‘अर्थतन्त्रको मेरुदण्ड उद्योगी व्यवसायी समस्यै समस्यामा जेलिएका छन्’
चिन्तामणी चापागाई,
उपाध्यक्ष,
भीरकोट उद्योग वाणिज्य संघ,
(प्रो.ठूलीभञ्याङ गाउँ शहर स्टोर्स)
बयरघारी, स्याङ्जा ।
देशको विषम आर्थिक अवस्थाका कारण अहिले धेरै उद्योगी व्यवसायी समस्यामा परेका छन् । देश एक हिसाबले आर्थिक मन्दीको अवस्थामा छ भन्दा पनि हुन्छ । कोरोना महामारीपछि सुरु भएको आर्थिक उचारचढाव तथा सरकारको अस्थिर नीतिको शिकार सानादेखि ठूला उद्योग व्यवसायीसम्म परेको छ । यसको सबैभन्दा बढी प्रभाव मध्यम खालका उद्योगी व्यापारीहरुमा परेको पीडितहरुको अनुभव र भोगाईबाट देखिन्छ । व्यवसायिक वातावरण नहुँदा मानिसहरु एक पेशाबाट अर्कोमा मात्रै नभएर देशबाटै पलायन हुने र आत्महत्या गर्नेसम्मका घटनाहरु समेत देखिएको छ । बैंकिङ क्षेत्रले ऋण प्रवाहमा एकपछि अर्को कठोर नीति लिने र तरलता संकुचनको कारण देखाउँदै ब्याजदर अस्वाभाविक रुपमा बढाउने जस्ता कुराले मध्यम वर्गीय व्यवसायीहरु धेरै पीडामा रहेको भीरकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष चिन्तामणी चापागाई बताउँछन् ।सहकारीमा पैसा डुब्दा, उधारो कारोबारको पैसा नउठ्दा, बैंकहरुले दुःख दिँदा हजारौं व्यवसायीहरु पलायनको अवस्थामा पुगेका छन् । प्रतिकुल व्यवसायिक वातावरणका कारण घर र सटरहरु खाली हुँदै गएका छन् । यसै सन्दर्भमा केन्द्रित भएर भीरकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा सफल व्यवसायी चिन्तामणी चापागाईसँग पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालले गरेको कुराकानी–
१. चापागाई जी आराम हुनुहुन्छ ? तपाइँ हार्डवयरको व्यवसायमा कहिले र कसरी लाग्नुभयो ?
धन्यवाद, नमस्कार । आराम छु, आराम चाहन्छु । म हार्डवयर व्यवसायमा आ.व. २०६६÷०६७ बाट लागेको हुँ । यस अगाडी म सानो कपडा र किराना पसल संचालन गर्दै आएको थिए । २०६४÷०६५ मा मैले बयरघारी बजारमा नीजि निवास बनाउँदै गर्दा आफुले खोजेजस्तो निर्माण सामाग्री नपाएर बुटवलदेखि ल्याउनुपरेको थियो । मैले बजारमा निर्माण सामाग्रीको माग पनि देखे । यहाँ निर्माण सामाग्रीका पसल पनि कम मात्रामा थिए, त्यसैले म यस व्यवसायमा प्रवेश गरे । त्यो दिनदेखि अहिलेसम्म यो व्यवसायबाट राम्रै भएको छ ।
२. यो ‘ठूलीभञ्याङ गाउँ शहर स्टोर्स’ नाम चाहिँ कसरी जुराउनुभयो तपाइँले ?
मैले यस अगाडी गरेको किराना एवम् कपडा पसल बयरघारी बजारमा र मेरो प्यारो गाउँ भीरकोट, ९ आङभाङमा पनि संचालनमा थियो । बयरघारीबाट गाउँ जादै गर्दा ठूलीभञ्याङ हुदैं जानुपथ्र्यो । भञ्याङ पुगेसी चौतारीमा आराम गर्दैगर्दा छुट्टै आनन्द आउने गर्दथ्यो । ठूलीभञ्याङ भन्ने बित्तिकै अली टाढा टाढा सम्म पनि चिनिन्थ्यो । ठूलीभञ्याङको आसपास मेरो गाउँमा पनि स्टोर्स र शहरमा पनि स्टोर्स भएको हुँदा ठूलीभञ्याङ गाउँ शहर स्टोर्स नाम जुराई आ.व. २०५८÷०५९ मा विधिवत रुपमा पसल दर्ता भएको थियो । यसै फर्मलाई मैले आ.व. २०६६÷०६७ मा अतिरिक्त कारोबार गर्न मिल्ने गरी सम्वन्धित कार्यालयबाट अनुमती लिई हार्डवयर सुरु गरेको थिए ।
३. तपाई त भीरकोट उद्योग वाणिज्य संघको उपाध्यक्ष समेत हुनुहुन्छ, भीरकोट उद्योग वाणिज्य संघ झन झन कमजोर अवस्थामा अएको देखिन्छ, यस्तो अवस्था आउनुको कारण के हो ?
