र प्रहरी बाध्यकारी थियो ।

 

प्रतिक्रिया