अर्जुनचौपारीमा टपरी बनाउने उद्योग संचालनमा
भीरकोट ।
अर्जुनचौपारी गाउँपालिका १ मा जिरोमा मेसिनबाट पातका दुना टपरी बनाउने उद्योग संचालनमा ल्याइएको छ । भगवतीमाई बहुउदेश्यीय सहकारी लिमिटेडले मेसिनबाट साल, कटुस, चिउरी लगायका पातबाट दुना टपरी बनाउने उद्योग संचालनमा ल्याएको हो ।
अर्जुनचौपारी गाउँपालिकाभित्र रहेका महिलाहरुलाई आयआर्जनमा जोड्न मेसिनबाट टपरी बनाउने उद्योग संचालनमा ल्याइएको सहकारीका संरक्षक टुकराज अर्यालले बताए । बेरोजगार महिलालाई आय आर्जनमा जोड्न र रोजगारमुलक पालिका बनाउने उदेश्यले मेसिन ल्याएर दुना टपरी बनाउन थालेको संरक्षक अर्यालले बताए । जंगलमा खेर गएका पातको सदुपयोग र आम्दानीको बाटो हुने भएकाले टपरी बनाउने अभियानमा जुटेको उनको भनाई छ । पातलाई जोडेर आकार दिने र मेसिनले च्यापेर टपरी बन्ने अर्यालले बताए ।
मेसिनले च्यापेर दुना टपरी बनाउने भएपनि पातलाई सिन्कोले जोड्ने र कत्रो आकारको बनाउने भन्ने काम महिलाहरुले गर्नेछन् । पाचँ वटा डाई मार्फत मेसिनले साना दुना देखी ठुला टपरी बनाउने छ भने दुनाको प्रति गोटाको तीन रुपियाँ र टपरीको आठ रुपियाँ सम्म मुल्य पर्ने छ ।
जंगलबाट पात खोजेर ल्याएको सानो पातलाई १ रुपैया र ठुलो पातलाई तिन रुपैयाँमा उद्योगले खरीद गर्नेछ । पातलाई मेसिनबाट दुना टपरी बनाउने काम भने सहकारीमा रहेका कर्मचारीले गर्नेगरी व्यवस्था मिलाइएको बताइएको छ । दुनाका लागि सिधै पातबाट बनाउने व्यवस्था छ भने टपरीको लागि सिन्कोले जोड्ने र मेसिनको प्रयोगबाट बनाइने सहकारीले जनाएको छ ।
पहिलो चरणमा २० जना आमा, दिदी–बहिनी पातबाट कच्चा पदार्थ बनाएर आय आर्जनमा जोडिएका छन् । मुख्य गरेर बिवाह, बर्तबन्ध र पुजा पाठमा प्रयोगमा आउने दुना टपरीलाई अब बाहिरबाट ल्यान नपर्ने अर्यालले बताए । दुई लाख ९४ हजार रुपियाँमा सहकारीले आफै मेसिन खरिद गरेर ल्याएको हो । मेसिनबाट एक दिनमा दुई हजार पाचँ सय वटा टपरी र दुना बन्ने छन् । अहिलेलाई पालिकाभित्रै बिक्रि गर्ने र पछि यसलाई बिस्तारै जिल्ला हुदै बाहिर लैजाने तयारीमा रहेको अर्यालले बताए ।
दुना टपरी बनाउने र बिक्री बितरण गर्ने कामको सुरुवात गदैै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले महिलालाई आय आर्जनमा जोड्न गरिने हरेक काममा पालिकाको सहयोग रहने बताए । रोजगारमुलक कामका लागि पालिका सधै साथमा रहने अध्यक्ष तिवारीले बताए ।
प्रतिक्रिया