तपाईले सुनेजस्तो कमजोर भए झै त लाग्दैन् तर गति लिन नसकेको भने यथार्थ हो । समग्र देश र स्थानीय सरकारकै अवस्था कमजोर हुदैं गर्दा भीरकोट उद्योग वाणिज्य संघको मात्रै अवस्था राम्रो हुने त कुरै आएन् । कोभिड पछीको आर्थिक मन्दीले व्यवसायीहरुमा कुनै उत्साह छैन । स्थानीय सरकार बनेपछी उद्योग वाणिज्य संघको काम, कर्तव्य र अधिकार पनि साँघुरिएको छ । स्थानीय सरकारले यस्ता संघसंस्थालाई हातेमालो गर्दै अगाडी बढाउनुको सट्टा काम पर्दा प्रयोग गर्ने र अरुबेला किनारा लगाउन खोज्नुले पनि संघ कमजोर देखिएको हो । संघको कार्यसमिति बन्दै गर्दा राजनीतिक भागवण्डामा बनिनु त्यसपछी कामको तौरतरीका नमिल्नुले पनि यसका गतिविधि चलायमान हुन सकेका छैनन् । संघले ठिक समयमा उचित निर्णय गरी निकाश दिन नसक्दा पनि हामी सोही अनुशारको लक्ष्य प्राप्तिमा पुग्न सकेनौ कि भन्ने लागेको छ । तथापी हामीले भीरकोट उद्योग वाणिज्य संघ सबै व्यवसायीको साझा संस्था रहेको अनुभूति दिलाउने गरी काम गरिरहेका छौं ।
४. अहिले भीरकोट उद्योग वाणिज्य संघले के–कस्ता कामहरुगर्दैछ ? संघको भावी कार्यदिशा कस्तो छ ?
अहिले यहाँ संचालित सबैजसो उद्योग तथा व्यवसायीको कारोबार सुस्ताई रहेको छ । यस्तो बेलामा हामीले ठूलो सपना देखेका छैनौं । तर नियमित काम, कर्तव्यमा भने हामी चुकेका छैनौं । हामी गम्भिर किसीमले बडो सुझबुझका साथ अगाडी बढीरहेका छौं । व्यवसायीकहकहितका लागि निरन्तर खटिरहने संघको योजना रहेको छ । समयमै साधारणसभा तथा अधिवेशन सम्पन्न गर्ने, व्यवसायीलाई पारदर्शी हिसाबकिताब राख्न आवश्यकता अनुशार अभिमुखीकरण तालिम संचालन गर्ने, गुजारामुखी व्यवसायलाई ग्रेडिङ गरी÷गर्न लगाई व्यवसायीक स्तरोन्नती गर्ने तथा सानादेखि ठूला उद्योग व्यवसायीहरुलाई संघकै छातामा गोलबद्ध गराई व्यवसायीक स्तरोन्नतीको पहल गरिएको छ । व्यवसायीलाई राजस्व कार्यालयको घुमाउरो करनीति सबैभन्दा ठूलो हाउगुजी भएको छ । राजस्व कार्यालयबाट जारी निर्देशिका तथा नीति नियम व्यवसायीहरुलाई बुझाई सोही अनुशारको सहजीकरण गर्ने गरिएको छ । संघको आगामी कार्ययोजनामध्ये यसै आ.व.मा महोत्सव सम्पन्न गर्ने तथा आर्थिक व्यवस्थापन गरी संघको आफ्नै भवन निर्माण गर्ने योजना रहेको छ । यो संघ हालसम्म नेपाल उद्योग वाणिज्य महासंघमा दर्ता नभएकाले दर्ताको लागि पहल गरिनेछ । छिमेकी गाउँपालिका तथा नगरपालिकाबाट समेत किनमेलका लागि बयरघारी आउने बनाउन गुणस्तरीय तथा व्यवस्थित बजारको अवधारणा अगाडी सारिएको छ ।
५. तपाई बार्षिक १० करोड भन्दा बढीको कारोबार गर्ने व्यवसायीको रुपमा करदाता कार्यालयमा सुचिकृत समेत हुनुहुन्छ तर हाल कारोबार घटेको भन्ने सुनिन्छ, अहिले समग्र व्यवसायमा देखिएका समस्याहरु के–के हुन् ? तपाई हार्डवयर व्यवसायमा संलग्न भएकाले हार्डवयर व्यवसायका समस्यालाई कसरी नियाल्नुभएको छ ?
तपाईले भनेजस्तै यो फर्मबाट वार्षिक १० करोड माथीको कारोबार हुने गरेको यथार्थ हो । सोही अनुशार करदाता कार्यालयमा ठूला व्यवसायीको सूचिमा सुचीकृत भएको पनि हो । मेरो हकमा आ.व. २०८०÷०८१ म पनि कारोबार यथावत नै रहेको छ । आगामी आ.व.मा कारोबारलाई अझै राम्रो बनाउने कोशिषमा पनि छु । जताततै कारोबार घटेको अवस्था छ । यतीबेला राज्यका सम्पूर्ण अंगहरु चुस्त, दुरुस्त र चलायमान छैनन् । राज्यका गतिविधिसँग व्यवसायीक गतिविधि पनि जोडिएको हुन्छ । १६÷१७ देखि ४५÷५० बर्ष सम्मको उमेर समुह देशभित्र छैन । जुन उमेर समुहले विभिन्न खाले योजना बनाउने, रमाउने, घर निर्माण गर्ने, व्यापार व्यवसाय गर्ने, उद्योग खोल्न लगाउने तथा खानपिनमा खर्च गर्ने गर्दछ । तर आज त्यो उमेर समुहको युवा वाहिर हुदाँ पनि व्यवसायीक कारोबारहरु चलायमान हुन सकेका छैनन । नीति नियम अनुशार देश नचल्नु, ईमान्दार व्यक्ति भन्दा अन्यको हालीमुहाली हुनु, निर्माणका अधिकांश काम ठेक्कापट्टामा हुनु तर ठेकेदार ईमान्दार नहुनु, उघारो खरिदबिक्री हुनु, व्यवसायीले पारदर्शी हिसाबकिताब राख्न नसक्नु, लहैलहैमा आम्दानी भन्दा बढी खर्च गर्नु नै अहिले व्यवसायमा देखिएका समस्याहरु हुन् ।
६. तपाइँहरुलाई समग्र व्यवसाय गर्ने कुरामा पर्ने मुल समस्याहरु के के हो ? तपाई भीरकोट उद्योग वाणिज्य संघको जिम्मेवार पदाधिकारी समेत भएकाले यहाँका व्यवसायीको समस्या कसरी समाधान गर्न सकिन्छ होला ?
धेरै कुराको समस्या छ । करको कुरा छ । बिजुलीको महशुलको कुरा छ । बैंकको किस्ताको कुरा छ । ब्याजदरको कुरा छ । गुणस्तरको नाममा अनावश्यक दुःख दिने कुरा छ । व्यक्तिमा ईमान्दारिता हराउँदै जानु अहिले व्यवसायमा देखिएको मूल समस्या हो भने उघारो कारोबार गर्नु अर्काे विकराल समस्याको रुपमा देखापरेको छ । बाटोघाटोको समस्या, राजस्व कार्यालयको घुमाउरो कर प्रणाली, महंगो बैंक ब्याज, महंगो घरभाडा, कार्यकुशलताको कमी जस्ता समस्याहरु अहिलेको व्यवसायमा जेलिएका छन् । व्यवसायीहरुको समस्या समाधानका लागि संघले सम्वन्धित निकायमा परामर्श सुझाव तथा सरसल्लाह गरी समाधान गर्न सकिन्छ होला जस्तो लाग्छ, मलाई त । हामीले व्यवसायीको उत्थानको लागि सक्दो प्रयास गरिरहेका छौं । लेखापरीक्षण तालिम, सरल कर्जा, भाडादर तथा विभिन्न प्रकृतिका कर सम्वन्धि विषयमा संघले सहजीकरण गर्नुपर्छ र केही काम गरिरहेको पनि छ । व्यवसायीको समस्या समाधानका लागि स्थानीय सरकारसँग पनि सोही अनुशारको परामर्श, सरसहयोग तथा समन्वयको काम गर्न सके व्यवसायीका समस्या आंशिक रुपमा भए पनि समाधान हुन्थे कि भन्ने लाग्छ । व्यवसायीलाई भैपरी आउने समस्या र प्राकृतिक प्रकोपमा सबैले साथ दिन सकियो भने विपदमा परेको साथी तङ्ग्रीन समय लाग्दैन् ।
७. अहिले सहकारी संस्थाहरुमा निकै ठूलो समस्या सिर्जना भएको छ । लघुवित्त संस्थाहरुदेखि बैंक वित्तीय संस्थाहरुमा पनि समस्याहरु देखिएका छन् भने तपाइँहरु जस्ता व्यवसायले भोग्दै आएका समस्या अर्कोतिर छ । यी दुवै कुराको अन्तरसम्वन्धलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
अघि पनि मैले भने एकले अर्कोलाई बुझ्ने प्रयास नै गरिएन् । सहकारी, लघुवित्त वा बैंक जे भनेपनि सेवाको नाममा पैसा कमाउन थापिएको जाल हो । यिनीहरुले ग्राहकलाई आवश्यक कागजात सहित २०औं ठाउँमा सही र ल्याप्चे लगाई ऋण प्रदान गर्छन् । विभिन्न सेवा प्रवाहको नाममा अतिरिक्त शुल्क पनि असुल गर्छन् । तर केही समयपछी ब्याजदर बढेको स्वघोषणा गर्दछन् । ऋणीले ऋण लिदाँको समयमा निर्धारण गरिएको किस्ता तिर्ने रकम ऋणीलाई थाहै नदिई बढाईन्छ । यसले गर्दा ऋणीहरु धेरै मर्कामा परेका छन् । असल नियतका ऋणीको कर्जा पनि बैंकको बेइमानीले गर्दा खराब कर्जामा परिणत हुन्छ । अतः ऋण प्रवाहमा सरल नीति अवलम्बन गरिनुपर्छ । ईमान्दार व्यवसायलाई सरल कर्जा तथा साँच्चीकै अप्ठ्यारोमा परेका व्यवसायीलाई ब्याज छुटको नीति ल्याउनसके व्यवसायीहरु आत्महत्या गनुपर्ने अवस्था आउथेन कि भन्ने लाग्छ ।
८. बैंक तथा वित्तिय संस्थाहरुले व्यवसायीका लागि दिने कर्जाको ब्याजदर चित्तबुझ्दो छ ?
ब्याजदर चित्तबुझ्दो छैन । ब्याज बाहेक घुमाउरो प्रकृतिबाट लिने सेवाशुल्क त झनै चित्तबुझ्दो छैन ।
९. नेपालको राजनीति प्रणाली, प्रशासनयन्त्र, अर्थतन्त्र, मौद्रिक प्रणाली सबै कुरा हेर्दा सुधार गर्नुपर्ने कुराहरु के के देख्नुहुन्छ ?
समस्या सिर्जना गर्ने, समस्या थप्ने काम मात्रै भयो हरेक क्षेत्रमा । राजनीति प्रणाली, प्रशासनयन्त्र, अर्थतन्त्र, मौद्रिक प्रणाली यी सबै राज्यका महत्वपूर्ण अंगहरु हुन् । यी अंगहरु विधिसम्मत चलेका छैनन् । त्यहाँ पुग्ने व्यक्तिहरुले आफु अनुकुल चलाईरहेका छन् । यदी यी निकायहरु विधिसम्मत चलिदिने हो भने नेपालमा दिन गनेर परिवर्तन आउँछ । यी संयन्त्र सुधार हुनेमा विश्वास नभएपनि आशा भने मरेको छैन ।
१०. अन्त्यमा पब्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
जिल्लाको लोकप्रिय पत्रिका पब्लिक आवाजमा मेरा भनाईहरु राख्ने अवसर दिनुभएकोमा सम्पादक लगायत पत्रिकाको टिमप्रति आभारी छु । तपाईको पत्रिका मार्फत सबैले सकारात्मक सोचौं, विपदमा सबैले हातेमालो गरौं भन्न चाहन्छु । म गल्ती गर्दिन भन्ने बाचा सबैले गरौं । गल्ती गर्ने मान्छे नै नभएपछी त देश आफै सुध्रिन्छ । धन्यवाद ।
प्रतिक्रिया